Comments Add Comment

तालिबानसँगको संघर्षपछि आफ्नो ज्यान जोगाउन अफगानी सैनिक पुगे ताजिकिस्तान

२२ असार, काठमाडौं । अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानसँगको युद्धपछि करिब एक हजार सैनिक भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सरकारले सार्वजनिक गरेको एक विज्ञप्तिमा अफगानी सेना आफ्नो ज्यान बचाउन सीमा पार गरेको बताएको छ ।

अफगानिस्तानमा पछिल्लो केही दिनमा हिंसा अचानक बढेको छ र तालिबानले धेरै जिल्लामा आफ्नो कब्जा बढाइरहेको छ । तालिबानले सीमावर्ती प्रान्त बदाख्शानका धेरै जिल्लालाई कब्जामा लिएको छ । अर्कोतर्फ ताजिकिस्तानको प्रशासनले अफगानी शरणार्थी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गरिरहेको छ ।

अहिले तालिबानले जुन गतिमा अफगानिस्तानका जिल्लाहरु कब्जा गरिरहेको छ, त्यसले अमेरिकी सेना फिर्ता गएसँगै अफगानी सेनाले तालिबानसँग युद्ध गर्न नसक्ने आशंका बढेको छ । अमेरिकाले आगामी सेप्टेम्बरसम्ममा आफ्ना सबै सैनिक फिर्ता गर्ने बताएको छ । जसमध्ये अधिकांश सैनिक फर्किसकेका छन् ।

अफगानिस्तानको गाउँमा मात्र नभएर अहिले शहरहरुमा पनि तालिबानले कब्जा गर्न थालेकाले चिन्ता बढेको जानकारहरुले बताएका छन् । साथै तालिबानको कब्जा बढेसँगै अफगानी  सैनिकको पनि मनोबल गिरेको छ । त्यसैले उनीहरु युद्ध विना नै आत्मसमर्पण गरिरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment