Comments Add Comment

अब कांग्रेसको नेतृत्व यस्तो हुनुपर्छ

नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि आकाक्षीहरु बढ्नु स्वाभाविक नै हो तर आजको आवश्यकता कस्तो नेतृत्वको हो भन्ने महत्वपूर्ण कुरा हो । धनवाद र डनवादले धमिल्याएको राजनीतिलाई सङ्लो बनाउने अभियानमा कटिबद्ध नेतृत्व स्थापित हुन सके मात्र मुलुकको राजनीतिले सही दिशा अगाल्न सक्ला ।

पाका नेतृत्वबाट पार्टीले गतिशीलता लिन सकेन त्यसैले युवा नेतृत्व स्थापित हुन जरुरी छ भन्ने आवाज कांग्रेस वृत्तमा सुनिन थालेको छ । पक्कै पनि युवाहरुको जोस र गतिशीलता पार्टी सन्चालनका लागि आवश्यक छ । पाका नेताको अनुभव र वौद्धिकताको समिश्रणविना धमिलिएको राजनीति सङ्लो बनाउन युवा नेतृत्व मात्र सबल हुनेमा विश्वस्त हुने आधार निर्माण भैसकेको छैन ।

पंक्तिकारले आगामी नेतृत्वका लागि उपयुक्त नेता को हुन सक्ला भनेर फरक-फरक जिल्लाका दर्जन बढी पूर्वमहाधिवेशन प्रतिनिधिहरुसँग टेलिफोनमा कुरा गर्दा सबैजसोको एउटै प्रतिक्रिया आयो- जसले पैसा लगानी गर्न सक्छ उही सभापती बन्छ । बौद्धिक र निष्ठावान भएर मात्र के गर्नु ? कार्यकर्तालाई चिया खुवाउनसम्म हिच्किचाउने रामचन्द्र पौडेललाई दारुको खोलाले नबगाउला भन्न सकिंदैन ।

उपर्युक्त प्रतिक्रियाबाट प्रष्ट हुन्छ कि कांग्रेसभित्र कस्तो राजनीतिक संस्कारले जरा गाडेको छ । बिलाशी जीवनशैली नै भ्रष्टाचारको बीउ हो भन्ने कुरा नेतृत्व पंक्तिले बुझ्न जरुरी छ । यसै सन्दर्भमा पंक्तिकारसँग तत्कालीन सभापति सुशील कोइरालाले सुनाएको एउटा रोचक प्रसंग यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ।

संसदीय निर्वाचनमा चितवन र नेपालगन्जबाट उम्मेदवारी दिएका स्वर्गीय सुशील कोइराला चुनावी प्रचार अभियानमा चितवनमा गएको बेला एकजना स्थानीय नेताले उनलाई भनेछन्- सुशील दा ! मेरो वार्डमा प्रचार अभियानमा लागेकाहरुलाई मासु भात खुवाउन पैसा चाइयो ।’ ‘मलाई भोट दिने होइन । पैसा खर्च गरेर चुनाव जित्ने मेरो अवस्था छैन’ भन्ने जबाफ दिएर उनी काठमाडौ फर्केछन् । ता पनि उनले त्यहाँबाट चुनाव जितेका थिए ।

कार्यक्रममा सहभागी हुनका लागि विभिन्न जिल्लाहरूमा पुग्ने अधिकांश नेताहरु सिधै व्यापारी र ठेकेदारहरुको पहिलो घेराभित्र रहने गरेको स्वयं पंक्तिकारको अनुभव छ । तारे होटेलहरु उनीहरुको रोजाइमा पर्छन् । पक्कै पनि स्रोत साधनका लागि व्यापारी र ठेकेदारहरुको सहयोग लिन जरुरी हुन्छ तर सुविधा भोगकै लागि उनीहरु नै नेतृत्वको पहिलो रोजाइमा पर्ने हो भने जिल्ला तहका त्यागी र निष्ठावान नेता र कार्यकर्ताहरुको उचित मूल्यांकन कसरी हुन सक्ला ? अहिलेको प्रमुख समस्या नै यही हो ।

नेतृत्वका लागि जतिसुकै आकांक्षीहरु मैदानमा देखिए पनि १३ औं महाधिवेशनमा जस्तै १४ औं महाधिवेशनमा पनि अन्तिम प्रतिस्पर्धा रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच हुने सम्भावना बलियो छ । जिल्ला तहका युवा पंक्ति माझ देखिएको लोकप्रियतालाई हेर्दा १४ औं महाधिवेशनबाट डा. शेखर कोइराला बलियो शक्तिका रुपमा उदाउने प्रवल सम्भावना पनि देखिन्छ ।
कोइराला परिवारभित्र पनि तुलनात्मक रुपमा शेखर कोइराला अब्बल देखिएका छन् । कोइराला सभापति बन्नुपर्छ भन्ने मत कांग्रेस वृत्तमा बढेको छ तथापि रामचन्द्र पौडेलको निष्ठा र बौद्धिकतालाई किनारा लगाउन नहुने मत अधिक छ । अर्कोतर्फ सभापतिका आकांक्षीमध्ये डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको पछिल्लो उठबसलाई पनि अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

दोस्रो पुस्ताका नेताहरुमध्ये एकले अर्कोको नेतृत्व स्वीकार गरिहाल्ने वातावरण बनिसकेको भने छैन । गगन थापा र प्रदीप पौडेलको लोकप्रियतालाई टेकेर आफू नेतृत्वमा स्थापित हुने कसरतमा रहेका कृष्ण सिटौलाले १३ औं महाधिवेशनमा खेलेको भूमिकाप्रति कांग्रेस वृत्तमा असन्तुष्टि व्याप्त छ । सिटौलाकै गलत निर्णयका कारण कांग्रेस इतिहासकै कमजोर अबस्थामा पुगेको यथार्थ जगजाहेर छ ।

१५औं महाधिवेशनमा आफूलाई नेतृत्वमा स्थापित गर्ने उद्देश्य अनुरुप अहिलेदेखि नै सभापतिका आकांक्षीहरु मैदानमा देखिनु स्वभाविक नै हो तर नयाँ र सबल नेतृत्व मार्फत पार्टीलाई जीवन्तता दिंदै रुपान्तरण गर्नका लागि आगामी महाधिवेशनमा नयाँ आकांक्षीहरु बिचमा एकता हुनु आजको आवश्यकता देखिन्छ ।

सरकारको नेतृत्व परिवर्तनमा देखिदै आएको भूराजनीतिक प्रभाव पार्टी नेतृत्वका लागि हुने अधिवेशनहरुमा पनि पर्ने बुझाइ स्वयं नेताहरुमा रहेको देखिन्छ । नेतृत्वमा स्थापित हुने प्रलोभनमा परेर भूराजनीतिक प्रभाव भित्राउने दुषित कसरत कुनै पनि नेताबाट हुनु हुँदैन । विरोधका लागि विरोधमा उत्रने संस्कृतिको अन्त हुनु पर्दछ । एउटै पदमा एउटै ब्यक्ति पटक पटक दोहोरिरहन नपाउने व्यवस्था

पार्टीको विधानमा उल्लेख गरी सोही अनुसार कार्यान्वयन हुन सके मात्र पार्टी प्रभावकारी रुपमा अगाडि बढ्न सक्ला । केन्द्रीय तहको एउटा पदमा एक कार्यकाल मात्र रहन पाउने व्यवस्था पार्टीको विधानमा स्थापित गर्न जरुरी छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस दुईतिहाइ बहुमत सरकारको नेतृत्व, बहुमत सरकारको नेतृत्व र गठबन्धन सरकारको नेतृत्व गर्दै संविधान सभामार्फत संविधान जारी भए पश्चात कमजोर प्रतिपक्षको भूमिकामा रहेको यथार्थता हाम्रो सामु छ । पछिल्लो स्थानीय, संसदीय र प्रदेश निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोग्यो । उसको इतिहासमा योभन्दा नराम्रो अवस्था कहिल्यै देखिएको थिएन ।

आगामी महाधिवेशनमा सभापति पद सर्वसम्मतिले चयन गरेर अन्य पदलाई खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने दिशामा नेतृत्वदायी भूमिका देउवाले खेल्न सके नेपाली कांग्रेसमा गुट अन्त्य हुन सक्थ्यो र भावनात्मक रूपमा पार्टी एक भएको सन्देश कार्यकर्ता माझ सिन्चित हुन सक्थ्यो 

लोकतान्त्रिक संसदीय व्यवस्थामा सत्तारुढ दलको जति महत्व हुन्छ करीब त्यति नै महत्व प्रतिपक्ष दलकोे पनि हुन्छ । प्रतिपक्ष दलले जहिले पनि प्रतिरक्षात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यदि सत्तारुढ दलले जनचाहनाअनुरूप काम गर्न सकेन भने जनताले प्रतिपक्ष दलबाटै सत्तारुढ दलले गर्नुपर्ने भूमिका अपेक्षा गरेका हुन्छन् । उनीहरूको भरोसा प्रतिपक्ष दल नै बन्न पुग्छ । तर इतिहासकै कमजोर प्रतिपक्षी दलको रुपमा कांग्रेस देखियो जसले गर्दा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारीता हावी बन्दै गएको हो ।

आफ्नो कमजोरीको आत्मसमीक्षा गर्दै कांग्रेस नेतृत्वले आफ्नो शक्ति मजबुत बनाउनेतर्फ अग्रसर हुनेछ भन्ने जनअपेक्षा विपरीत नेताहरू विभिन्न गुटमा बाँडिएर पार्टी पराजयका विषयमा आरोप/प्रत्यारोपमा उत्रिएका थिए । महासमिति बैठकभित्र पनि गुटबन्दीले प्रश्रय पायो । यद्यपि एकताको सन्देश दिने प्रयास गरिएको थियो ।

कार्यसमिति समावेशी बनाइयो र केन्द्रीय नेतृत्वमा भएका नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरी स्थानीय स्तरबाटै चुनिएर आउनुपर्छ भन्ने अधिकतर महासमिति सदस्यका सुझाव केन्द्रीय समितिको निर्णयबाट सम्बोधन गर्ने वाचा सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताले गरेका थिए । तर उनीहरूले आफ्नो बाचाको बेवास्ता गर्दै हावामा उडाइदिएका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहको असहमतिबीच बहुमतको बलमा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम गराएका थिए ।

लोकतन्त्र स्थापनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको र पटक-पटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेसको कमजोर नेतृत्व अवस्था देखेर जनतामा निराशा पैदा भएको छ । देउवालाई पछिल्लो संसदीय निर्वाचनमा प्रधानमन्त्रीको कुर्सी बचाउन प्रचण्डसंँग सम्झौता गरेर पार्टीलाई क्षति पुर्याएको भन्ने आरोप एकातिर लागेको छ भने अर्कातिर प्रतिपक्ष दलका रूपमा सरकारविरुद्ध खबरदारी गर्न नसकेको आरोप लागेको छ ।

पटक-पटक प्रधानमन्त्री र पार्टी सभापति भइसक्दा पनि पदका पछाडि दौडिदै गरेको सन्देश जनतामा जानु देउवाका लागि मात्र नभई सिंगो पार्टीका लागि समेत घातक हुनसक्छ । पार्टीलाई कमजोर अवस्थामा पुर्याउन देउवाको प्रमुख भूमिका छ भन्ने जनमत व्याप्त छ । कांग्रेसलाई फेरि पुरानै शक्तिका रूपमा स्थापना गर्न व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्र र पार्टीको हितमा कदम चाल्न सक्नु पर्छ ।

आगामी महाधिवेशनमा सभापति पद सर्वसम्मतिले चयन गरेर अन्य पदलाई खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने दिशामा नेतृत्वदायी भूमिका देउवाले खेल्न सके नेपाली कांग्रेसमा गुट अन्त्य हुन सक्थ्यो र भावनात्मक रूपमा पार्टी एक भएको सन्देश कार्यकर्ता माझ सिन्चित हुन सक्थ्यो । कार्यकर्ता वृत्तमा नयाँ उत्साह र जाँगर पलाउन सक्थ्यो । तर सभापति शेर बहादुर देउवामा त्यागको भावना क्षीण देखिन्छ ।

नेपाली कांग्रेस मात्र होइन हरेक राजनीतिक दलहरु धनवाद र डनवादको प्रभावमा सन्चालन हुन थालेपछि नेपालमा लोकतान्त्रिक बहुदलीय व्यवस्था नै बदनाम बन्दै गएको छ । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको पहरेदार नेपाली कांग्रेसले आगामी महाधिवेशनमा धनवाद र डनवादलाई निस्तेज गर्दै स्वच्छ, इमान्दार, बौद्धिक तथा गतिशील नेतृत्व प्राप्त गर्न सके मात्र कांग्रेसको भविष्य उज्ज्वल रहला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment