Comments Add Comment

समाज लघुवित्त र स्वस्तिकको मर्जर ९ महिनादेखि अलपत्र

लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक

फाइल तस्वीर : दुई संस्थाबीच ५ असोज २०७७ मा भएको मर्जर सम्झौता

१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो ।

मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र मर्जर गरिसक्नुपर्ने हुन्छ । तर २०७७ असोज ५  गते मर्जर सम्झौता भएको यी दुई संस्थाबीच ९ महिना भइसक्दा पनि मर्जन अघि बढ्न सकेको छैन ।

समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले मर्जरका विषयमा सक्रियता नदिँदा ढिलाइ भएको संस्थाकै उच्च अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार समाजका सीईओ महतोले मर्जर नगर्ने र गर्नैपर्ने भए पनि आफ्नो वर्चश्व हुने गरी मात्रै गर्ने योजनामा छन् ।

संस्थाका अध्यक्ष दिलिपकुमार धौडेलले मर्जर सम्झौता गरेपछि सीईओ महतो अप्ठेरोमा परेका छन् । यी दुई संस्थाहरुबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भइसकेपनि सफल हुँदैन कि भन्ने शंका थियो । त्यसै कारणले राष्ट्र बैंकका प्रवक्तासमेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख ढकालकै उपस्थितिमा मर्जर नतोड्ने भन्दै लिखित समझदारीसमेत भएको समाज लघुवित्तका एक सञ्चालकले बताए ।

सम्झौता अनुसार स्वाप रेसियो १ बराबर १ मा मर्जर हुनेछ भने मर्जरपछिको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था रहने उल्लेख छ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष हाल स्वस्तिकको अध्यक्ष रहेका सत्यनारायण झा हुने र सीईओ भने समाज लघुवित्तका सीईओ महतो नै हुने प्रारम्भिक सहमति भएको थियो ।

यो पनि पढ्नुहोस समाज र स्वस्तिक लघुवित्त गाभिने, मर्जरपछि एफपीओ

हाल स्वस्तिकको सीईओ रहेका जीवन खनाल भने नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने सहमति भएको थियो । अहिले सीईओ महतोको समाज लघुवित्तमा १५ प्रतिशत सेयर (श्रीमतीको समेत) रहेको छ । मर्जर पश्चात भने यो हिस्सामा फेरबदल आउनेछ । बढी सेयर हिस्सा भएका कारण उनले भाञ्जा नाता पर्ने सरोजकुमार महतोलाई सञ्चालक बनाएका छन् ।

सरोज एक सहकारी संस्थाको प्रबन्धकको रुपमा कार्यरत थिए । स्रोतका अनुसार अर्का एक सञ्चालकसँग समाजको १० कित्तामात्रै सेयर रहेको छ । १० कित्ता सेयर भएको व्यक्ति सञ्चालक भएको समाज लघुवित्त नै पहिलो भएको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् ।

मर्जरका लागि दुवै संस्थाले २०७८ जेठ ११ गते विशेष साधारण सभा बोलाएका थिए । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सोही दिन मर्जरको प्रस्ताव पारित गरेको थियो भने समाज लघुवित्त वित्तीय संस्थाले १० दिन पश्चात गणपूरक संख्या नपुगेको जानकारी संयुक्त मर्जर समितिलाई दिएको थियो ।

कम्पनी ऐन, २०६३ को दफा ७३ (२) बमोजिम गणपूरक संख्या नपुगी सभा सञ्चालन गर्न नपाइने व्यवस्था छ । तर समाज लघुवित्तका सीईओले संख्या नुपगी साधारण सभा सञ्चालन गरेर मर्जरको निर्णय हुन नसकेको जानकारी संयुक्त मर्जर समितिलाई दिएका थिए ।

समाज लघुवित्तका अध्यक्ष धौडेलले कोरोना महामारी र निषेधाज्ञाका कारण मर्जरमा ढिलाइ भएको बताए । निषेधाज्ञा नै भए पनि पहिलो पटक साधारणसभा बोलाउँदा कोरम नपुगेको तर दोस्रो पटक १० असारमामा मात्र सम्पन्न भएको उनले जानकारी दिए । साधारणसभाले समेत निर्णय गरिसकेको भन्दै अब चाडै नै राष्ट्र बैंक जाने उनको भनाइ छ ।

यी दुई संस्थाहरुबीच मर्जर नहुँदा सर्वसाधारणहरुको पुँजी १० महिनादेखि बन्धक भएको छ । भदौ पहिलो साता नै यस संस्थाले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गरेको थियो । तर आईपीओ जारी भएर नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन नपाउँदै मर्जर सम्झौता भयो ।

सम्झौता भएपछि सेयर कारोबार रोक्का भएको छ । मर्जर सम्पन्न भएपछिमात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ३ महिना भन्दा ढिला भए राष्ट्र बैंकसँग समथ थपका लागि अनुमति लिनुपर्ने बताउँछन् । यी दुई संस्थाको विषयमा समय थप भए नभएको बारेमा बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले अनलाइनखबरसँग बताए ।

यता स्वस्तिक लघुवित्त भने मर्जरका लागि तयार रहेको बताएको छ । संस्थाका सीईओ जीवन खनालले साधारणसभाबाट नै पारित भइसकेकाले स्वस्तिकका तर्फबाट कुनै वाधा अवरोध नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment