Comments Add Comment

एक सातायता कोरोना संक्रमितको संख्यामा वृद्धि

१७ असार, काठमाडौं । पछिल्लो एक साता कोरोना संक्रमितको संख्या अपेक्षित रुपमा नघट्दा महामारीको जोखिम कायमै देखिएको छ ।

असार पहिलो साता संक्रमितको संख्या लगातार घटे पनि दोस्रो सातादेखि संक्रमितको संख्या सामान्य दरमा बढिरहेको देखिएको छ ।

असार ११ गते २ हजार ४७६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमणदर १७ प्रतिशतमा झरेकामा त्यसपछि लगातार बढेर बिहीबार संक्रमित संख्या २ हजार ७६० पुगेको छ र संक्रमणदर २५ प्रतिशत भन्दा माथि पुगेको छ ।

पछिल्लो सात दिनको संक्रमण संख्या र संक्रमण दर :

मिति कुल परीक्षण संक्रमण पुष्टि संक्रमण दर
११ असार १४,३५१ २,४७६ १७.२५ प्रतिशत
१२ असार ९,५१० २,०१६ २१.१९ प्रतिशत
१३ असार ९,८३६ १,९२० १९.५२ प्रतिशत
१४ असार ११,६४० २,४४४ २०.९९ प्रतिशत
१५ असार ११,७४८ २,६३६ २२.४४ प्रतिशत
१६ असार ११,५६८ २,८९२ २५.०० प्रतिशत
१७ असार १०,९८५ २,७६० २५.१३ प्रतिशत

काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो बनाएका बेला फेरि संक्रमण दर बढेपछि महामारी फैलिने त्रास बढेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सबैभन्दा थोरै संक्रमण असार १३ गते देखिएको छ । त्यस दिन ९,८३६ परीक्षणमा १,९२० जनामा संक्रमण देखिएको थियो र संक्रमणदर जम्मा १९ प्रतिशत थियो । असार १४ गते भने संक्रमित संख्या झण्डै ५०० जना थपिएर २,४४४ पुग्यो र संक्रमण दर पनि २२ प्रतिशत पुग्यो ।

दुई साता हेर्नुपर्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण दर स्थिर नै रहेको बताउँछन् ।

केही दिनयता संक्रमितको संख्या केही बढेको देखिए पनि संक्रमण कुन अवस्थामा छ भनेर पत्ता लगाउन अझै दुई हप्ता पर्खनुपर्ने उनी बताउँछन् ।

‘संक्रमण घट्दै छ कि बढ्दै छ भन्नलाई अबको दुई हप्ताको तथ्यांक पर्खनुपर्छ होला । निषेधाज्ञा पनि खुकुलो भयो । सार्वजनिक बस पनि चलेको छ । अबको दुई हप्ताले जुन तथ्यांक देखाउँछ त्यसले हामी कता छौं भन्ने स्पष्ट दिशा दिन सक्छ’ डा पौडेलले भने ।

परीक्षण कम हुँदा पनि संक्रमण दर उस्तै देखिनुले अझै पनि जोखिम कायमै रहेको उनले बताए ।

एन्टिजेन परीक्षणको रिपोर्टले संक्रमण दरलाई तलमाथि पारेको पौडेलको भनाइ छ ।

काठमाडौं उपत्यका लगायत केही जिल्लामा निषेधाज्ञा खुकुलो बन्दै गएका कारण जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भए संक्रमण बढ्ने जोखिम रहेको उनले बताए ।

काठमाडौंमा संक्रमण बढ्न सक्छ !

मन्त्रालयका प्रवक्ता डा. पौडेल काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न सक्ने बताउँछन् ।

‘सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा हो । त्यसमा पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढी छ,’ उनले भने, ‘निषेधाज्ञा खुकुलिएसँगै सार्वजनिक बस पनि सञ्चालनमा आएका छन् । जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भयो भने संक्रमण बढ्ने जोखिम उच्च छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment