Comments Add Comment

शहरमा गाउँका परम्परागत परिकार पस्कँदै ‘मगर्स किचन’

शहरीकरण र आधुनिकताले ढपक्कै ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै बिल्कुलै फरक परिवेशको घर छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि बाँसको तगारो । तगारो छेउमा ढुंगेधारा र मकैको सुली । घरको भुईं तलामा एउटा कुनामा ढिंकी, अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता र पाकेको फर्सी लहरै मिलाएर झुण्डाइएको । घरभित्र छिर्ने बित्तिकै मदुस, भुइँमा गुन्द्रीमाथि काम्लो (राडी) । भित्तामा मादल, डम्फु, भरुवा बन्दुक, धनुकाण, डोको, फुर्लुङ र चाल्नो आदि ।

तर यो घर मात्र होइन, यो त पहाडी जिल्लाका गाउँबस्तीका परम्परागत खाजा र खानाका परिकार शहरका उपभोक्तालाई पस्कने रेस्टुरेन्ट अर्थात् ‘मगर्स किचन’ हो । ४ वर्ष कोरियामा रोजगारी गरेर फर्केका मगर फिल्मका निर्देशक, कलाकार र लेखक समेत रहेका ४५ वर्षीय सञ्जय काउछा मगरले मगर्स किचनको सुरुवात गरेका हुन् ।

करिब ५० लाख रुपैयाँ लगानी भएको मगर्स किचेनमा भुटेका मकै, भटमास, कोदो र फापरको रोटी, ढिँडो, कोदो र फापरकै मःमः, सेल रोटी, बटुक, पिडाँलु, तरुल, चुकाउनी, स्थानीय जातका कुखुराको मासु आदि अर्गानिक खाजा र खानाका परिकार उपलब्ध हुने सञ्चालक काउछा मगरले बताए । ‘पहाडी जिल्लाका गाउँघरमा आम नेपालीले खाने गरेका परम्परागत नेपाली र मगरका परिकार, त्यहाँकै संस्कार, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका छौं,’ सञ्चालक काउछाले भने ‘आयातित संस्कार र परिकारको साटो परम्परागत अर्गानिक खाजा र खानाका परिकार प्रवद्र्धन गर्दै नेपाली संस्कृतिलाई जोगाइराख्ने मुख्य उद्देश्य हो ।’

कोदो, फापर, सिस्नो, मकै भटमास लगायतका वस्तु गुल्मी, बागलुङ र पाल्पाका ग्रामीण भेगबाटै किनेर ल्याउने गरेको काउछाले बताए । मगर्स किचनमा तयारी मसलाको सट्टा सिलौटामा पिसेको मसला मात्रै प्रयोग हुन्छ । कोरोना महामारीका कारण भएको लकडाउनले औपचारिक उद्घाटन हुन नपाए पनि मगर्स किचन छोटो समयमै खासगरी शहरीया उपभोक्ताको रोजाइको थलो बनेको सञ्चालक काउछा बताउँछन् । ‘पाको पुस्ताभन्दा युवा पुस्ताको आकर्षण धेरै छ, शहरमै जन्मे हुर्केको पुस्ता आफ्नो पुर्ख्यौली थातथलोको झल्को मेट्न यहाँ आउँछन्’–काउछाले भने ‘लोपोन्मुख सामग्रीहरु संग्रह गरेर यसलाई मिनी संग्रहालयको रूपमा विकास गर्ने लक्ष्य छ ।’

उपभोक्तालाई आफ्नै बारीमा उत्पादन भएका खाद्य पदार्थ खुवाउने लक्ष्यसहित मगर्स किचनले सैनामैना नगरपालिकाको सालझण्डीमा २ बिघा खेत लिजमा लिएर तरकारी उत्पादनदेखि लोकल कुखुरा पाल्ने, होमस्टे सञ्चालन गर्ने र हरेक शुक्रबार रोधी सञ्चालन गर्ने योजना बनाएको काउछाले बताए ।

आन्तरिकसँगै विदेशी पर्यटकलाई पनि नेपाली मौलिक र परम्परागत परिकारतिर आकर्षित गर्ने लक्ष्यसहित तेस्रो चरणमा मगर्स किचनलाई सातवटै प्रदेशका राजधानीमा विस्तार गर्ने लक्ष्य रहेको काउछाले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकले आफू पनि नौलो लागेर त्यहाँ पुगेर परम्परागत परिकारको स्वाद लिएको बताए । ‘स्वास्थ्यका दृष्टिले पनि पश्चिमा संस्कृतिका परिकारभन्दा नेपाली मौलिक परिकार धेरै फाइदाजनक छन्’ उनले भने ‘सकभर हामीले हाम्रै परम्परगत खाना र खाजाका परिकार खानु राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment