Comments Add Comment

युरोकपमा इंग्ल्याण्ड र जर्मनीको बहुप्रतीक्षित भिडन्त

१५ असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणपछि पनि घरेलु मैदानमै खेल्न पाउने भाग्यमानी टिम हो इंग्ल्याण्ड । त्यही इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीसँग लण्डनस्थित वेम्वली मैदान प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार राति ९:४५ बजे हुने यस खेल बहुप्रतीक्षित बनेको छ । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । ‘ग्रुप अफ डेथ’मा रहेको जर्मनी भने समूह एफमा फ्रान्सभन्दा पछि रहेर उपविजेता बनेको थियो । समूह चरणको तीनवटै खेल घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड अपराजित रहेको थियो ।

इंग्ल्याण्डले क्रोएसिया र चेक रिपब्लिकलाई समान १-० ले पराजित गर्दा स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । दुवै खेलमा रहिम स्टर्लिङले गोल गरेका थिए । उता फ्रान्ससँग १-० ले पराजित हुँदै प्रतियोगिता सुरुवात गरेको जर्मनीले दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गर्दा हंगेरीसँग २-२ को बराबरी खलेको थियो।

इंग्ल्याण्ड र जर्मनीबीच फुटबलको राइभलरी गजज्बको छ । यस पटक युरोकपको नकआउट चरणको सुरुआतमै यी दुई टोली भिड्दैछन् । त्यसैले पनि यस खेललाई लिएर विभिन्न अड्कलबाजी सुरु भइसकेको छ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ ।

इंग्ल्याण्ड र जर्मनी खेल्दा सन् १९९६ को युरो सेमिफाइनलको याद ताजा हुन्छ । त्यतिबेला अहिलेका इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले पेनाल्टी गुमाउँदा जर्मनी विजयी भएको थियो ।

त्यही संस्करणमा सेमिफाइनल खेलेयता इंग्ल्याण्ड फेरि सेमिफाइनल पुग्न सकेको छैन । इंग्ल्याण्ड दुई पटक सेमिफाइनल पुगे  पनि उपाधि जित्न सकेको छैन ।

जर्मनी भने स्पेनसँगै सर्वाधिक ३ पटकको च्याम्पियन हो । १९९६ मा जर्मनीले उपाधि नै जितेको थियो ।

इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फाइनलमा जर्मनीलाई पराजित गरेयता मुख्य प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराउन सकेको छैन ।

१९९६ को त्यो चर्चित सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा ६-५ ले पराजित गरेको थियो । सन् २००० को युरोमा भने इंग्ल्याण्डले जर्मनीलाई समूह चरणमा १-० ले पराजित गरेको थियो ।

यी दुई टोली युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन् ।

घरेलु मैदान वेम्वलीमा इंग्ल्याण्डको यो ३००औं खेल हुनेछ । यस्तै इंग्ल्याण्ड र जर्मनी वेम्वलीमा खेल्न लागेको यो १३औं पटक हो । यसअघि भएका १२ खेलमा जर्मनीले ६ खेल जित्दा इंग्ल्याण्डले ४ खेल जितेको छ र २ खेल बराबरीमा सकिएको छ ।

समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३२ खेल हुँदा दुवैले समान १३ खेल जितेका छन् । ६ खेल भने बराबरीमा सकिएको थियो ।

वेम्वलीमा जर्मनी र इंग्ल्याण्डको खेल हेर्न ४० हजार दर्शक उपस्थित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment