Comments Add Comment

भरतपुरमा अंकोलोजी डीएम र एमसिएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगको चासो

१४ असार, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. आरती शाह, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. रमेशचन्द्र आचार्य र प्रा.डा. संघरत्न बज्राचार्यको टोलीले अस्पतालको निरीक्षण गरेर डीएम र एमसीएच कार्यक्रमबारे चासो दिएको हो । अस्पतालमा मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी र रेडियसन अंकोलोजीका १८ विषयमा सुपर स्पेशलिष्ट कक्षाहरु डीएम र एमसीएच चलाउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

त्यसका लागि प्रवेश परीक्षा, विद्यार्थी छनौट र भर्ना, शुल्क लगायतका अन्य कामहरु चिकित्सा शिक्षा आयोगले गर्नेछ भने बाँकी काम क्यान्सर अस्पतालले गर्नेछ । ‘आयोगले प्रवेश परीक्षा लिएर, भर्ना गरेर हामी कहाँ पठाउँछ, हामी पढाउँछौं’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘रजिष्ट्रेशन गर्ने, परीक्षा लिने, सर्टिफिकेट दिने काम आयोग कै हुन्छ, हामीले प्रतिष्ठान बनाएपछि हामी नै दिन्छौं ।’

अस्पतालले आगामी आर्थिक बर्षका लागि १८ जनालाई अंकोलोजी विषयमा डीएम र एमसीएच नि:शुल्क पढाउनका लागि रकमसमेत आउने अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । उनीहरुलाई स्वास्थ्यको नवौ तहको चिकित्सकले पाउने बराबरको सुविधा दिइन् डा. शर्माले बताए ।

‘हामीले १८ जनाभन्दा बढीलाई पनि पढाउन सक्छौं, आयोगले बनाउने मोडालिटी कस्तो हुन्छ त्यो हेर्न बाँकी छ’ डा. शर्माले भने । बीर अस्पतालमा डीएम मेडिकल अंकोलोजी विषयमा पढाइ भए पनि केही वर्षअघिदेखि रोकिएको छ । एमसिएच अंकोलोजी सर्जरी भने नेपालमा अहिलेसम्म सुरु भएको छैन । चिकित्सा शिक्षा आयोगले चलाउने पहिलो सुपरिस्पेशलिष्ट विषय यही नै हुने डा. शर्माले बताए ।

अस्पतालमा डीएम र एमसीएचको कार्यक्रम चलेपछि बिरामीहरुले अझै गुणस्तरीय सेवा र जनशक्तिको उत्पादन, थप अनुसन्धान हुने विश्वास अस्पतालले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुवास पण्डित

ट्रेन्डिङ

Advertisment