Comments Add Comment

महामारीमा विश्वले नयाँ पाठ सिक्यो : आइएफआरसी महासचिव चापागाईं

१६ असार, काठमाडौं । कोरोना महामारीले विश्वलाई एउटा जटिलतामा गाँज्यो । धेरैले यही रोगका कारण ज्यान गुमाउन बाध्य भए भने कतिपयले ज्यान बचाउन सकेपनि ठूलो समस्या भोग्नु पर्‍यो । तर यो समयमा पनि विश्वभरका स्वयंसेवी संस्थाहरु महामारीबाट प्रभावित भए पनि आफ्नो काममा भने दत्तचित्र भएर लागे । रेडक्रस महामारीमा सक्रिय भएर स्वयं सेवामा लाग्ने संस्था हो । विश्वभर सञ्जाल रहेको यो संस्थाले कोरोना महामारीको समयमा कस्तो काम गर्‍यो र महामारीले कति प्रभावित बनायो त ?

रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा जगन्नाथ चापागाईँ सामाजिक सेवामा संलग्न रेडक्रसका स्वयंसेवकहरुले उच्च जोखिमका बीच पनि प्रशंसनीय काम गरेको दाबी गर्छन् । महामारीमा अन्तर्राष्ट्रियस्तरका व्यक्ति नखटिकन स्थानीय प्रतिकार्य समूहले कसरी काम गर्न सक्छ भन्ने कुराको कोरोना महामारीको समयमा विश्वव्यापी परीक्षण भएको भन्दै रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीमा आबद्ध लाखौँ स्वयंसेवी कोरोना महामारीको समयमा नयाँ पाठ सिकेको बताए ।

‘कोरोनाले हाम्रो आफ्नै अपरेशन पनि गहिरो रुपमा प्रभावित भयो र परीक्षण भयो । हाम्रो कर्मचारी र स्वयंसेवकले काम गर्ने नयाँ तरिका अनुकूलन गर्नुपर्‍यो । घरबाट, भर्चुअल र एक अर्काबाट टाढा भएर काम सम्पादन भए । रेडक्रसकर्मीको कोभिडबाट असामयिक निधनसमेत भयो ।’ चापागाईंले भने ‘डर र त्रासको सामना गर्दै काम गर्दा कतिले परिवारका सदस्य त कतिले नजिकका साथी गुमाउन बाध्य भए, त्यस्तो अवस्थामा पनि स्वयंसेवकमा अरुको सेवाभाव मरेको देखिएन ।’

महासचिव चापागाईँले कोभिडसँग जुधिरहेका नेपाललगायत अन्य देशमा जीवन बचाउन र जोखिममा रहेकालाई पर्याप्त स्वास्थ्य सेवा र खोपको पहुँच पुर्‍याउन सहयोग जारी रहेको जानकारी दिए । उनले भने, “सङ्क्रमणको दर केही क्षेत्रमा स्थिर वा कम हुन सक्छ । यद्यपि अस्पतालमा अझै बिरामी धेरै छन् । यसैले आइएफआरसीले नेपाल र भारतसहित सङ्क्रमण दर उच्च रहेका देशमा रेडक्रस र स्वास्थ्यकर्मीसँग सहकार्य गर्दै जीवन बचाउने अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएको छ ।”

नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई, माक्स, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, थर्मल गन शव व्यवस्थापनका लागि झोला लगायतका सामग्री तथा खोपका लागि समन्वय समेत गरेको छ ।

महामारी नियन्त्रण कानुन आवश्यक

महासचिव चापागाईंले देशहरुका बीचमा विशेष गरी स्वास्थ्य क्षेत्रमा सहकार्य हुन नसक्दा कोभिड–१९ ले विनाशकारी र रूप देखाएको बताएका छन् । आगामी दिनमा यस्तो गल्तीबाट जोगिन ‘अन्तरदेशीय महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी कानुन’ तथा घरेलु कानुनको आवश्यकता रहेको उनले बताए । आइएफआरसीले महामारी कानुनका लागि विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो सभामा पैरवीसमेत गरेको बताए । महासचिव चापागाईँले भने, “महामारीलाई नियन्त्रण गर्न र सामूहिक रूपमा जुध्न महामारी कानुनले सहयोग गर्छ । एउटा सफल सन्धिले विशेष गरी स्वास्थ्य स्वयंसेवक र अन्यलाई महामारी रोकथाम र पूर्वतयारीमा थप सहयोग गर्छ । साथै, घरेलु र अन्तर्राष्ट्रिय लगानीमा प्रोत्साहन र विश्वव्यापी समानतालाई प्रतिबद्धसमेत गर्छ ।’ परीक्षण, खोप र उपचारको पहुँचसहित महामारीबाट सुरक्षित हुन आप्रवासी र शरणार्थीसहित सबैको अधिकारमा जोड दिनुपर्ने उनले बताए ।

आइएफआरसीले जलवायु र वातावरण बडापत्र अनुमोदनका लागि पनि जोड दिइरहेको छ । ती दुई क्षेत्रले भविष्यमा मानवीय सङ्कट निम्त्याउने खतरा औँल्याउँदै उसले यसबाट गरीब र सीमान्तकृत समुदायलाई बढी असर पुर्‍याउने जनाएको छ ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील तत्कालीन उपमहासचिव चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका हुन् । उनले पदभार सम्हाल्दै गर्दा चीनमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भइरहेको थियो भने सङ्क्रमणले अन्य देशमा विस्तारै ‘महामारी’को रुप लिँदै थियो । उनले भने, “कोभिड–१९ को सङ्क्रमणको सुरुआती दिनमा मैले विशेष गरी सङ्कटासन्न समुदायलाई सङ्क्रमणबाट जोगाउन, यसको उपचार तथा जीवन रक्षामा आफ्नो ध्यान केन्द्रित गरेँ । यसका लागि आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना तथा आवश्यक स्वास्थ्य सामग्री सहयोगका कार्यक्रम सञ्चालन भयो । यो अहिले पनि जारी छ । खोपको सफल परीक्षण पछि सबैलाई खोपको सुनिश्चिता गर्न पहल जारी छ । हाम्रा संयन्त्र यसैमा बढी परिचालित छन् ।”

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । करिब १८ महिनाका अवधिमा नै उनले मानवीय सेवाका क्षेत्रमा पु¥याउनुभएको कामले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको भन्दै खुसी व्यक्त गरे ।

विश्वका धनी तथा शक्तिशाली देशको सङ्गठन ‘जी सेभन’ को हालै सम्पन्न बैठकमा सहभागी शीर्ष नेताहरूले आइएफआरसीको खुलेर प्रशंसा गरेका थिए । सो बैठक आयोजना हुनु अगाडिदेखि आइएफआरसीले ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न निरन्तर पैरवी गर्दै आएको चापागाईँ बताउँछन् ।

एक अध्ययनका अनुसार विश्वका सबैभन्दा गरीब ५० देशले हालसम्म दुई प्रतिशत मात्र खोप पाएका छन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ । उनले भने, “कोरोनाविरुद्धको खोप समाजका सबै वर्ग र क्षेत्रमा पुग्नुपर्दछ । सुविधा सम्पन्न वर्ग र क्षेत्रमा मात्र सीमित हुनुहुन्न । निश्चित क्षेत्रका जनसङ्ख्याले खोप पाएनन् भने महामारी निरन्तर जारी रहन्छ । खोप समानताका साथै यसलाई व्यवस्थित गर्न आवश्यक छ । हामी राष्ट्रहरुका बीचमा र राष्ट्रहरु भित्रै कोभिड–१९ खोपको उत्पादन, वितरण र समतामूलक पहुँच वृद्धि गर्नका लागि सबै सम्भावित उपाय मनन गर्न राष्ट्रलाई प्रेरित गर्दछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment