Comments Add Comment

नारी एक : जिम्मेवारी अनेक

बिहान उठ्यो, कुच्चो समात्यो अनि झाडु-पोछाको काम शुरू ।

… उताबाट आवाज आउँछ, चिया पाक्यो, दूध तात्यो ? भोक लागिसक्यो … !

यसरी नै हुन्छ हरेक नारीको बिहानीको शुरूआत ! अनि शुरू हुन्छ परिवारका सदस्यहरूको स्वाद अनुसारको खाना तयार गर्ने काम । बच्चाले गृहकार्य सक्यो कि सकेन, श्रीमान्का सरसामान ठीक छन् कि छैनन् । लुगा-लत्ता धुन पो बाँकी भए कि ! बच्चाको स्कूलको दिउँसोको खाजा । अनि मिनेट–मिनेटको ख्याल गर्दै बिहानको खाना खाई, भाँडा माझी कार्यालय जाने ।

हो, यसैगरी शुरू हुन्छ धेरै जति जागीरे नारीको सधैंभरिको हतारो । उनलाई हतारो भएको कसले बुझ्ने होला ? कति कुरा चाहेर नि भन्न नसकिने । उसमाथि साथीसङ्गी, आफन्तको गुनासो छँदैछ । तँलाई त फुर्सदै हुन्न, पराइ भइस्, कहिल्यै आउँदिनस्, ठूली मान्छे हेरन ! आदित्यादि म लगायत धेरै जागीरे महिलाको भोगाइ होला यो ।

समयको ख्याल गरी चल्नुपर्ने, संयुक्त परिवारमा त झन् सबैभन्दा अघि खाईवरी हिंड्न नि गाह्रो । कि त सबै सदस्य बुझ्ने हुनुपर्‍यो । एकल परिवारमा त झन् सञ्चो होस् या बिसञ्चो सब काम भ्याई नभ्याई आफैं गर्नुपर्ने । धेरैको अनुभव हो यो ।

परिवारमा अझै पनि नारी घरमा भएसम्म पानी समेत नसार्ने, घरमा के भएको छ ख्याल नगर्ने, आफूलाई भोक लागे मात्र खोइ केही पाकेन भन्दै टुप्लुक्क छिर्ने प्रवृत्ति धेरै घरमा देख्न सकिन्छ । घरपरिवार, श्रीमान्, बालबच्चादेखि लिएर कार्यालयको कामको व्यस्तता, दिनभरिको थकान, यो हामी कहिले बुझ्छौं ?

घरमा बुहारी भित्र्याएपछि भात भान्सादेखि सबै काम बुहारीकै जिम्मा हो जस्तो गर्ने सासू–ससुरा, अन्य सदस्यले उनी पनि थाक्छिन् भन्ने कहिले बुझ्ने ? दिनभर घर बस्ने गृहिणी महिलाले त बेलीबिस्तारमा आफ्नो काम भ्याउलिन् । तर पनि यो उनको दिनभरिको घरायसी व्यस्तता अन्य सदस्यले कहिले बुझ्ने ?

उसमाथि सधैं हतारमा हिंड्ने कामकाजी महिलाको त कुरै नगरौं । राम्रोसँग कहिल्यै खाना समेत स्वाद लिएर खाना नपाई काममा दगुर्नुपर्ने ।

त्यसमाथि साना दूधे बच्चा छोडेर जागीरमा जानेको त अनेकौं पीडा छन् । बच्चाले चुस्न नपाई चड्किएका छाती, अनि तीनै बच्चा सम्झी आँखाभरि आँशु लुकाई काममा तल्लीन हुनुपर्ने बाध्यता । साँच्चै महान छन् महिला ! आफ्नो घरपरिवार सम्हाली, आफ्नो योग्यता र क्षमताले पाएको जागीर धान्न पुगेकी छ्यौ । सबतिर सम्हाल्न भ्याएकै छ्यौ ।

घरपरिवारमा कोही बिरामी परे अस्पतालमा कुरुवा पनि धेरै जति नारी नै देखिन्छिन् । शायद भगवानले नै तिमीलाई सबै कुरा सम्हाल्न सक्ने साहस र हिम्मत दिएका छन् ।

हुन त पछिल्लो समयमा घरमा बुहारीलाई माया गर्ने, काममा सघाउने, अघि बढ्न प्रेरित गर्ने परिवार बढ्दै गएको देख्न सकिन्छ । तर पनि यस्ता परिवार अझै पनि छन् जहाँ नारी अघि नसरे घरमा चूलो बल्दैन, बरु होटलबाट मगाएर खान्छन् । घरको काम त सबै महिलाकै हो भनी बसेको पाइन्छ । साथीसङ्गीबीच सुन्ने गर्छु– ‘मेरो घरमा त मेरो श्रीमान् एक कप चिया नि पकाउने होइन, सब काम आफैं भ्याउनुपर्छ ।’

अनि आफैंलाई त्यस ठाउँमा राखी सम्झिन्छु, हे भगवान अझै पनि समय कहाँ छ ! धन्य भगवान, म त भाग्यमानी रहेछु ।

हुन त मैले धेरै परिवारमा श्रीमान् पनि सँगसँगै घरको काममा सघाउने, भान्छामा विभिन्न परिकार पकाउन इच्छा गर्ने, घरको सरसफाइदेखि बालबच्चाको ख्याल पुर्‍याउन समय निकाल्ने श्रीमान् पनि देखेकी छु । तर पनि केही त घरभन्दा बाहिर समय दिने, साथीभाइसँग मनोरञ्जन गर्न समय निस्किने तर परिवारसँग बाहिर निस्किन नखोज्ने पनि देखेकी छु । उनीहरूले समय नचाहेको हो या चाहेर पनि निकाल्न नखोजेका हुन् ?

नारीको पनि शरीर हुन्छ नि, मन हुन्छ नि, रहर त हुन्छ नि, तिमीलाई नि आराम त चाहिन्छ नि ! तर आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दागर्दै तिमी आफैंले आफैंलाई समय दिन पाइरहेको हुँदिनौ ।

एउटा परिवार खुशी र सुखी राख्न जिम्मेवारी त सबै सदस्यको बराबर होइन र ? कहिलेकाहीं सबै सदस्यले उनको व्यस्तता नियालौं, महसूस र अनुभव गरौं । एक नारी तिमी कति ठाउँमा एक्लै भ्याउँछ्यौ ? सधैंभरिको व्यस्तता तिम्रो कहिले सकिने होला र आराम पाउँछ्यौ ?

(ढकाल एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा अध्यापनरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment