Comments Add Comment

महामारीले विश्वका २९ प्रतिशत पर्यटकीय गन्तव्य अझै पूर्ण बन्द

नेपाल आंशिक खुला

२० असार, काठमाडौं । विश्वभर २९ प्रतिशत पर्यटकीय अझै पनि पूर्ण रुपमा बन्द रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर ६३ वटा मुलुकले अहिले भ्रमणमा आउने पर्यटकका लागि सबै नाका बन्द गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण पछिल्लो डेढ वर्षयता यस्तो प्रतिवन्ध शुरु भएको हो । कुनै बेला शतप्रतिशत बन्द रहेको विश्व पर्यटन अब क्रमशः सुरु हुने क्रममा छ ।

संगठनले यात्रा प्रतिवन्ध सरल बनाउने उपाय वृहत खोप अभियान भएको भन्दै सो कामलाई प्राथमिकतामा राख्न समेत संगठनले सरकारहरुलाई ध्यानाकर्षण गराएको छ ।

अर्थतन्त्र चलायमान बनाउन पर्यटकीय गतिविधि सूचारु हुने भन्दै संगठनले प्रतिवेदनमार्फत पर्यटनमा डिजिटल माध्यमलाई बढावा दिनुपर्ने सुझाव समेत दिएको छ ।

संगठनले आगामी केही साता पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुने भन्दै यो व्यवसायको भविश्य समेत खोपसँग जोडिएको बताएको छ । नेपालमा दुई छिमेकी मुलुक भारत र चीन यात्रा पूर्ण प्रतिवन्ध लगाउने मुलुकमा पर्छन् । दक्षिण एसियामा भूटान र पाकिस्तान समेत यसै सूचीमा छन् ।

तीन मुलुकमा पूर्ण खुला, नेपाल आंशिक

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार आइतबारसम्म कुल तीन वटा मुलुकले यात्रा प्रतिवन्ध पूर्ण रुपमा हटाएको पाइएको छ । यसरी प्रतिवन्ध हटाएर पर्यटकलाई स्वागत गर्ने मुलुकमा अल्वानिया, कोष्टारिका र डोमिनिकल रिपब्लिक रहेका छन् ।

यो विश्वको एक प्रतिशत अंश हो । नेपाल भने आंशिक खुला रहेको मुलुकमा रहेको छ । प्रतिवेदन अनुसार आफ्नो मुलुकको सीमानालाई आंशिक रुपमा खुला गर्ने मुलुकमा ७३ राष्ट्र छन् ।

यो कुल मुलुकको ३४ प्रतिशत अंश हो । दक्षिण एसियामा नेपाल र बंगलादेश यो सूचिमा छन् । यूरोप र अमेरिकी मुलुकहरु यो सूचिमा छन् ।

३६ प्रतिशत देशको सीमाना खुला, क्वारेन्टिन अनिवार्य

पूर्ण खुला, पूर्ण प्रतिवन्ध र आशिंक प्रतिवन्धबाट ३६ प्रतिशत मुलुकले भने शर्तसहित पर्यटकको स्वागत गर्न शुरु गरिसकेका छन् । ती मुलुकले सबै सीमाना खुला गरेका छन् ।

तर, विदेशी नागरिकलाई कोरोना परीक्षण र क्वारेन्टिनको प्रावधान अनिवार्य गरेका छन् । कुल ७८ मुलुकमा यस्तो प्रावधान शुरु भइसकेको छ । यो कुल मुलुकहरुको तुलनामा ३६ प्रतिशत संख्या हो । यो सूचीमा दक्षिण एसियाका अफगानिस्तान, श्रीलंका, माल्दिभ्स यो सूचिमा छन् ।

अर्थतन्त्रमा कस्तो असर ?

विश्व पर्यटन संगठनका अनुसार विश्वभरका २९ वटा मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले प्रत्यक्ष रुपमा २० प्रतिशत भन्दा माथिको योगदान गर्छ । यस्तो योगदान गर्ने मुलुकमा माल्दिभ्सदेखि मकाउसम्म छन् । जहाँ पर्यटन मूख्य आम्दानीको स्रोत हो ।

संसारका ४७ वटा देशमा पर्यटनले कुल गार्हस्थ उत्पादनमा १०-२० प्रतिशतसम्मको योगदान गर्छ । यो सूचीमा सिंगापुर, मलेसिया, श्रीलंका, न्यूजिल्याण्ड, यूएई, पोर्चुगल, हङकङसहितका मुलुक छन् ।

संसारभर ८० मुलुकमा पर्यटनले ५-१० प्रतिशतसम्म जिडिपीमा योगदान गर्छ । यो सूचीमा नेपाल, भारत, जापान, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिकासहितका मुलुक छन् । जिडिपीमा ५ प्रतिशत भन्दा कम योगदान गर्ने मुलुक भने २५ वटा छन् । यो कुल मुलुकको ५ प्रतिशत हिस्सा हो ।

खोपको प्रभाव पर्यटन क्षेत्रमा

महामारीका बीच आफ्नो सीमाना पूर्ण वा आशिंक बन्द राख्ने मुलुकमध्ये ७० प्रतिशत एसिया र प्रशान्त क्षेत्रका छन् । यो यस्तो क्षेत्र हो, जहाँ कोरोना भाइरस विरुद्धको खोप वितरणको काम निकै सुस्त गतिमा वा कम भएको छ ।

संगठनले यो विषयलाई प्राथमिकताका साथ उठाउँदै यात्रा प्रतिवन्धमा रहेको भिन्नतालाई समेटेको छ । यूरोपमा अब १३ प्रतिशत मुलुकमा मात्र प्रतिवन्ध छ ।

अफ्रिकामा १९ र अमेरिकामा २० प्रतिशत मुलुकले मात्र सीमा नाका बन्द गरेका छन् । मध्यपूर्वी क्षेत्रका ३१ प्रतिशत राष्ट्रको सीमा नाका पर्यटक आगमनमा खुला हुन सकेको छैन ।

यस्तो छ विश्व पर्यटनमा प्रतिवन्धको पछिल्लो अवस्था

  • सीमानाका पूर्ण बन्द : ६३ मुलुक (२९ प्रतिशत)
  • सीमानाका आंशिक बन्द : ७३ मुलुक (३४ प्रतिशत)
  • सर्ततोकेर सबै सीमा खुला : ७८ (३६ प्रतिशत)
  • पूर्णखुला : ३ मुलुक (१ प्रतिशत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment