Comments Add Comment

मदनको तस्वीरसामु ओलीको गाली पुराण !

१४ असार, काठमाडौं । दार्शनिकहरु भन्छन्- घृणाले एउटा पनि समस्या समाधान गरेको छैन, बरू बढाएको छ । तर ५ पुसमा प्रतिनिधिसभा विघटनसँगै राजनीतिक संकटमा फसेको नेपालमा राजनीतिक दलहरूको भाषण सुन्दा लाग्छ, उनीहरु घृणाको ‘व्याटल’मा बहादुरीपूर्वक उत्रिएका छन् ।

सत्ता पक्ष होस् वा विपक्षी दलका नेताहरु, उनीहरुको भाषणमा आजकल राजनीतिक विचारधाराको बहस, मुलुक बनाउने दूरदृष्टि र नागरिकको चिन्ता सम्बोधन गर्ने चाहना सुन्न पाइँदैन । मुलुकका शीर्ष नेताहरू हरेक दिन विभिन्न सन्दर्भमा वक्तव्यबाजी र भाषणबाजी गरिरहेका हुन्छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा घृणापूर्ण ‘व्याटल’को उत्कर्षमा पुगेर जवाफ फर्काएका छन् ।

ओलीको बोली

७० औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विपक्षी गठबन्धनका नेताहरु, सभामुख र सर्वोच्च अदालतको चर्को आलोचना गरे । त्यसक्रममा उनले केही अशोभनीय टिप्पणी समेत गरेका छन् ।

कांग्रेसले प्रचण्डपथ अँगाल्यो

अध्यक्ष ओलीले कांग्रेसमाथि प्रचण्डपथ अँगालेको आरोप लगाए । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदकै लागि लोकतान्त्रिक मार्ग छोडेको ओलीले आरोप लगाए । आफूले संवैधानिक तरिकाले मध्यावधि चुनाव घोषणा गर्दा देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाषालाई आफ्नै बनाएर ‘प्रतिगमन’ भनेको भन्दै उनले अघि भनेका छन्, ‘कांग्रेसले कु भनेको बिर्सिसकेछ । म देउवाजीलाई सोध्न चाहन्छु, माघ १९ चाहिं के थियो ? एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिं के थियो ?’

प्रचण्डको काम नै देश बर्बाद बनाउने

विपक्षी गठबन्धनका अर्का नेता प्रचण्डले छेपारोले झैं रंग फेर्दै हिंडेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको आरोप छ ।

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन् । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्तक्षेप गर्दैनन् भन्छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छन् ।’

यो पनि पढ्नुहोस प्रचण्डबारे ओलीको टिप्पणी : छेपारोले रंग फेर्छ त !

पार्टी एकताको बेला सबै कुरा बिर्सिएका ओलीले अचानक प्रचण्डबारे विभिन्न तथ्यहरु सम्झन थाले । प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको, बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महीनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको र अहिले लोकतन्त्रको मसिहा बनेको भन्दै उनले आरोपमाथि आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिलाई विथोल्ने काम गरेको भन्दै उनले सही अर्थमा लोकतान्त्रिक बाटोमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

माधव नेपाल प्रचण्डका पुच्छर

ओलीले माधवकुमार नेपाललाई प्रचण्डको पुच्छर, इमान नभएको मान्छे भन्दै आलोचना गरेका हुन् । तर आफूलाई प्रधानमन्त्री र अध्यक्षको प्रस्ताव आइसक्यो भनेर झूटो प्रचार गरेको भन्दै उनले भने, ‘मलाई बाैलाहा कुकुरले टोकेको छ र ?’

एमालेको वरिष्ठ नेता हुँ भन्ने, तर एमालेलाई ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको भन्दै उनले माधवकुमार नेपाल जत्तिको अराजक, अनुशासनहीन र इमान नभएको मान्छे अर्को नभएको टिप्पणी गरे । प्रचण्ड कांग्रेसतिर लागेपछि नेपाल पनि पछिपछि लागेको भन्दै उनले अघि भने, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि सँगसँगै हुन्छ ।’

‘जनमोर्चाको राजनीति मन्त्री बनाउने’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको पनि आलोचना गरेका छन् । । विचार, वर्गीय राजनीति सबै छाडेर जनमोर्चा एक्ला सांसदलाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर लागेको भन्दै उनले भने, एकबारको जिन्दगी मन्त्री खाइएन भने त गयो ! त्यही राजनीतिमा पुग्नुभयो ।’

Top Comment साैरभ पाैडेल २०७८ असार १४ गते २०:१३ हैन हाे याे देशमा लाेकतन्त्र कहिले आउला । कहिले राणाशासन । कहिले पन्चायती शासन् । कहिले ओली शासन । जनताका प्रतिनिधीहरुकाे बहुमतले बनाएकाे सरकार बनेर ५ वर्ष चलेर विकास निर्माणका गतिविधी हेर्ने नेपालीकाे धाेकाे मनमै रह्याे । जहिले पनि जँहानिया शासन छ । हुकुमी शासन छ । आन्दाेलन गरेर जसाेतसाे संविधानकाे खाेस्टाे बनायाे त्यही खाेस्टाे च्यातेर फेरी हुकुमी शासन । राजनितीमा त विचारमा प्रतिष्पर्धा हुनु पर्ने हाे यँहा त गालीमा प्रतिष्पर्धा छ । राजनितीक दलले त आगामी ५ वर्षे याेजना रणनिती बाेकेर अबकाे ५ वर्षमा म याे काम गर्छु देशलाइ याे मार्गमा लगेर याे स्थानमा पुर्याउँछु पाे भन्नु पर्छ । याँहा त बहुलाहा लाज पचेकाे बेशरम हत्यारा पुच्छर अनेक अनेक । गालीले देश विकास हुने भए नेपालीले सत्ताधारीलाइ गाली गरेकाे ७० वर्ष नाघ्याे खै जीवनस्तर उही छ । गाली छाेड लाेकतान्त्रिक पद्दती अंगीकार गर । अल्पकालीन दिर्घकालीन रणनिती याेजना तयार गर बल्ल राजनिती गरेकाे मानिन्छ नत्र त जनताले निरंकुशतालाइ जरै बाट उखेलेर फाल्छन् नै । दुखकाे कुरा जनआन्दाेलन तेश्राे चाैंथाे गर्दा गर्दै नेपालीकाे जीवन समाप्त हुने भाे । See All Add Comment

सभामुख प्रचण्डको मामुली कार्यकर्ता

प्रधानमन्त्री ओलीले प्रचण्डका कार्यकर्ता भन्दै सभामुख अग्निप्रसाद सापकोटाको पनि आलोचना गरे । संसद भवन परिसरमा विपक्षी गठबन्धनको पत्रकार सम्मेलन, भेला गर्ने गरेको भन्दै उनले भने, ‘के अब अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संसदले भाडामा लिएको यस खालका बकबासी कामका लागि हो ?’

ती मदन, यी ‌ओली

विपक्षी गठबन्धनका नेताहरुलाई गाली गर्ने क्रममा एमाले अध्यक्ष ओलीले मदन भण्डारीलाई स्मरण गरे र जबजको सिरानी हाले ।

‘उहाँहरु लोकतन्त्रका मूल्यमान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसद्लाई जनताको काम गर्ने थलो नबनाइ पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जननेता मदन भण्डारीको विचारसँग यी कामहरु कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरु विचारबाट पतित भएका छन् ।’

विश्वभरि कम्युनिष्ट आन्दोलन बदनाम भएको समयमा जबजमार्फत नेपालमा कम्युनिष्ट जनमत हुर्काएका मदन भण्डारीले पनि विपक्षीको आलोचना गर्दथे । उनले राजालाई श्रीपेच फुकालेर मैदानमा आउन चुनौती दिए । भारतमा नदी उपयोगबारे सम्झौता गरेर नेपाल फर्किएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि आलोचना गरे । तर कहिल्यै गालीगलौजको सहारा लिएनन् ।

तर उनी मदन भण्डारीको नाममा खोलिएको मदन भण्डारी फाउण्डेसनका संरक्षक तथा आफूलाई जबजको पक्षपाती मान्ने प्रधानमन्त्री ओलीले भने मदनको तस्वीर राखेर विपक्षीमाथि अशोभनीय टिप्पणीहरू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment