Comments Add Comment

रोकिएको जनगणना असोज १ देखि १५ गतेसम्म गर्ने प्रस्ताव

२२ असार, काठमाडौं । ८ असार २०७८ मा सम्पन्न हुनुपर्ने जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मूलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार वषर्ायाम शुरु नभएको अवस्थामा जेठ अन्तिमसातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।

यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन । सोहीकारण जनगणना अनिश्चित कालका लागि बन्द गरिएको थियो ।

तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने तयारी गरेको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी छ,’ उनले अनलाइनखबरसँग भने, ‘सम्भवतः एक साता भित्रै सरकारले मिति तोक्छ ।’

मिति तोकेपछि गणक भर्ना

३९ हजार भन्दा बढी गणकले घरघर पुगेर जनगणना गर्छन् । यो काम १५ दिनमा सकिसक्नु पर्छ । सरकारले जनगणनाको मिति तोक्नासाथ विभागले गणक भर्नाको काम समेत पुरा गर्ने छ ।

त्यसअगाडि सुपरभाइजरसहितका विभिन्न तहका कर्मचारीलाई तालिम दिने र आवश्यक सामग्री पुर्‍याउने काम भने यसअघि नै सकिएको छ ।

‘हाम्रा कार्यालयहरु स्थानीय तहसम्म पुगेका छन्, सामान पुगिसकेको छ,’ उनी भन्छन्, अब फाइनल चरणका काम पुरा गर्ने हो ।’

जनगणना यसअघि २५ जेठबाट शुरु गरी ८ असारमा सक्ने लक्ष्य थियो । तर, वैशाखको पहिलो साताबाटै कोरोना भाइरसको महामारी फैलिएपछि जनगणना अभियान रोकिएको थियो ।

गणक र कर्मचारीलाई खोपमा प्राथमिकता

जनगणना असोज भित्र सक्नै पर्ने बाध्यता रहेको निष्कर्षमा विभागका अधिकारीहरु पुगेका छन् । निर्देशक लामिछानेका अनुसार असोजपछि दशैं र तिहारजस्ता चाड शुरु हुन्छन् । त्यसपछि जाडो याम शुरु हुन्छ । त्यससमय हिमाली भेगका कतिपय बस्तीसम्म भौतिक रुपमा पुगेर जनगणना गर्न मुस्किल हुन्छ ।

दुई चरणमा जनगणना गर्नु उपयुक्त समेत मानिदैन । सोहीकारण असोज भित्रै जनगणना सक्ने गरि विभागले तयारी गरेको उनले जानकारी दिए । सो प्रयोजनका लागि विभागले घरघर पुगेर जनगणना भर्ने गणकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सरकारसँग माग समेत गरेको छ ।

‘अब धमाधम खोप आउने भनिएका कारण खोप वितरण हुनेछ, हामीले गणकलाई प्राथमिकतामा राख्न भनेका छौं,’ उनले भने । यसले गणक र घरपरिवार दुबैमा जोखिम कम हुने विभागको भनाइ छ ।

 दोस्रो पटक जनगणना प्रभावित

नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन सकेन । २००८ मा नियमित जनगणना हुनु पर्ने थियो । तर, २००७ सालको क्रान्ती र त्यसपछिको राजनीतिक घटनाक्रमले सो वर्ष जनगणना हुन सकेन । यो जनगणना २००९-११ मा गरि दुई पटक गरिएको थियो ।

त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक प्रभावित भएको हो । यद्दपी सालको अन्तिम अंक ‘८’ कायम नै रहँदा हरेक १०/१० वर्षको आवधिक तथ्यांकमा फरक नपर्ने भएकाले यो वर्षभित्रै जनगणना सक्ने जोडबलमा विभाग रहेको निर्देशक लामिछानेले बताए । यो वर्ष भित्रै गणना पुरा गर्दा भने तथ्यांक प्रयोगमा ठूलो प्रभाव नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment