Comments Add Comment

अफगानिस्तानका प्रमुख जिल्लाहरुमा तालिबानको नियन्त्रण

२० असार, काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेका केही जिल्लामा चरमपन्थी संगठन तालिबानले कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफगानी सैनिकहरुलाई सो क्षेत्रबाट धपाउँदै तालिबानले उक्त जिल्लाहरुमा आफ्नो कब्जा कायम गरेको हो ।

तालिबानी लडाकुहरु ताजकिस्तानको सीमातर्फ अघि बढेसँगै त्यहाँ रहेका अफगानिस्तानी सैनिकहरु ताजकिस्तान प्रवेश गरेका छन् । ताजकिस्तानको स्टेट कमिटी फर नेशनल सेक्युरिटीले आइतबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानको बडाख्सन प्रान्तबाट ३ सयभन्दा धेरै अफगानी सैनिक ताजिकिस्तान प्रवेश गरेका हुन् । स्थानीय समयअनुसार शनिबार साँझ साढे ६ बजे अफगानी सैनिक ताजकिस्तान प्रवेश गरेका थिए ।

‘मानवता र असल छिमेकीको सिद्धान्त पालना गर्दै’ ताजकिस्तानको सरकारले भागेर आएका अफगानी सैनिकलाई आफ्नो भूमिमा प्रवेशको अनुमति दिएको विज्ञप्तिमा उल्लेख छ ।

अप्रिलको मध्यतिर अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको युद्ध अन्त्य गर्दै आफ्ना सैनिक फिर्ता लैजाने निर्णय गरेसँगै तालिबानले अफगानिस्तानको धेरै क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको छ । यद्यपि उसले नियन्त्रणमा लिएको अधिकांश जिल्ला उत्तरी क्षेत्रमा छन् ।

यससँगै अब समग्र अफगानिस्तानको ४२१ जिल्लामध्ये करिब एक तिहाइमा तालिबानको कब्जा भएको छ । उत्तरपूर्वी बडाख्सन प्रान्तमा पछिल्लो केही दिनमा युद्ध नगरीकन नै तालिबानले कब्जा जमाएको प्रान्तीय परिषद्का सदस्य मोहिब अल रहमानले बताएका छन् । उनले सैनिकको कमजोर आत्मबलको कारण तालिबानले सजिलै आफ्नो पकड बलियो बनाएको आरोप लगाएका छन् ।

‘दुर्भाग्यवश अधिकांश जिल्लामा तालिबानले युद्ध विना नै कब्जा जमाएको छ । पछिल्लो तीन दिनमा १० जिल्ला तालिबानमा नियन्त्रणमा गएका छन्, जसमध्ये आठओटा जिल्ला कब्जामा लिन उसले युद्ध नै गर्नुपरेन’, रहमानले भने ।

रहमानका अनुसार अफगानी सैनिक, प्रहरी र गुप्तचर सैनिकले आफ्नो पोस्ट आत्मसमर्पण गर्दै बडाख्सन प्रान्तको राजधानी फैजाबादतर्फ भागेको बताएका छन् । रहमानका अनुसार आइतबार फैजावादमा नियन्त्रण बलियो पार्ने विषयमा बैठक भइरहेको समयमा पनि केही वरिष्ठ प्रान्तीय अधिकारी भने सहर छाडेर काबुलतर्फ भागेका छन् ।

त्यस्तै तालिबानले कन्दाहार प्रान्तको पनि प्रमुख जिल्लामा कब्जा जमाएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार रातभर चलेको युद्धमा तालिबानले अफगानी सैनिकलाई हराउँदै तालिबानले कब्जा जमाएको हो । अमेरिका र नेटोका सैनिकले बग्राम एयरबेस छाडेको दुई दिनमा नै कन्दाहारको पन्जबाइ जिल्लामा कब्जा जमाएको हो ।

कन्दाहार तालिबान जन्मिएको स्थान हो । सन् २००१ मा अमेरिकी सेनाले यो जिल्लामा आक्रमण गर्दै तालिबानलाई भगाएको थियो । कन्दाहार प्रान्तको प्रान्तीय परिषद्का प्रमुख सयेद जान खक्रिवालले पञ्जवालमा तालिबानले कब्जा जमाएको पुष्टि गर्दै सरकारी सेना नियतवश भागेको आरोप लगाएका छन् ।

पछिल्लो समय तालिबानले अफगानिस्तानको लागि निकै महत्वपूर्ण मानिने स्थानमा कब्जा जमाइरहेको छ । यद्यपि अफगानिस्तानको गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै तालिबानले अहिले नियन्त्रणमा लिएको स्थानमा सरकारले पुनः आफ्नो नियन्त्रण कायम राख्ने बताएको छ । तर, अहिलेसम्म ती क्षेत्रहरु आफ्नो नियन्त्रणमा आउँछन् भन्ने खुलाएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment