Comments Add Comment

क्यानडामा तातो हावाका कारण १३० जनाको मृत्यु

१६ असार, काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरु छन् ।

मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । क्यानडाको तापक्रम मंगलबार लगातार तेस्रो दिन नयाँ उचाइमा पुगेको हो । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । गर्मीको कारण अमेरिकामा पनि केही मानिसले मृत्यु भएको छ ।

जानकारहरुका अनुसार जलवायु परिवर्तनको कारण तातो हावाको लहरजस्ता विषम अवस्था आउने बताउँछन् । यद्यपि कुनै पनि घटनालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्न भने मिल्दैन ।

बीबीसीका अनुसार अमेरिकाको क्यालिफोर्नियाबाट आर्कटिक क्षेत्रतर्फ बहेको उच्च चापसहितको तातो हावाको कारण क्यानडाको पश्चिमी भाग र अमेरिकामा गर्मी बढेको हो । अहिले समुद्री किनार क्षेत्रमा भने तापक्रम घटिरहेको छ तर भित्री क्षेत्रको अवस्था भने उस्तै छ ।

आइतबार भन्दा अघि क्यानडाको तापक्रम कहिले पनि ४५ डिग्री सेल्सियस नाघेको थिएन । अधिकारीहरुले क्यानडाको केही क्षेत्रमा गर्मीको कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

केही ठाउँमा मानिसको मृत्यु भएको समाचार आइरहेको उनीहरुको भनाइ छ । क्यानडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु हुनुमा अत्यधिक गर्मी प्रमुख कारण रहेको बताइएको छ ।

ब्रिटिश कोलम्बिया क्षेत्रका मृतकहरुको जानकारी दिने अधिकारी चिफ कोरोनर लिसा लापोन्टीका अनुसार शुक्रबारयता सामान्य अवस्थामा हुनेभन्दा थप एक सयभन्दा धेरैको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियाको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँकी स्थानीय मेघन फान्डरिचका अनुसार अहिले घर बाहिर निस्किनु असम्भवजस्तै बनेको छ ।

अमेरिकाको वासिङ्टन र ओरेगन राज्यमा पनि अत्यधिक गर्मीको कारण १० जना भन्दा धेरैको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment