+
+

समाज लघुवित्तमा लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक

रोयल आचार्य रोयल आचार्य
२०७८ असार २५ गते १७:३०

२५ असार, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताहरुको पुँजी १० महिनादेखि बन्धक बनेको छ । समाज लघुवित्तले १० महिनाअघि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको थियो ।

आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाई यस संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको थियो । ६ असोजमा मर्जर सम्झौता गरेपनि मर्जरको काम भने निकै लामो समयसम्म यस संस्थाले सम्पन्न गर्न सकेको छैन ।

दुई संस्थाहरुबीच मर्जर सम्पन्न नहुँदा समस्यामा भने लगानीकर्ताहरु परेका छन् । मर्जर सम्पन्न भएपछि मात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ३ महिना भन्दा ढिला भए राष्ट्र बैंकसँग समथ थपका लागि अनुमति लिनुपर्ने बताउँछन् । यी दुई संस्थाको विषयमा समय थप भए नभएको बारेमा बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।

समाजका सीईओ किशोरी महतो मर्जरको विषयमा सकारात्मक छैनन् । संस्थाको सीईओ भए पनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।

संस्थाको सञ्चालक रहेका सरोजकुमार महतो उनकै भान्जा नाता पर्ने हुन् । उनकै कारणले मर्जर प्रक्रियामा ढिलाई भइरहेको संस्थाकै सञ्चालकहरुको आरोप छ । तर सीईओ महतोले पनि मर्जरमा ढिलाई भएको भए पनि आफ्नै कारणले मात्रै भने ढिलाइ नभएको बताए ।

आफ्नो १५ प्रतिशत सेयर रहेको पनि स्वीकार गरेका उनले सञ्चालक आफ्नो नाता परे पनि गलत मनसायले नभई कानूनी प्रक्रिया पुरा गरेर सञ्चालक भएको बताए ।

मर्जर पनि जतिसक्दो चाडो होस् भन्ने पक्षमा आफू रहेको बताए । ‘म त जतिसक्दो चाडो होस् भन्ने पक्षमा नै छु, तर विभिन्न कारणले ढिलो भएको छ’ उनले भने, ‘विभिन्न बहानाबाजी गरेर मेरोमात्रै समस्या छ जस्तो देखाइयो, तर त्यो यथार्थ होइन म मर्जरको पक्षमा छु ।’

लगानीकर्ताको पुँजी लामो समय बन्धक भएकोमा आफूलाई पनि दुःख लागेको बताए । हतार-हतारमा मर्जर सम्झौता भएको र मर्जरमा हस्ताक्षर गरेको २४ घण्टाभित्र नै जानकारी नेपाल स्टक एक्सचेन्जमा जानकारी दिनु पर्ने भएकाले रोक्का भएको उनले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?