Comments Add Comment

चार खेलाडीलाई उपचार खर्च प्रदान

२१ असार, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार जना खेलाडीलाई सहयोग स्वरुप सोमबार उपचार खर्च उपलब्ध गराएको छ ।

विभिन्न चार खेलका चार जना खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी दिए ।

ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार रुपैयाँ प्रदान गरिएको हो । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ उपलब्ध गराइएको श्रेष्ठले बताए ।

सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

चालु आर्थिक वर्षमा कोषले यी चार खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चवापत कुल ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ । यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्वखेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रपैयाँ रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । त्यसैको ब्याजबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment