Comments Add Comment

निषेधाज्ञाका कारण चितवनमा ११ करोड बराबरको दूध नोक्सान

फाइल तस्वीर

१३ असार, भरतपुर । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि दूध संकलन गर्न छोडेका थिए । जसका कारण किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

संघले आइतबार गरेको पत्रकार सम्मेलनमा संघका सचिव किशोर बगालेले भने, ‘दूग्ध किसान अहिले चौतर्फी समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलियाहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबर्जस्ती दूध संकलन गरिरहेका छन् ।’

समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महँगो मूल्यमा बेच्ने काम भइरहेको उनले बताए । ‘किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो । तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौं,’ सचिव बगालेले भने ।

उनका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट ११ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको नोक्सान भएको उनको भनाइ छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध बिक्री हुनुपर्ने उनले बताए । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

जिल्लामा ११० सहकारीमार्फत दूध संकलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुईवटा सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०÷२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको सापकोटाले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment