Comments Add Comment

यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको औसत बसाइ अवधि बढ्यो

१७ असार, काठमाडौं । कोरोना भाइरसको महाकारीका कारण निर्धारित यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आंकडा अनुसार सन् २०२० मा नेपालमा एक जना पर्यटकको औसत नेपाल बसाई १५.१ दिन रहृयो । सन् २०१९ मा एक पर्यटक नेपालमा १२.७ दिन रहेको थियो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीका कारण यो वर्ष पछिल्लो तीन दशकयताकै कम पर्यटन नेपाल आएका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

सन् १९८९ मा २ लाख ३९ हजार ९ सय ४५ पर्यटक आएकोमा त्यसयता निरन्तर पर्यटक आगमन बढी रहेको थियो । ११ चैत २०७६ मा सरकारले पहिलो पटक नेपालमा देशव्यापी लकडाउन घोषणा गर्‍यो ।

जसले गर्दा एक त नेपाल आउन चाहने पर्यटकको नेपाल आगमन प्रभावित बन्यो । अर्कोतर्फ नेपालमा रहेको पर्यटक आफ्नो मुलुक निर्धारित समयमै फर्कन पाएनन् ।

अर्कोतर्फ त्यसयता फाट्टफुट्ट काम विशेषले नेपाल आउने विदेशीले क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण समेत बसाई अवधि लम्बिएको हो । नेपालमा यो वर्ष पर्यटकको औसतः बसाई अवधि १८.९० प्रतिशतले बढ्दा आगमनमा भने ८०.८ प्रतिशत गिरावट आएको हो । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

तथ्यांकअनुसार सन् २०२० को पहिलो तीन महिना (जनवरी-मार्च)मा मात्र पर्यटक आगमन औसतः थियो । त्यसपछि बन्द भएको आगमन अन्तिम महिना (डिसेम्बर)पछि मात्र आगमनमा केही सुधार भएको देखिएको छ । त्यो बीचको ८ महिना भने करीव शून्य आगमनमा नेपालको पर्यटन क्षेत्र गुजि्रएको थियो ।

बसाई अवधि बढ्दा पर्यटकको खर्च बढ्यो

मन्त्रालयका अनुसार कोरोनाले नेपालमा रोकिएका पर्यटक र क्वारेन्टिनको प्रावधानका कारण उनीहरुबाट हुने औसतः दैनिक खर्च समेत बढेको पाइएको छ । सन् २०२० मा नेपालमा एक पर्यटकले दैनिक औसतमा ६५ अमेरिकी डलर खर्च गरेका छन् ।

यस्तो खर्च सन् २०१९ मा ४८ डलर मात्र रहेको थियो । दैनिक खर्चमा यो वर्ष ३५.४ प्रतिशतको सुधार भएको पाइएको छ ।

तर, यो सुधार खर्चालु पर्यटक आगमन बढेर वा पर्यटकीय उत्पादनका माध्यमबाट खर्च बढेको नभई बाध्यतावशः गर्नुपर्ने खर्चका कारण दैनिक खर्च बढेको देखिएको छ ।

पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट

सन् २०२० मा पर्यटन क्षेत्रबाट हुने आम्दानीमा समेत ठूलो गिरावट आएको देखिएको छ । तथ्यांक अनुसार सन् २०२० मा करीव २६ अर्ब रुपैयाँ -२१ करोड ७० लाख अमेरिकी डलर) मात्र आम्दानी भएको छ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट नेपालले करीव ८६ अर्ब (७२ करोड ४३ लाख ३७ हजार अमेरिकी डलर) आम्दानी गरेको छ ।

यो वर्ष पर्यटनबाट हुने आयमा ७० प्रतिशत गिरावट आएको हो । यो वर्ष पर्वतारोहणबाट हुने आम्दानीमा समेत ठूलो गिरावट आएको हो । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दुई प्रतिशत भन्दा पनि कम योगदान गरेको देखिएको छ ।

कुल गार्हस्थ उत्पादनमा आतिथ्य सेवाको योगदान गणना हुन्छ । सन् २०२० मा यो क्षेत्र पहिलो तीन महिनापछि करीव ठप्प रहृयो । त्यसयता समेत विदेशी पर्यटक आगमनमा अपेक्षित सुधार हुन सकेको छैन । महामारीको दोस्रो लहरसँगै पुनः पर्यटक आगमन ठप्प बनेको छ ।

यस्तो छ सन् २०२० को पर्यटकीय तथ्यांक

आगमन : २३००८५ (८०.८ प्रतिशत घटेको)

पर्यटन आय : २१७००७ हजार डलर (७० प्रतिशत घटेको)

औसत बसाई अवधि : ६५ दिन (३५.४ प्रतिशत बढेको)

अन्तर्राष्ट्रिय उडान : १०२५६ वटा (६८.४ प्रतिशत घटेको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment