Comments Add Comment

प्रदेश २ का सभामुखको गुनासो : मेयरहरु राजा भए

२० असार, सप्तरी । प्रदेश २ का सभामुख सरोजकुमार यादवले स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसकेको बताएका छन् । संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार आउने भनिए पनि स्थानीय तहमा राजदरबार आएको उनले टिप्पणी गरे ।

सप्तरी जिल्लासभालाई आइतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले स्थानीय तहका प्रमुखहरु राजाभन्दा कम नरहेको आरोप लगाए । ‘संघीयता आएपछि सिंहदरबार गाउँमै आउने चर्चा थियो,’ उनले भने, ‘सिंहदरबार त आएन राजदरबार चाहिं आयो ।’

संघीयता आए पनि जनता खुशी नभएको भन्दै उनले अगाडि भने, ‘म पनि संघीयता पक्षधर नै हुँ । शुरुदेखि संघीयताका लागि लडिरहेको छु । तर, संघीयतामा जनताको इच्छा अनुसार काम भइरहेको छैन ।’

सभामुख यादवले जुनसुकै पार्टीबाट चुनाव जिते पनि जनताको पक्षमा काम गर्नुपर्ने बताए । ‘आफ्नो मान्छेलाई बजेट दिने र अरुलाई नहेर्ने प्रवृत्ति राम्रो होइन । म पनि कुनै पार्टीबाटै जितेर आएको हुँ । तर इमान्दारीपूर्वक काम गरेको छु,’ उनले भने ।

जनताको प्रतिनिधि बनेर केन्द्र र प्रदेशमा गएका सांसदहरु जिल्लासभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए । जिल्लासभामा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यलाई निम्ता दिइएको भए पनि कोही उपस्थित भएनन् ।

जिल्लासभामा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा राम्रो काम गरेको भन्दै कर्मचारी नवराज खड्का, कमलेश्वर बिराजी, गंगाराम साहलाई सम्मान गरिएको थियो ।

यस्तै जिल्लामा उत्कृष्ट नगरपालिका बनेको भन्दै कञ्चनरुप र गाउँपालिकामा रुपनीलाई सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment