Comments Add Comment

कथा : विदेश सपनाले गुमाएको प्रेम

‘सर आज छुट्टी छ ! मेरो स्टोरी सुनाउँछु नि है ?’ कृष्णले भने, ‘अनेक प्रश्न सोधेर नरुवाउनु नि फेरि !’

कृष्ण केही दिन अगाडि आफ्नो चलचित्रजस्तै जीवन कथा सुनाउँछु भन्दै थिए ।

उनको प्रस्तावले मेरो कान ठाडो भयो । सायद आज मनको बह सुनाएर मन हलुका बनाउन चाहन्छन् ।

प्रसङ्ग हो-विदेशिएको वर्षौसम्म बेखबर आफ्नी प्रियसी खोज्न उनी डाँफे झै बेग हान्दै जापान आइपुगेको मार्मिक कहानीको । शुरु गर्नु पहिला उनले अलिकति पृष्ठभूमि बताउने अनुमति मागे ।

मैले अनुमतिको टाउको हल्लाउनासाथ उनी पोखिन थाले । यस्तो लाग्यो-उनी पोखिन कति आतुर रहेछन् ।

                                                                        ******

ओकिनावाको एउटा सानो कोठा ! कोठा के भन्ने, कलेजको होस्टेल । चाङ लगाएर राखिएका आल्मुनियमका खाटहरूले हामीलाई साँघुरो लागेको छ । जस्तै भए पनि यो जापान हो । चाहिएजति सुविधा सबै छन् कोठाभित्र । मान्नुस् कि नेपालको कुनै तारे होटेलमा उपलब्ध सेवा यहाँको हरेक कोठामा उपलब्ध छन् । अनि त्यो कोठामा छौं हामी चारभाइ । हामीमध्ये एक हुन् मैले बेड सेयर गर्ने मित्र कृष्ण कार्की । नेपाल घर भोजपुरको दिङ्ला । उनी जापान आएको छ महीना भयो ।

मेरो स्वभाव अलि अन्तर्मुखी छ । झट्ट बोली हाल्ने बानी छैन । अलि गम्भीर प्रवृत्ति । यसै पनि पहिलोपटक विदेशछु । सुरुआती दिनहरू बाँचिरहेको छु । मन साह्रै बेचैन छ । चिन्जान नभएका धेरै साथीहरूसँग परिचय गरेर रमाउनुछ । भोलिदेखि त नियमित कलेज जानैपर्छ । सँगै आफ्नो खर्चको लागि काम पनि गर्नुछ ।

कृष्णजी । अलि पाको मानिस । हाम्रो ओच्छयान नजिकै भएकोले कुराकानी पनि सहजले गर्न सकिने । भेटघाटका सुरुआती दिनबाटै उनी मलाई सर भन्छन् । सायद म पनि उनको नजरमा पाको देखिएँ होला त्यसैले । हामीबीच ‘केमेस्ट्री’ मिल्यो । छिट्टै र सहजै नै नजिक भएछौं ।

फुर्सदमा आफूले ल्याएको ल्याप्टपमा घोरिन्छु । नेपाल हुँदा छोडिएका सारा यादहरूको सम्झना गर्छु । विदेशमा केहुन्छ थाहा थियो तर देशमा के हुन्छ ? थाहा छैन । मन अनौठो उकुसमुकुसले भरिन्छ । ल्याप्टप खोलेर विगतका रमाइला दिन सम्झँदै राहतको अनुभूति गर्न बानी बसाउनुपर्छ विदेशमा । बेलाबखत कृष्ण मलाई हेर्थे र सोध्थे-‘सर तपाईं नेपालमा के गर्नुहुन्थ्यो ?’

‘पत्रकारिता गथेँ, लेख्थेँ, बोल्थेँ,’ मैले भनेँ, ‘अनि कथाहरू लेख्न पनि मन पर्छ ।’

कृष्णले अलि राहत महसुस गरे । ‘मैले ठीक ठाउँमा ठीक पात्र भेटेछु । म पन एउटा कथाकै पात्र बन्न सक्छु ।’

मैले उनलाई हेर्न नभ्याउँदै उनले थपे, ‘हो, म यतिखेर टुक्रा-टुक्रा भएको मन जोड्न विदेश आएको छु । समय मिल्दा भनम्ला ।’ पढाइ, जागिरको बीचमा च्यापिएको जीवनबाट केही समय निकालेर उनी यति बोले र बाहिरिए जागिरतिर ।

अँ साँच्ची । उमेर समूह र सोचाइको प्रकृति मिल्ने भएर होला, कृष्ण र मनजिक छौं आजकल । अघिल्लो आइतबारको एक साँझ छुट्टिपछि उनले आफ्नो उजुरी पेटिका खोल्न थाल्छन् । क्रमशः, क्रमशः …।

सर ! मेरो घर भोजपुर भएपनि प्रायः बसाइँ काठ्माडौं मै भयो । अध्यायन र काम गर्दै ज्यान पाल्ने सिलसिलामा मेरो जिन्दगीमा एक नारी प्रवेश गरिन् । सुरुमा हामी छिमेकी थियौं । सामान्य चिनाजानी थियो । क्रमिकरुपले भेटघाट हुँदै जाँदा हामी त एकअर्कालाई प्रेम गर्न थालेछौं ।

म एक परदेशीजस्तै थिएँ । उनी स्थानीय बासिन्दा थिइन् । कसरी कसरी हामीबीच धेरै असमानता हुँदाहुँदै पनि नजिकिन पुग्यौं । यी सबै कुराबारे बताएर म अलग्गिन नखोजेको पनि हैन तर उनको मप्रतिको माया, सहानुभूति र आशक्ति यतिधेरै थियो कि हामी अघि बढिरहृयौं । मनसँगै तनहरू पनि नजिकिन थाले ।

हामी दुवैविद्यार्थी थियौं । करिअरकै दौडमा थियौं । उनी प्लस टु सकेर कलेज पढ्न थालिन् । म पनि आफ्नो कामसँगै अध्ययनलाई निरन्तरता दिइरहेँ । आजभोलि भन्दै हामी यति नजिक भइसकेछौं कि हामीले कुनै पनि हप्ता बिदा मनाएनौं । हरेक दिन भेट्न थाल्यौं । एकदिन नबिराइ ।

यो क्रम चलिरहृयो । हामीले यस्तो घनिष्ठ संगत गरेको पाँच वर्ष बितिसकेछ । यसबीचमा उनी स्नातक भइन् । लगत्तै उनको प्रस्ताव आयो- म विदेश जान चाहन्छु । ‘अब्रोड स्टडी’ का लागि ।

उनको प्रस्ताव मेरो लागि दाँतमा ढुंगा लागेजस्तै भयो । अहिले समीक्ष गर्दा लाग्छ- त्यो बेला मैले उनको प्रस्ताव नकार्न पर्ने रहेछ ।

प्रस्ताव आकस्मिक थियो । झाङ्गिँदै गरेको प्रेम, विवेक रक्षात्मक हुने नै भयो । म सोचिरहन्थेँ । उनी निर्णय गरिसक्थिन् ।

उनले आफ्नो निर्णय सुनाइन् । म मन अमिलो बनाएर मौन बसिरहेँ ।

उनी विदेश जाने, अनि म पनि जाने अरे । भन्थिन्- देशमा बसेर केही हुनेवाला छैन । बेरोजगारी समस्या बढिरहेको छ । दुवैजना विदेश जाऔं । उतै गएर बिस्तारै केही गरौंला ।

आखिर उनले मलाई मनाएरै छाडिन् ।

कृष्ण रोकिए । पुलुक्क उनीतिर आँखा दौडाएँ । रसिला आँखा बनाएका उनको अनुहारमा कालो बादलको छाया थियो ।

मैले मौनता भंग गर्दै सोधेँ – ‘अनि के भयो ?’

के हुनु सर ! उनले रङ्गिन सपनाका पोकाहरू यसरी खोल्दै गइन् कि उनको उद्देश्यमा अवरोध बन्नु हुँदैन भन्ने लाग्यो । हामी दुवैको उज्ज्वल भविष्यको सिरानी हालेर मैले उनलाई सघाउन थाले । लगभग एक वर्षको तयारीपछि उनको विदेश यात्रा निश्चितजस्तै भयो ।

अब त म पनि सपना देख्न थालिसकेको थिएँ । जब आकाशमा हवाईजहाज उडेको देख्दथेँ, लाग्थ्यो- मेरो पनि सपना त्यो जहाजसँग जोडिएको छ । हरेकपटक हवाइजहाज देख्न मन हौसिन्थ्यो । हर्षले प्रफुल्लित हुन्थ्यो । साझा सपनाको देशमा एकदिन यसरी नै पुग्नेछौं अनि खुशीले बाँच्नेछौं । सपना के के पो देख्न थालिसकेको थिएँ सर !

उनको भिजा लाग्यो । जापान जाने पक्का भयो । मैले पनि सकेको र कमाएको रकम सबै उनैको लागि लगानी गरिदिएँ । आखिर आफ्नो प्रेमिका न हो । घ्यू कहाँ पोखियो थालमा ।

आजभोलि मलाई पिउन पनि आउँछ । उनलाई भुल्नको लागि मदिरा यसरी पिउन थालेछु कि वरिपरिका छिमेकीहरु पनि चिन्तित बन्न थाले । मलाई थाहा थिएन- मदिरा पिउनु समस्याको समाधान थियो या नयाँ समस्याको सुरुआत ? तर पिउनु, एक्छिन भुल्नु फेरि पिउनु, यो क्रम मेरो नियमित दिनचर्या जस्तै बन्न थाल्यो

उनले नेपाल छाड्ने अन्तिम साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुनिर बसेर मायाले अङ्गालो हालेँ । केही समयपछि विदेश मैं रङ्गिन सपनाको साथ भेटिने बाचा गर्दै भारी मनले गेटमा बसेर बिदाइको हात हल्लाएँ । बोर्डिङ पास समाउँदै उनी बिदा भएको देखिँदासम्म हेरिरहेँ ।

राति ११ बजेको हुनपर्छ, जहाजले बिस्तार धावनमार्गमा आफ्नो रफ्तार तय गर्न थाल्यो । हेर्दाहेर्दै म बसेको घरको छत नाँघ्दै मेरो सपनासँग जोडिएको प्रियसी हावाको गतिसँगै उड्दै गइन् दूर-दूर । त्यो बेलासम्म हेरिरहेँ जबसम्म हवाइजहाज मेरो आँखाबाट ओझेल परेन ।

टाढा क्षितिजमा देखिएका दृश्य जब सबै अलप भए, अनि मेरा दृष्टिहरु जमीनतिर मोडिए । आँखाभरी आँसु यसरी भरिएछ कि मैले पत्तै पाइनँ । एकमनले सोचेँ- छोरा मान्छे भएर के रोएको ? फेरि सोचेँ, हैन, छोरा मान्छे होस् या छोरीमान्छे आखिर दुख्ने मुटुत सबैको एउटै त हो नि । दुख्ने मुटु हुनेहरूको पीडा कहिलेकाही आँसुमा अभिव्यक्त हुन्छ । त्यसले छोरा या छोरी मानिस भन्दैन ।

रातभर सोच्दासोच्दा निद्रा परेन । अबको मेरो दैनिकी उनको पुनरागम या उनको पर्खाइमा बित्न थालेको थियो । यही सोचिरहेको हुन्थेँ उनले मलाई खबर पठाउनेछिन् । हालखबर बताउनेछिन्, तर दिनहरू बित्दै गए । हप्ता महीना हुँदै वर्ष बिते । कुनै खबर या चिठ्ठी पत्र केही केही आएन ।

लाग्थ्यो- कतै बिचल्लीमा पो परिन कि ? विदेश हो भनेजस्तो हुँदैन । मेरै सम्झनाले छट्पटिएर केही भन्न खोजेर पनि भन्न नसकेको पो हुन् कि ? आफूभित्र अनेक तर्कना या मनोवाद चलिरहे ।

सोच्थे- सुखमा होस् या दुःखमा जे परेपनि सधैंसँगै हुनेछौं भन्ने कसम खाएको मेरी मायालु यसरी बेखबर कसरी हुन सक्छे ? उनी पक्कै अप्ठ्यारोमा छिन् तर बुझ्ने कसरी ? सोच्दासोच्दै यस्तो क्षणहरू आए कि मकहाँनिर आइपुगेछु भन्नेसम्म पत्तो पाउन छाडेछु ।

हो, कुनैदिन मलिलो ऊर्जा बनेर दुवैलाई हुर्काएको प्रेमले आजभोलि घरिघरि मुर्छित् बनाइ रहेको थियो । यो क्रम चल्न थालेको अब दुई वर्ष बित्न लाग्दैगर्दा एकदिन अर्कै सोच आयो । अब मैले उनलाई बिर्सन पर्छ । तर कसरी ? ऊ कुनैदिन सञ्चै त छौ नि ? भन्दै आइपुगिन् भने मैले के भन्ने ? म निकै ठूलो परिबन्धमा फसेको थिएँ ।

‘तिमी मसँग रिसाएको त छैनौ नि !’ भन्दै माफी मागिन् भने मैले के जवाफ फर्काउने ? भो जेसुकै होस् यतिन्जेलसम्म न चिठ्ठी न खबर केही नलेख्ने मानिसले मलाई बिर्सिसकेको हुनपर्छ । अब उसलाई मैले भुल्न पर्छ । मदिरा पिउँछु र बिस्तारै भुल्छु । यही निर्णयमा पुगेँ । तर मदिरा कहिल्यै नपिएको मानिसले पिउन सिक्नुपर्ने ! यो कस्तो सङ्कट थियो !

आजभोलि मलाई पिउन पनि आउँछ । उनलाई भुल्नको लागि मदिरा यसरी पिउन थालेछु कि वरिपरिका छिमेकीहरु पनि चिन्तित बन्न थाले । मलाई थाहा थिएन- मदिरा पिउनु समस्याको समाधान थियो या नयाँ समस्याको सुरुआत ? तर पिउनु, एक्छिन भुल्नु फेरि पिउनु, यो क्रम मेरो नियमित दिनचर्या जस्तै बन्न थाल्यो ।

यही निरन्तरताको तीन वर्ष हाराहारी पुग्दै गर्दा अकस्मात एकदिन गाउँकै छिमेकी भाइ रोशनसँग भेट हुन पुग्यो । जो लामो समयदेखि जापान छन् । आज अकस्मात उनीसँग छुट्टीएपछि शायद पहिलोपटक मलाई यो हुलियामा देखेर उनी अचम्ममा परिरहेका थिए । होस् मा या बेहोस्मा मैले आफ्नो कुरा भनेर तस्वीरसमेत देखाउन भ्याइ सकेको हुन्छु ।

उनी दङ्दास पर्दै आश्चर्यचकित मोडमा भन्छन्-‘यो दिदीलाई म चिन्छु । म बस्ने अपार्टमेन्टको छेउनिर सुरुबाट नै बुढाबुढी भएर दुईजना बस्छन् । यो दिदी तपाईंको प्रेमिका हो भने तपाईंले धोका पाइसक्नु भएकोछ दाइ ।’

एक श्वासमा रोशनले भनिदियो वर्षौंदेखि प्रतीक्षा गरेको खबर । उनको कुरा सुनेर मलाई मदिराले पनि छाड्यो ।

सबै आकाश खसेर किचेजस्तो लाग्यो । आफूले टेकेको जमीन नै भास्सिएजस्तो लाग्यो । संसारबाट सारासारा एकैचोटी सकिए जस्तै ।

मान्नुस् कि एक्छिनको लागि सबै रक्तसन्चार बन्द भएको छ ।

केही समयसँगै बसेर सपनाको संसार बनाउने सपना देखाएर हिंडेको मेरो दिलको रानीबारे यतिका वर्षपछि बल्ल एउटा खबर मिल्यो । यस्तो खबर- आहा क्या छ जिन्दगी ? क्या छ प्रेम पनि ?

उनको लागि भनेर मैले के गरिनँ । सबथोक गरेँ सर । जति गरेँ, उनी मेरै हुन् भनेर गरेँ । अपसोच यस्तो मोड आइदियो कि रोशन भाइको त्यो एउटा खबरले सारा जिन्दगी नर्कमा फसेको अनुभूति भयो ।

पापिनी रहिछे सर । साह्रै माया गरेँ । उनले पनि मायाको खेल खेलिन् र लागिन् आफ्नै बाटो । मलाई कहिले पनि उठ्न नसक्नेगरी मार हानेर गइन्, सत्यनास बनाएर ! तर मैले माया गर्थें साँच्चिकै माया !

उसको चेहराबाट सबै चमक हरायो । यस्तो लाग्थ्यो कि उसले त्यो खबर भर्खरै सुनिरहेको छ । करुणामय स्वरमा ऊ आफ्नो व्यथा पोखिरहेको थियो । कामेको स्वरमा उसले कथा भनिरहेको थियो ।

प्रेमले दिएको पीडा रक्सीको नशाभन्दा कडा हुनेरहेछ । उनलाई रक्सीभन्दा बढी प्रेम लागिरहेको थियो । धोकाले चिथोरिरहेको थियो।

यतिबेला उनी दुवै हातका औंला बेस्सरी मुठ्ठी पार्छन् । जोडले सबै औंला पड्काउँछन् । जोर मुठ्ठीले पलङमा हान्छन् । अनि अगाडि थप्दै जान्छन् । म सुन्दै जान्छु । एकाग्र भएर । ताकि यो कृष्णको कथा होइन, मेरो हो ।

तपाईं आफैँ सोच्नुस् त सर, कसरी पार लगाएँ होला त्यो समय ? उनले जे सही ठानिन्, त्यही गरिन् । तर, मेरो त कुनै स्वार्थ थिएन उनलाई माया गर्नुमा । एक मनले सोचेँ- भाग्यमा रहेनछ, समयले झुक्यायो । अनि छुट्याइदियो । अर्को मनले सोचेँ- हामीमा जातीय विभेदको पर्खाल पनि थियो । किन्तु मायालाई केही कुराले बार लगाउँदैन भन्ने कुरामा हामी दुवै सारै प्रष्ट पनि त थियौं । आज हेर्नुस् त यति निर्मम बनिदियो समय ।

कमसेकम गुनासो गर्ने बाटोसम्म दिएन, तर माया त गर्छु नि । यति कठोर कसरी हुन सकेको ? कमसेकम उनीप्रति मैले गरेको निस्वार्थ प्रेमबारे सिर्फ एकपटक त सोचिदिए हुन्थ्यो नि ! भैगो अब उनी खुशी भए मलाई केही पर्दैन । अनि त्यही समय बरु म अब आफैं जापान जानेछु भनेर सङ्कल्प गरेँ ।

कृष्णले नजिकै राखेको कोक तानेर स्वाट्ट पिए । डकार निकाल्दै मौन बसे । मलाई जान्न मन लाग्यो- तपाईं रक्सी पिउनुहुन्न आजकल ?

‘मैले छोडेँ सर । यसले कसैलाई फाइदा गर्दैन । सधैं पागल जसरी पिएर नै पनित जीवन चल्दैन रहेछ । मलाई आजकाल यो मदिराप्रति त्यति नै घृणा छ, जतिघृणा मलाई अलपत्र पारेर जानेलाई गर्छु ।’

उनी डल्लो परेर बसेको ठाउँबाट उठ्छन् । ज्यान कर्‍याककुरुक तन्काउँछन् । अनि कुरालाई निरन्तरता दिँदै जान्छन् ।

खै सर म पनि त्यो सपनाको देश पुगेर भेटेर बधाई नै दिऊँ भन्ने लागेको थियो । तर, त्यसो हुन पनि सकेन । मैले पनि अनेक दुःख गरेर उनीसँग एकपटक त भेट गर्छु भन्ने सोचेको थिएँ। तर खै अब सम्भव हुँदैन होला । भावनामा बगेर जिन्दगी बर्बाद पनि त पार्न भएन ! अलि आशावादी मुहारमा उनी प्रस्तुत हुन्छन्, यो हो मेरो कथा यसरी समय लगाएर म यहाँसम्म आइपुगेँ सर !

कुरा सकेजस्तो लागेर सोधिहालें-‘अनि भेट्न जानुहुन्छ त तपाईंको प्रियसीलाई ?’

‘हैन सर, अब ऊ पराइ भइसकिन्, मलाई बिर्सिसक्यो । उसलाई मेरो के मतलब ? कसैको कुभलो चिताउँदिन सर । उसको राम्रो होस् ।’

कृष्णले अगाडि थपे, ‘आजकल बाँच्नको लागि हिम्मत जुटाइरहेछु । धेरै समय उनको लागि सोचेर बिताएँ । अब म आफ्नै लागि बाँच्नुपर्छ । अब जापान आइपुगेको छु, आजकल म यत्तिकै ठीक छु । मेरो जीवनमा भोलि कोही प्रवेश गरिहाले पनि मेरो विगतको कथाले उसलाई नपिरलोस् । म यसैको लागि प्रयासरत हुनेछु । बाँकी जीवन म असक्तहरुको सेवामा बिताउनेछु ।’

म केही बोल्न सकिनँ । उसले पनि व्यथा पोखिसक्यो सायद । केहीबेर हामी दुवै मौन रहृयौं ।

‘अनि अब त पढ्नु पनि पर्‍यो, काम पनि गर्नुपर्‍यो । जापान कस्तो लाग्दैछ त ?’ परिस्थितिलाई सामान्यीकरण गर्न खोजेँ । थकाइले ऊ निदाइसकेको रहेछ ।

यहाँ जापानमा अनावश्यक सोच्न पनि फुर्सद हुँदैन । झिसमिसेमै काममा निस्कनु त छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment