Comments Add Comment

सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो

सभागृह प्रत्येक वर्ष मर्मत हुन्छ, अवस्था उस्तै

२४ असार, पोखरा । गण्डकी प्रदेश सरकारको बजेटमाथि आइतबारदेखि छलफल शुरु हुने भएको छ । सभामुख नेत्रनाथ अधिकारीले असार २७ गते ११ बजेदेखि शुरु गर्ने तयारी रहेको जानकारी दिए । ‘सचिवालयलाई जानकारी आएको छ । अब हामीले सूचना निकाल्नमात्रै बाँकी हो,’ उनले भने ।

यसअघि सामाजिक विकासमन्त्रीसमेत रहेका गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले असार २५ गतेदेखि संसद शुरु हुने बताएका थिए । तर, सदन सञ्चालन हुने पोखरा सभागृह मर्मत गर्नुपर्ने भएपछि आइतबारमात्रै बैठक शुरु हुन लागेको जानकारी दिए ।

‘सभागृह बढी पानी परेको बेला चुहिने समस्या आएको रहेछ । नत्र हामीले शुक्रबारबाटै गर्ने भनेर सबै डकुमेन्ट सचिवालयलाई दिइसकेका थियौं,’ प्रवक्ता खड्काले भने, ‘टाढाका साथीहरु आउन पनि असजिलो छ । सभागृह मर्मत गर्नुपर्ने पनि रहेछ । फेरि हामीले बल गरेरमात्रै भएन ।’

सभागृह वर्षैपिच्छे मर्मत, अवस्था उस्तै !

गण्डकी प्रदेश सभा भवन सानो भएको र कोभिड महामारीमा भौतिक दूरी कायम नहुने भन्दै ‘कोभिड काल’ पछि प्रदेशले पोखरा सभागृहमा अधिवेशन गर्दै आएको छ । तर, महानगरको एकमात्र सभागृहको अवस्था भने टालटुलमै सीमित छ ।

यो पनि पढ्नुहोस पोखरा सभागृह : नाम फेरियो, स्वरुप उस्तै !

प्रत्येक वर्ष बैठकका लागि महानगरले सभागृह मर्मत सम्भार गर्दै आइरहेको छ । तर, अवस्था सुधारिएको छैन । चालु प्रदेशसभाको बैठक पनि सभागृह भवन मर्मतकै बहानामा समय धकेलिएको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि प्रदेश सभाको अधिवेशनको लागि सभागृह मर्मत गरिएको थियो । त्यतिबेला पोखरा महानगर र प्रदेश सरकारले सभागृह मर्मतका लागि २५ लाख रुपैयाँ खर्चेको थियो । सभागृहमा भएका करिब ४ सय ५० कुर्ची मर्मत गरिएको थियो ।

भएको सभागृह पनि मर्मत सम्भार गर्न नसकेर आलोचित भइरहेको महानगरले २ वर्षअघि सभागृह भएकै ठाउँमा मिनी हल बनाउने घोषणा गरेको थियो । करिब ५० लाख रुपैयाँ लगानीमा २ सय सिट क्षमताको मिनी हल बनाउने घोषणा गरेको महानगरले उक्त योजना घोषणामात्रै सीमित भएको छ ।

यो पनि पढ्नुहोस अस्तव्यस्त पोखरा सभागृह संसद चलाउन चिटिच्याट्ट !

बजेट पारितपछि मात्र सरकारलाई पूर्णता

विपक्षी दलले आयोजनागत बजेट विवरण (रातो किताब) बिना बजेटमाथिको छलफल प्रक्रिया अगाडि बढ्न नदिने भएपछि आफूहरु बजेटको रातो किताब तयार गरेर सदनका लागि तयार भएको खड्काले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी प्रदेश सरकारमा किचलोकै कारण बजेटमाथि छलफल हुन सकेको थिएन । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएर २ दिनमै बजेट ल्याएको सरकारले बजेट ल्याएको थियो । असार ४ गते विश्वासको मत पाएपछि अनिश्चितकालका लागि सदन स्थगित भएको थियो ।

जेठ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका कृष्णचन्द्र नेपालीले सोही दिन कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र एक–एकजनालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा लामो समय भइसक्दा पनि २ जना मन्त्रीले जिम्मेवारी पाएका छैनन् र मन्त्रिपरिषद्ले समेत पूर्णता पाएको छैन । जेठ २९ गते विना विभागीय मन्त्री नियुक्त भएका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारीलेमात्रै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सोही दिन विना विभागीय मन्त्री भएका जनता समाजवादीका हरिशरण आचार्य र राजीव गुरुङ ‘दीपक मनाङे’ले अझैसम्म जिम्मेवारी पाएका छैनन् ।

ठूलो बजेट हिस्सा रहने भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा गठबन्धनबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । प्रदेशमा मन्त्रालय बाँडफाँड विवाद मिल्न नसकेपछि केन्द्रीय नेतृत्वलाई अन्तिम निर्णयको जिम्मेवारी दिइएको छ । तर, केन्द्रीय नेतृत्वलेसमेत निर्णय दिन सकेको छैन ।

विना विभागीय मन्त्री र रिक्त मन्त्रालयको बाँडफाँड बजेट पारित भएपछिमात्रै गरिने प्रवक्ता खड्काले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment