Comments Add Comment

युरोकप : नेदरल्याण्ड्स र चेक रिपब्लिक भिड्दै

इतिहास चेकको पक्षमा

१३ असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक हो नेदरल्याण्ड्स । सन् २०१६ को युरोमा छनोट हुन नसकेको नेदरल्याण्ड्सले अहिले युरोकपको ११ देशमा भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । डच टिमले समूह चरणमा सबैभन्दा धेरै ८ गोल गरेको थियो ।

त्यही डच टिमले युरोकपको अन्तिम १६ मा आज चेक रिपब्लिकसँग खेल्दैछ ।

नेदरल्याण्ड्सले समूह चरणमा युक्रेनलाई ३-२ ले, अष्ट्रियालाई २-० ले नर्थ मेसेडोनियालाई ३-० ले पराजित गरेको थियो । डच टोली समूह बीको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

कप्तान जर्जनिओ विज्नाल्डमको नेतृत्वमा यस पटक नेदरल्याण्ड्सले उत्कृष्ट प्रदर्शन गरेको छ । नकआउट चरणमा पनि त्यही प्रदर्शनलाई कायम राख्ने दाउमा डच टोली छ ।

उता चेक रिपब्लिक भने समूह डीमा तेस्रो हुँदै तेस्रो हुनेमध्ये उत्कृष्ट बन्दै नकआउट चरणमा पुगेको हो । पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले पराजित गरेको चेकले दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भए पनि चेक भाग्यमानी बनेको हो । चेक रिपब्लिक सन् २०१२ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

आज हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धामा उत्रँदा इतिहास चेकको पक्षमा हुनेछ ।

यी दुई टोली पछिल्लो पटक सन् २००४ को युरोमा समूह चरणमा खेलेका थिए । जसमा चेकले नेदरल्याण्ड्सलाई दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३-२ ले पराजित गरेको थियो । त्यो बेला दुवै टिम सेमिफाइनलसम्म पुगे पनि अघि बढ्न सकेनन् । सन् १९८८ मा उपाधि जितेको नेदरल्याण्ड्सले त्यसयता युरोकपमा नकआउटमा ७ खेल खेल्दा २ खेल मात्र जितेको छ ।

यी दुई टोली पछिल्लो पटक २०१६ को युरो छनोटमा खेल हुँदा चेकले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गरेको थियो ।

चेक रिपब्लिकको रुपमा खेल्न थालेपछि यी दुई टोलीबीच युरोकपमा २ पटक खेल हुँदा दुवैले समान १ खेल जितेका थिए । चेकोस्लोभाकिया रुपमा भने कूल ४ खेल हुँदा चेकले २ खेल जितेको थियो । नेदरल्याण्ड्सले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो।

अहिलेसम्म कूल २० खेल हुँदा चेक रिपब्लिकले ११ खेल जितेको छ भने नेदरल्याण्ड्सले ५ खेल मात्र जितेको छ । ४ खेल भने बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment