Comments Add Comment

घरेलु हिंसाको उजुरी बढ्यो

१६ असार, काठमाडौं । यो वर्ष नेपालमा घरेलु हिंसामा पर्नेको संख्या बढेको छ । नेपालका विभिन्न प्रहरी कार्यलयमा दर्ता भएको उजुरीको संख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको हो ।

गत आर्थिक वर्षमा ११ हजार ७३८ वटा घरेलु हिंसाका घटना दर्ता भएको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ हजार ८६३ वटा घटना दर्ता भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले घरेलु हिंसा सामान्य समय जसरी बढ्नु सकारात्मक नभएको बताउँछन् । उनी भन्छन् ‘हिंसा बढ्नु सकारात्मक होइन तर उजुरीको दर्ता भएको संख्यालाई बढेको मान्नु भन्दा पनि सचेतना, जागरणका कारण उजुरी गर्नेको संख्या बढेको हुनसक्छ ।’

प्रवक्ता कुँवर प्रहरीमा उजुरी गर्नुपर्छ हिंसा सहन हुँदैन भन्ने चेतनाको कारण उजुरी बढेको तर्क गर्छन् । समाज शिक्षित, जागरुक हुँदै जाँदा हिंसा कम हुनुको साटो उजुरी बढ्नु भने दुखद भएको बताउँछन् ।

महिला आयोगमा वैशाख १६ गतेदेखि असार ३ गतेसम्म ११३ वटा घरेलु हिंसाको उजुरी परेको छ । आयोगका प्रवक्ता श्याम श्रेष्ठ उजुरी आउनेको संख्या सामान्य भएको बताए । उनी भन्छन् ‘गत वर्षसँग तुलना गर्दा उस्तै देखिएको छ । खास बढेको छैन । यो वर्ष निषधाज्ञा कडा भएकोले पनि हुनसक्छ ।’

हरेक वर्ष घरेलु हिंसा बढिरहेको तर यसको न्यूनिकरणका उपाय खोज्नु भन्दा पनि सामान्यीकरण गरेर व्याख्या गर्नाले कमी नआएका ओरेक नेपालकी वरिष्ठ कार्यक्रम संयोजक लक्ष्मी अर्यालको भनाइ छ ।

उनी भन्छिन् ‘घरेलु हिंसा भइरहने कुरा हो जसरी लिएको पाइन्छ । हरेक वर्ष दुई, तीन सय हिंसाका घटना बढ्नु गम्भीर कुरा हो । तर त्यसरी लिएको पाइँदैन ।’ ओरेकले हटलाइनबाट पनि सेवा दिइरहेको छ ।

तर यो वर्ष प्रहरीले हिंसामा परेकाको उजुरी लिने, सहज वातावरण नबनाएको अर्यालको भनाइ छ । गत वर्षको तुलनामा यो वर्ष भएको निषेधाज्ञा कडा भएकोले कतिपय उजुरी गर्न जान नसकेको कारण उजुरी गर्नेको संख्या कमी देखिएको अर्यालको दाबी छ ।

‘हाम्रोमा उजुरी आएको आधारमा पनि उजुरी गर्न समस्या भएकोले कम देखिएको भन्न सकिन्छ’ उनी भन्छिन् ‘हामीले उपलब्ध गराएको हटलाइन नम्बरमा कल ब्याक गर्दा सम्पर्क हुन नसक्ने अथवा परिवारको अन्य सदस्यले फोन उठाउने धेरै भएको छ ।’ संख्यामा कम देखिए पनि प्रवृत्ति भने उस्तै देखिएको उनको भनाइ छ ।

इन्सेक अनलाइनका सम्पादक रमेश तिमिल्सिना निषेधाज्ञामा उजुरी दिन समस्या भएकोले संख्यामा कमी देखिएको दाबी गर्छन् । उनी भन्छन् ‘जनचेतना अथवा जागरण बढेको भन्ने अवस्था पनि छैन । त्यसैले निषधाज्ञाको कारण उजुरी गर्नेको संख्या कम आएको हुनसक्छ ।’ कतिपय घरेलु हिंसाका पीडितहरु उजुरी गरेर थप जोखिम मोल्नु भन्दा ज्यान जोगाउनतिर लाग्ने कारण उजुरी कम हुने उनको भनाइ छ ।

कलेक्टिभ क्याम्पेन फर पिस (कोक्याप) ले यो वर्ष गत वर्षको तुलनामा १० प्रतिशत घरेलु हिंसामा पर्नेको संख्या बढेको जनाएको छ । विभिन्न अध्ययन, रिपोर्टको आधारमा घरेलु हिंसामा पर्नेको संख्या बढेको पाइएको संस्थाका वरिष्ठ कार्यक्रम संयोजक महेश भट्टले जानकारी दिए ।

घरेलु हिंसामा पर्नेहरु अधिकांश श्रीमानबाट पीडित भएको पाइएको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment