Comments Add Comment

संयुक्त वक्तव्य दिने ओली पक्षको प्रस्ताव, नेता नेपाल भन्छन् : कार्यदलले ड्राफ्ट गरेर ल्याओस्

२० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् ।

ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल पक्षमा रहेका उपमहासचिव घनश्याम भुसाल पनि पुगेका थिए ।

भेटमा ओली पक्षका नेताहरुले ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् । नेता नेपाल त्यसमा तयार देखिएका छन् । दुबै पक्षका नेताहरुको कार्यदललाई वक्तव्यको मस्यौदा बनाएर ल्याउन उनले आग्रह समेत गरेका छन् ।

तर ओली पक्षका नेताहरुले भने कार्यदल त निश्क्रिय रहेको जवाफ दिएको स्रोतले बताएको छ । उनीहरुले कार्यदल ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए ।

उपमहासचिव भुसाल पनि कार्यदल ब्यूँताउने प्रयोजनका लागि भेट्न नेता नेपाललाई आग्रह गरेका थिए । तर ओली पक्षका नेताहरुले कार्यदल ब्यूँताउने विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्नुपर्ने बताएपछि थप कुराकानी हुन सकेन ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएयता अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद चल्दै आएको छ । आफ्नो पक्षका नेताहरु मात्र सहभागी बैठक राखेर एकपछि अर्को निर्णय गरेका अध्यक्ष ओली २ जेठ २०७५ मा फर्किन सहमत भएपछि २ जेठ २०७८ मा कार्यदल गठन भएको थियो ।

कार्यदलले काम थाल्दानथाल्दै प्रतिनिधिसभा विघटनको प्रक्रिया सुरु भएपछि विवाद चर्कियो । संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरे ।

प्रधानमन्त्री ओलीले पनि एमाले र जनता समाजवादी पार्टी (जसपा)को आफूलाई समर्थन भएको दाबी गरे । राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भयो ।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ निवर्तमान सांसद सर्वोच्च अदालत गएका छन् । यसरी जानेमा नेपाल पक्षका २३ निवर्तमान सांसद छन् ।

संवैधानिक इजलासमा विचाराधीन यो मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष ओलीले यो मुद्दाको फैसला आउनु अघि नै हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । तर नेपाल पक्ष त्यसमा तयार देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment