Comments Add Comment

समायोजनमा मनोमानी गरेको भन्दै निधिसँग रिसाए पौडेल

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् ।

उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

१४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि बुधबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका थिए । पौडेलले अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरणमा पारदर्शीता नभएको भन्दै निधिको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।

‘उहाँहरुबीच पार्टी समायोजनको विषयमा कुराकानी भएको हो,’ वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘अन्य पार्टीबाट आएका व्यक्तिका नाममा दिइएको क्रियाशील सदस्यतामा विवाद देखिएको छ । यसलाई मापदण्ड बनाएर टुंग्याउने भन्नेबारे छलफल भएको हो ।’

मंगलबार साँझ वरिष्ठ नेता पौडेलले उपसभापति निधिलाई टेलिफोन गरेर क्रियाशील सदस्यता विवादको विषयमा असन्तुष्टि जनाएका थिए । दुई नेताबीच टेलिफोनमै चर्काचर्की भएपछि निधिले आफू निवासमै आएर छलफल गर्ने बताएका थिए ।

कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।

आठ लाख भन्दा बढी क्रियाशील सदस्यमध्ये अन्य पार्टीबाट आएका व्यक्तिको क्रियाशील सदस्यतामा बढी विवाद देखिएको हो । संस्थापन पक्षले आफू अनुकुल हुने गरी अन्य पार्टीबाट आएका व्यक्तिका नाममा क्रियाशील सदस्यता दिएको संस्थापनइतर पक्षको आरोप छ ।

समायोजन समितिकै सिफारिसमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकलाई २५ हजार र राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापालाई १० हजार क्रियाशील सदस्यता दिइएको थियो । त्यस्तै संघ र प्रदेशको निर्वाचन अघि विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई व्यक्तिगत रुपमै ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको थियो ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी १४ औं महाधिवेशनको मिति तोकिसकेको छ । महाधिवेशनका लागि प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यतामाथि छानविन समितिले छानविन गरिरहेको छ ।

समितिमा परेका अधिकांश उजुरीहरु अन्य पार्टीबाट आएका क्रियाशील सदस्यमाथि परेका छन् । कांग्रेसकै कार्यकर्तालाई अन्य पार्टीबाट आएको भन्दै क्रियाशील दिइएको संस्थापनइतर समूहको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment