Comments Add Comment

भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन, सर्वाेच्चको फैसला हेरौं : शाक्य

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानून–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्। नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले जे नीति छ, त्यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको उनको आरोप छ । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो।उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद’ शाक्यले भने, ‘तर, सर्वोच्चको आदेश र महानगरपालिकाको कानूननीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै शहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होर्डिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको छ। त्यसैले मेयरलाई देखाइदिन्छाैं भनेर नीति-नियमको उल्लङ्घन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं ।’

२०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होर्डिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्प्लेट लगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

‘पैसा तिरेर विज्ञापन राख्छौं भन्दा पनि हामीले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौं । त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपमेयरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ’ उनले भने ।

यसअघि पनि दरबार हाईस्कूल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायत स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए । ‘नीति सबैका लागि बराबर हुन्छ’ शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएका छौं।’

‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’

उनले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोबल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारे । ‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ’ उनले भने,‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोबल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको छ । उनले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराए ।

‘स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सरकारी र सामुदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौं’ उनले भने, ‘काठमाडौं महानगर क्षेत्र भन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने कार्य गरेको छ। त्यसैले हामीले कसरी उहाँहरुको सम्मानमा आघात पुग्ने काम गर्यौं ?’

शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री वीर अस्पताल, कान्ति बाल अस्पताल  र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराए ।

‘उम्मेदवार हुँदा भित्तोमा प्रचार गरेनौं’    

चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकूल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, मेयर शाक्यले भने।

मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिको पहिलो नगरसभाले नै सर्वसम्मत रुपमा काठमाडौं महानगरपालिकाको नारा ‘सांस्कृतिक शहर काठमाडौं महानगर’ तय गरेको पनि स्मरण गराए ।  ‘उक्त नाराले पनि काठमाडौं शहरलाई सांस्कृतिक शहरका रुपमा विकास गर्नुपर्ने हुन्छ’ शाक्यले भने, ‘आफूखुशी जे–पायाे त्यही गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।’

उनले आफू मेयर निर्वाचितपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत शहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराए ।

मेरो कार्यकर्ता हो, मेरो मान्छे हो,  त्यसैले पाउनुपर्छ भन्ने ढंगले अघि बढ्ने हो भने समस्या हुने पनि उनले बताए । ‘विज्ञप्ति जारी गर्ने साथीहरुलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्नुहोस्’ उनले भने, ‘नीति, आदेश केही नमान्ने हो भने कहाँ–कहाँ, कस–कसलाई के–के लेख्न दिने हो ? तपाइँहरु भन्नुहोस् । तर, आदेश, कानून र नीतिको पालना त गर्नुपर्ला नि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment