Comments Add Comment

विश्वभरका १० हजार नेताहरुको भेला गरेर चीनले के सन्देश दिँदैछ ?

२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेताहरुको उच्चस्तरीय भर्चुलअल सम्मेलन गर्दैछ ।

पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा आयोजित ‘वर्ल्ड पोलिटिकल पार्टिज समिट’मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको पनि सहभागिता रहने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले यति धेरै राजनीतिक दलहरुसँग एउटै प्लेटफर्ममा पहिलो पटक अन्तर्क्रिया आयोजना गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विकासक्रमबारे विश्व समुदायलाई बुझाउन सो कार्यक्रमको आयोजना गरिएको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक संस्थाका १० हजारभन्दा बढी नेता तथा प्रतिनिधि सहभागी हुने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हुँ चाउमिङले जानकारी दिएका छन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुहो याजाउले बताएअनुसार कार्यक्रमको दुई उद्देश्य छ ।

पहिलो, चिनियाँ कम्युनिष्ट पार्टीले विकासमा प्राप्त गरेको सफलताबारे जानकारी गराउनु ।

अर्को, चीनले पाएको सफलताका पछाडि रहेको राजनीतिक कारण र यसको संगठनात्मक विषयबारे जानकारी गराउनु ।

नेपाल–चीन मामिला विज्ञ डा. रुपक सापकोटा पछिल्लो समय चीनले विभिन्न देशका राजनीतिक दलहरुसँगको सम्बन्धलाई विशेष जोड दिएको बताउँछन् ।

‘अहिले विश्वमा चीनविरुद्ध जुन खालको घेराबन्दी र आलोचना भइरहेको छ, त्यसलाई कम गर्नका लागि चीनले राजनीतिक दलको सम्बन्धलाई विशेष जोड दिएको देखिन्छ,’ सापकोटाले भने, ‘ठूला, साना सबै राजनीतिक दलसँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ किनकी आज सरकारमा नरहेको दल भोलि सरकारमा जानसक्छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीको बारेमा विशेषगरी पश्चिमा मुलुकहरुमा तीव्र आलोचना हुन थालेपछि चीनले केही समययता विश्वभरका राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध विकास गर्दै गएको छ ।

पछिल्लो समयमा विशेषगरी बेल्ट एण्ड रोड इनिसियटिभको सम्बन्धमा समेत राजनीतिक दलहरुसँग छलफल गरिरहेको छ । केही हप्ताअघि मात्र नेपालका सबै राजनीतिक दलहरुसँग चीनले सामूहिक रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार विश्वका ५६० भन्दा बढी राजनीतिक दल र संस्थासँग चिनियाँ कम्युनिष्ट पार्टी सम्वाद र सम्पर्कमा छ ।

बिहीबार मात्र पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा चिनियाँ राष्ट्रपति सिले संसारभरका सबै प्रगतशील शक्तिहरुसँग मिलेर अगाड बढ्न चाहेको बताएका थिए । चिनियाँ विज्ञहरुले यसलाई अन्तरपार्टी कूटनीतिको संज्ञा दिएका छन् र विश्वसँग चीनको संवाद र सम्पर्क विस्तारमा योगदान पुग्ने बतँएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका अनुसन्धातकर्ताको रुपमा कार्यरत कोवौ लियानले चाइना डेल्लीसँग भनेका छन्, ‘सीपिसीले संसारभरि नै मित्र बनाउँछ र सो मित्रतामा भिन्नतालाई भन्दा समानतालाई प्राथमिकता दिन्छ । यसमार्फत हामीले विचारको आदानप्रदान गर्न चाहन्छौं र एक अर्कालाई सम्मान गछौं ।’ उनले आफूहरु सत्तारुढ र विपक्षमा रहेका सबै राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन् ।

नेपाल–चीन मामिलालाई नियालिरहेका परराष्ट्रविद मिलन तुलाधार पनि पछिल्लो पटक चीनले संसारका सबै राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न चाहेको बताउँछन् ।

‘धेरै मुलुकमा वहुदलीय प्रणाली छ, त्यस्तो अवस्थामा सबै राजनीतिक दलसँग मिलेर काम गनुपर्ने हुन्छ,’ तुलाधारले भने, ‘कम्युनिष्ट पार्टी र आफूले भने अनुसार मात्र होइन, सबैसँग मिलेर काम गर्ने चीनको नीति देखिन्छ । चिनियाँ राष्ट्रपतिले ग्लोबलाइजेसनलाई अगाडि बढाउन खोजेका छन् ।’

विशेषत आफूसँग जोडिएका मुद्धाहरुमा कुनै पनि देशका राजनीतिक दलहरुबीचमा सहमति कायम भए कार्यान्वयन गर्न सजिलो हुन चीनको बुझाइ छ । बीआरआईका सम्बन्धमा विभिन्न देशमा राजनीतिक दलहरुकको फरक धारणा आएपछि चीनले पार्टीहरुसँगको सम्बन्धलाई विशेष जोड दिएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कमलदेव भट्टराई

भू-राजनीति र कुटनीतिक मामिलामा दखल राख्ने भट्टराई अनलाइनखबरका सहायक सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment