Comments Add Comment

बंगलादेशमा लकडाउन पालना गराउन सेना परिचालन

१७ असार, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका साथै सेना पनि गस्तीमा निस्किनेछ ।

बंगलादेश सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द रहने बताएको छ । राजधानी शहर ढाकाका प्रहरी प्रमुख साफिकल इस्लामले कुनै विशेष कारण विना बाहिर निस्किने व्यक्तिलाई जरिवाना हुने र पक्राउ पनि गर्न सकिने बताएका छन् । ‘हामीलाई एक दिनमा पाँच हजार मुद्दा दर्ता गर्न र उनीहरुलाई पक्राउ गर्नु परे पनि हामी गर्छौं,’ इस्लामले बताए ।

पछिल्लो केही समययता बंगलादेशमा उल्लेख्य संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । विशेषगरी भारतमा भेटिएको डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमण बढिरहेको जानकारहरुले बताएका छन् ।

विशेषगरी भारतसँग सीमा जोडिएको क्षेत्रका अस्पतालमा बिरामीको चाप बढेको छ । केही गाउँहरुमा संक्रमण फैलिने दर ७० प्रतिशतसम्म देखिएको छ ।

हालसम्म बंगलादेशमा करिब नौ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १४ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । विशेषज्ञहरुले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै रहेको हुनसक्ने बताएका छन् ।

यस्तै बंगलादेशमा रोकिएको कोरोना खोप अभियान बिहीबारबाटै शुरु हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । भारतले कोरोना खोप निर्यातमा रोक लगाएकाले बंगलादेशमा खोप अभियान रोकिएको थियो । बंगलादेशले आइतबारसम्ममा अमेरिकी कम्पनी मोडेर्नाको २५ लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ ।

बंगलादेशस्थित चिनियाँ दूतावासका अधिकारीले चीनले पनि २० लाख खोप पठाउने तयाीमा रहेको बताएका छन् । यसअघि नै चीनले बंगलादेशलाई ११ लाख डोज कोरोना खोप अनुदान दिइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment