Comments Add Comment

काठमाडौंबाट दिनमा ६४ आन्तरिक उडान, कुन गन्तव्यमा कति ?

१४ असार, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै आगामी बिहीबारदेखि देशभित्र हवाइ यातायात सञ्चालन हुँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ ।

नेपालमा २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सञ्चालन गर्दा प्रतिघण्टा ५ वटा मात्र उडान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकाअनुसार वायुसेवा कम्पनीहरुले टिकट बुकिङ थालेका छन् ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।

कुन गन्तव्‍यमा कति उडान ?

बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान गर्नेछ । तुम्लिङटार र सुर्खेतका लागि एक उडान राखिएको छ भने भद्रपुरका लागि तीन उडान तय भएको छ । सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन,  पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने गरी तालिका मिलाइएको छ ।

यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ ।

श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ । सौर्य एयरको जहाज भने काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडानमा हुनेछ ।

काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गरी दुर्गममा विमानस्थलमा उडान हुने गर्छ । यी गन्तव्यलाई दैनिक ८ उडान तोकिएको छ । समिट, तारा र सीताले यो उडान उपयोग गर्न सक्नेछन् । मनसुन र पर्यटकीय सिजनसमेत नभएका कारण दुर्गममा भने यात्रुको चाप नहुने समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले बताए ।

सुगम भेगमा यात्रुको चाप

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार लामो समय निषेधाज्ञा रहेका कारण सबैजसो गन्तब्यमा यात्रुको अत्यधिक चाप रहेको छ । यात्रुले मोवाइल एप, कम्पनीको वेवसाइट, इसेवा तथा ट्राभल एजेन्सीबाट समेत हवाई टिकट बुकिङ गर्न सक्छन् । यसरी हुने बुकिङका यात्रुको धेरै चाप देखिएको उनको भनाइ छ ।

कर्णका अनुसार वर्षायाममा सडक यातायातमा जोखिम भएका गन्तब्यबाट अत्यधिक चाप रहेको छ । कम्पनीहरुका अनुसार पूर्ण क्षमतामा नखुलेसम्म हवाई टिकटको मूल्य भने सस्तो दरमा बिक्री गर्ने सम्भावना छैन । सरकारले हवाई टिकटको उच्च मूल्य तोकिदिएको छ । सो स्तर ननाघ्ने गरी टिकट बिक्री गर्दा पूर्ण क्षमतामा चलेजसरी सस्तो दरमा भने टिकट बिक्री नहुने कम्पनीहरुको भनाइ छ ।

यात्रुले कस्तो कुरामा ध्यान दिने ?

हवाइ यात्रुका लागि विमानस्थल प्रवेश गरेदेखि गन्तव्यको विमानस्थलबाट नबाहिरिएसम्म मास्क अनिवार्य गरिएको छ । विमानस्थलमा तोकिएको मार्किङमा उभिएर सामाजिक दूरी पालना गर्नुपर्ने छ ।

जहाजभित्र शौचालयको प्रयोग बन्द गरिएको छ । बदाम, जुसजस्ता जहाज यात्राका क्रममा खानेकुरा दिने सेवा समेत महामारीपछि रोकिएको छ । कोरोनाको लक्षण भएका यात्रुले जहाज चढ्न पाउने छैनन् । विमानस्थलमा ज्वरो नापेर मात्र प्रवेश दिने गरिन्छ ।

साविकको तुलनामा सामाजिक दूरी बढी होस् भनी प्रतिघण्टा ५ वटा मात्र उडान हुने गरी तालिका मिलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment