Comments Add Comment

बर्दघाट, हेटौंडा र रजैया क्षेत्रमा भारी वर्षा, सिन्धुलीमा समेत सतर्कताको सूचना पठाइयो

फाइल तस्वीर

१६ असार, काठमाडौं । नवलपरासीको बर्दघाट तथा मकवानपुरका हेटौंडा र रजैया क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कताको सूचना प्रवाह गरिएको जानकारी दिए । ‘सिन्धुलीमा समेत असर गर्न सक्ने देखिएपछि हामीले एसएमएस पठाएर सतर्क रहन भनेका छौं,’ श्रेष्ठले भने ।

मौसम विज्ञान विभागका अनुसार पूर्वी राप्ती जलाधार क्षेत्रको रजैया केद्रमा २४ घण्टाको अवधिमा २१५ मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड छ । यो अति भारी वर्षा मापन हो ।

यसैगरी नारायणी जलाधार क्षेत्रको बर्दघाटमा गत २४ घण्टाको अवधिमा १७७ र हेटौंडामा १२१ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

यो वर्षाले सिन्धुलीमा समेत जोखिम निम्ताउन सक्ने मौसमविदको अनुमान छ । हाल सिन्धुली जिल्लास्थित कमला नदी र रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेको विभागले जनाएको छ । त्यसैले पूर्वी राप्ती जलाधार क्षेत्र तथा कमला र रानीबासका डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

यो पनि पढ्नुहोस आगामी तीन दिन भारी वर्षाको सम्भावना, दैनिक जीवनयापन प्रभावित हुन सक्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment