Comments Add Comment

अन्तरिक्ष यात्रामा अर्बपतिहरुको दौड, बेजोसभन्दा अगाडि नै अन्तरिक्ष पुग्दै बेलायती अर्बपति

१८ असार, काठमाडौं । अर्बपतिहरुको अन्तरिक्ष यात्राको प्रतिस्पर्धा रोचक बनेको छ । बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनले आगामी जुलाई ११ मै अन्तरिक्ष यात्रामा जाने घोषणा गरेका छन् ।

अमेजन कम्पनीका सिइओ जेफ बेजोस जुलाई २० मा अन्तरिक्ष यात्रामा जाने कार्यक्रम यसअघि नै तय भैसकेको छ । बेजोसलाई पछि पारेर आफ्नै लगानीको रकेटबाट अन्तरिक्षमा पुग्ने पहिलो अर्बपति बन्ने ध्याउन्नमा रहेका ब्रान्स बेजोसभन्दा ९ दिन अगाडि नै अन्तरिक्षमा पुग्ने योजना बनाएका हुन् ।

बुधबार एक आश्चर्यजनक घोषणा गर्दै ब्रान्सनले भर्जिन कम्पनीको रकेट प्लेटमार्फत् जुलाई ११ मा अन्तरिक्ष यात्राको प्रयास गर्ने बताए । उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म सधै सपना देखिरहने मानिसको रुपमा रहेँ । मेरी आमाले मलाई कहिल्यै पनि हिम्मत नहार्न र नक्षत्रमा पुग्न सिकाउनुभयो । जुलाई ११ तारेख त्यो सपनालार्य यथार्थमा परिणत गर्ने दिन हो भर्जिन ग्यालाक्टिकको अर्को अन्तरिक्ष उडान मार्फत् ।’

 

यद्यपि भर्जिन ग्यालाक्टिकले वर्षौँ अगाडि देखि नै व्यवसायिक अन्तरिक्ष उडानको योजना बनाएको थियो । तर सन् २०१४ मा परीक्षण उडानका क्रममा भएको घातक दुर्घटना लगायतका घटनाहरुले गर्दा उसको नियमित उडान अझै सुरु हुन सकेको थिएन।

जेफ बेजोस र रिचार्ड ब्रान्सन दुबैले सन् २००० को दशकदेखि नै सब अर्बिटल रकेटको विकास, परीक्षण तथा प्रक्षेपणका लागि प्रतिस्पर्धा गरिरहेका छन् । साहसिक काममा रुची राख्ने धनाढ्यहरुलाई २३०० माइल प्रतिघण्टाको गतिमा रहेको रकेटमा राखेर केही मिनेटको अन्तरिक्ष यात्रा गराउने योजना उनीहरुको छ । उनीहरुको त्यस प्रयासलार्य अर्बपतिहरुको अन्तरिक्ष दौड भन्ने गरिएको छ ।

तथापि ब्रान्सनले विभिन्न अन्तरवार्ताहरुमा आफुलाई अन्तरिक्षको विषयमा दौडादौड गर्ने कुरामा रुची नरहेको बताउने गरेका छन् ।

हालैको एक अन्तरवार्तामा उनले भनेका थिए, ‘मानिसहरुले यसलाई एउटा दौड प्रतियोगिता जस्तो बनाएका छन् । यसलाई दौडजस्तो बनाउनु निकै खतरनाक हुन्छ । सबै काम पूरा गरेसँगै म अन्तरिक्षमा जानेछु र हामीसँग अन्तरिक्षयात्रामा जानका लागि नाम दर्ता गराउनेहरुलाई पनि निम्तो गर्नेछौँ । तर हामी यसलाई इमान्दारीतापूर्वक कुनै दौडको रुपमा लिँदैनौँ ।’

स्मरण रहोस् जेफ बेजोसको कम्पनी ब्लु ओरिजनले निर्माण गरेको रकेटमा चढेर जेफ बेजोस, उनका भाई मार्क बेजोस र २ करोड ८० लाख डलरको टिकट खरीद गरेका एक व्यक्ति गरी ३ जना आगामी जुलाई ३० मा अन्तरिक्ष यात्रामा जानेछन् । बेजोस दाजुभाईसँगै अन्तरिक्ष यात्रामा जाने ती व्यक्तिको नाम अझै खुलासा गरिएको छैन ।

उता रिचार्ड ब्रान्सनको अन्तरिक्ष यात्रामा चाहीँ उनीसमेत चार जना हुनेछन् । जसमा यसअघिका परीक्षण उडान गरिसकेका कम्पनीको तालीम विभाग प्रमुख बेथ मसेसका साथै कम्पनीकै अन्य दुई कर्मचारी कोलिन बेन्नेथ र सिरिशा बन्दला रहेका छन् ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment