Comments Add Comment

बेलबारीको विवादास्पद बाख्रा खरीदका ठेकेदारसँग जनप्रतिनिधिको साठगाँठ

१४ असार, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा अष्ट्रेलियन (फुल ब्लड) बोयर भन्दै किसानलाई नवलपरासीको बाख्रा वितरण गर्ने ठेकदारसँग जनप्रतिनिधिको साँठगाँठ रहेको पाइएको छ ।

बाख्रा खरिदको केही दिनअघि बाख्रा आपूर्तिको जिम्मा पाएको सप्लायर्सका प्रतिनिधिसँग जनप्रतिनिधिले दोलखाको एक होटलमा सँगै खानपिन गरेको खुलेको छ ।

नगरपालिकाले बाख्रा खरिद गर्ने आशयको सूचना निकालेपछि सात जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तीन जना कर्मचारीले ठेकेदार प्रतिनिधिसँग गरेको खानपिनको बिल करिब ७० हजार रुपैयाँ नगरपालिकाले हालै भुक्तानी गरेको छ । उनीहरु चैत २१ गते दोलखाको होटल मिराकल भ्यू रिसोर्टमा बसेका थिए ।

उक्त रकम लामो समयसम्म भुक्तानी नभएको भन्दै होटलले नगरपालिका कार्यालयमा पत्र पठाएपछि यो विषय बाहिर आएको हो । स्रोतका अनुसार बाख्रा खरिद प्रकरण विवादमा परेपछि नगरपालिकाले भुक्तानी रोकेका कारण होटलको भुक्तानी रोकिएको हो । ठेकेदार प्रतिनिधिले रकम तिर्ने समझदारी भएपनि नगरपालिकाले बाख्रा खरिदको भुक्तानी नदिएपछि ठेकेदारले होटलको बिल नतिरेको स्रोतको दावी छ ।

नगरपालिकाको विभिन्न वडाका किसानलाई वितरण गर्न अष्ट्रेलियाको फुल ब्लड बोयर वितरण गर्ने योजनामा नवलपरासीको बाख्रा वितरण गरिएको थियो । किसानले प्रश्न उठाएपछि नगरपालिकाले छानबिन गर्ने भन्दै ठेकदारलाई भुक्तानी रोकेको थियो ।

‘होटलको बिल उहाँ (ठेकेदार प्रतिनिधि श्याम पाण्डे) ले तिर्ने कुरा भएको थियो,’ नगरपालिका स्रोतले भन्यो,‘बाख्रा प्रकरणमा ठगी गर्न खोजेको खुलेपछि नगरपालिकाको नाममा बिल आयो ।’

प्रशासकीय अधिकृत प्रदीप साहले भने नगरपालिकाको बार्षिक योजनाअनुसार जनप्रतिनिधिको भ्रमणका लागि दोलखा पुगेको बताए । उनले जनप्रतिनिधिसहित १० जनाको टोलीसँग बाख्रा खरिद प्रकरणका ठेकेदार श्याम पाण्डेको भेट भएको पनि स्वीकार गरे ।

‘सात जना वडा अध्यक्ष, दुई जना कर्मचारी र एक जना ड्राइभरसहित १० जनाको टोली अवलोकन भ्रमणका क्रममा बास बस्न दोलखाको मिराकल भ्यू पुगेका हौँ,’ उनले भने,‘पछि पाँच जनाको टोली थपियो ।’

स्थानीय तहको फोहोर व्यवस्थापन तथा सौर्य उर्जाको सम्भाव्यता अध्ययनको काम गरिरहेका पाण्डे नगरका जनप्रतिनिधि र कर्मचारीसँग नजिक थिए । उनकै योजना अनुसार होटल पुगेको स्रोतको दाबी छ । रिसोर्टले पठाएको बिल नगरपालिकाले भुक्तानी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।

यो पनि पढ्नुहोस मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

जेठ १५ मा बाख्रा वितरण

मोरङ बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भन्दै नवलपरासीबाट ल्याएको क्रस बोयर जातको ८९ वटा बाख्रा गत जेठ १५ मा वितरण गरेको थियो । वितरण गरिएका बाख्रामध्ये दुईवटा मरेको छ ।

बाख्रा खरिदका लागि ग्रो अर्गानिक कृषि फर्म संखुवासभालाई एक करोड २४ लाखमा ठेक्का दिएको थियो । गत चैत १२ गते सूचना निकालेको नगरपालिकाको टोली ठेकेदारसँग चैत २१ गते दोलखाको रिसोर्ट पुगेको थियो ।

वैशाख २८ गते छनोट भएको फर्मसँग जेठ ३ गते सम्झौता गरिएको थियो । उक्त फर्मले सम्झौताको १२ दिनपछि जेठ १५ गते नगरपालिकामा बाख्रा बुझाएको थियो । ठेक्का अनुसार काम नगरेको भन्दै फर्मको धरौटी जफत गरी कालोसूचीमा राख्न नगरपालिकाले सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment