Comments Add Comment

धनगढीमा निःशुल्क शव वाहन सेवा

२५ असार, कैलाली । धनगढीका व्यवसायी गोपाल हमालले निःशुल्क शव वाहन सन्चालनमा ल्याएका छन् । ‘महाप्रस्थान यान’ नाम दिइएको उक्त शव वाहन धनगढी उपमहानगरवासीले निःशुल्क प्रयोग गर्न पाउने छन् ।

३० लाखको लागतमा सञ्चालनमा ल्याइएको उक्त शव वाहन सञ्चालनको जिम्मा सामाजिक कार्यमा सक्रिय धनगढीकै सिद्धराज पनेरुलाई दिइएको छ । शुक्रबार औपचारिक कार्यक्रमकाबीच शव वाहनको चाबी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा.हेमराज पन्तले पनेरुलाई हस्तान्तरण गरे ।

व्यवसायी हमालले अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पु¥याउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर आफ्नो परिवारले निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याएको बताए ।

‘धनगढीमा शव यात्राका लागि गाडी दिन नमान्ने समस्या मैले देखें, हमालले भने, परिवारको सदस्य गुमाउँदा परिवार नै शोकमा डुबेको अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुने समस्यालाई ध्यानमा राखेर महाप्रस्थान यान नाम दिएर निःशुल्क वाहन सञ्चालन गरेका हौं ।’

यानमा पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान व्यवस्था गरिएको छ । यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ । यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ ।

उक्त यान धनगढी उप–महानगरपालिकाको मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने हमाल परिवारले जनाएको छ ।

यानको चाबी हस्तान्तरण गर्दै प्राध्यापक डा.पन्तले सम्मानजनक मानिसको अन्तिम संस्कारका लागि सुन्दर सुदूरपश्चिमका अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर समाजका लागि महत्वपूर्ण काम गरेको बताए।

यसरी जन्मियो महाप्रस्थान यानको परिकल्पना ?

गत पुस ३ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त भट्टको निधन भएको थियो । हसनपुरबाट गौरीगंगा नगरपालिकामा रहेको शिवगंगा नदीको आर्यघाटमा अन्तिम संस्कारको लागि भट्टको पार्थिव शरीर लगियो ।

भट्टको शव यात्रामा व्यवसायी हमाल पनि सहभागी थिए । तर उपयुक्त गाडी नहुँदा धेरै पटक भट्टको पार्थिव शरीर गाडीबाट झर्ला जस्तो हुन्थ्यो । आफन्तहरुले गाडी रोक्दै पुनः मिलाएर शव राख्थे । त्यो कारुणिक दृष्यले हमाललाई मर्माहत बनायो ।

गत पुस २३ गते नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकका बुवा बुद्धिराज पाठकको निधन भयो । पाठकको अन्तिम संस्कार धनगढीस्थित मोहना आर्यघाटमा गरिएको थियो ।

उचित सवारीसाधनको अभावमा पाठकको पनि भट्टको जस्तै सास्तीयुक्त शव यात्रा थियो । उनको पार्थिव शरीर पनि घरीघरी खस्ने जस्तो हुन्थ्यो । यी दुईवटा घटनाबाट प्रभावित भएर शव वाहन सञ्चालनमा ल्याइएको हमालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment