Comments Add Comment

ब्राजिल भर्सेस अर्जेन्टिना : अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो पाँच खेलको हेड टु हेड

२५ असार, काठमाडौं । कोपा अमेरिका २०२१ को मेघा फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना आइतबार ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा भिड्दैछन् ।

दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको थियो । लिओनल मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

तर मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता यी दुई टोली २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा भिडेका थिए । उक्त खेल ब्राजिलले २–० ले जितेको थियो ।

समग्रमा हेर्दा अर्जेन्टिना अघि रहे पनि मुख्य प्रतियोगिताको पछिल्लो ५ खेलमा ब्राजिल अर्जेन्टिनाविरुद्ध अपराजित छ । यो सबै खेल कोपा अमेरिकाका हुन् ।

२०१९ कोपा अमेरिका

पछिल्लो पटक मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता भिड्दा ब्राजिल २–० ले विजयी भएको थियो । घरेलु मैदानमै भएको २०१९ को कोपा सेमिफाइनलमा ब्राजिलका लागि गाब्रिएल जेसस र रोवर्टो फिर्मिनोले गोल गरेका थिए ।

चोटका कारण ब्राजिलका स्टार नेमार त्यस खेलमा सहभागी थिएनन् । लिओनल मेसीसहित एन्जल डी मारिया, सर्जियो अगुएरो, पाउलो डिबला, लाउटारो मार्टिनेज जस्ता खेलाडी भएपछि ब्राजिलले सेमिफाइनलमै अर्जेन्टिनालाई हरायो ।

कोपा अमेरिका २००७

सन् २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । लगातार दोस्रो पटक यी दुई टोली फाइनल खेल्दै थिए । अर्जेन्टिना तीन वर्षअघि हारको बदला लिने दाउमा थियो । तर ब्राजिलले खेल सहजै जित्यो । उक्त खेलमा ब्राजिलका जुलियो बाप्टिस्टा र डानी अल्भ्जले गोल गरेका थिए । अर्जेन्टिनाका रोवर्टो आयलाले आत्मघाती गोल गरेका थिए ।

अहिलेका स्टार लिओनल मेसीको पहिलो कोपा फाइनल त्यही थियो ।

कोपा अमेरिका २००४

२००४ को कोपा अमेरिका फाइनलमा पनि यी दुई टोली भिडेका थिए । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा अर्जेन्टिनाले दुई पटक अग्रता लिएको थियो तर ब्राजिलले पुनरागमन गर्दै बराबरी गर्‍यो ।

त्यसपछि टाइब्रेकरमा ब्राजिलले अर्जेन्टिनालाई ४–२ गोलले पराजित गरेको थियो । जहाँ अर्जेन्टिनाका दुई खेलाडीले गोल गर्न सकेनन् ।

कोपा अमेरिका १९९९

सन् १९९९ को कोपा अमेरिकामा दुई टोली क्वाटरफाइनलमा भिडेका थिए । जसमा ब्राजिलले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो । ब्राजिलका लागि रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि जुवान पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।

सोरिनले गोल गर्दै अर्जेन्टिनालाई पहिले अग्रता दिलाए पनि ब्राजिलले पुनरागमन गर्दै खेल जितेको थियो ।

कोपा अमेरिका १९९५

सन् १९९५ को कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनलमा भिडेका थिए । खेलमा ब्राजिलले दुई पटक पछि परेर पनि कमब्याक गर्दै निर्धारित समयमको खेल बराबरी गरेको थियो ।

त्यसपछि पेनाल्टीसुटआउटमा ब्राजिलले अर्जेन्टिनालाई ४–२ ले हरायो ।

गोल डटकमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment