Comments Add Comment

बजेटका विषयमा मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायबीच हात हालाहाल

२७ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायको वृत्तिविकास, सीपमूलक पेशा व्यवसाय प्रवर्द्धनका लागि छुट्याएको बजेटमा विवाद भएको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि वादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएपछि वादी उत्थान विकास समिति दुई समूहमा विभाजित भएको छ ।

दुवै समूहले आफूहरु आधिकारिक भएको दावी गरेपछि आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दुई समूहबीच हात हालाहाल भएको थियो ।

प्रदेश सरकारले छुट्याएको तीन करोड रकम दुरुपयोग हुने आशंका बढेको भन्दै वादी उत्थान विकास समिति सुदूरपश्चिमकी अध्यक्ष रमादेवी बादीको समूहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आइतबार ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा सरकारले बजेट छुट्याएपछि वादी समुदायभित्र गिद्धेदृष्टि राख्ने व्यक्तिको सम्बन्धित मन्त्रालयमा चहलपहल बढेको, गत वर्ष १० लाख रुपैयाँ निकासा गरेर मनोमानी भएकाले अहिलेको रकम पनि हिनामीना हुने आशंका बढेको उल्लेख छ ।

रमादेवी बादीको समूहले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहेका बेला गेट बाहिर जम्मा भएको मिठ्ठुदेवी वादीको समूहबीच विवाद हुँदा आइतबार नै हात हालाहालको स्थिती सिर्जना भएको थियो । सो क्रममा प्रहरीले उनीहरुलाई तितरवितर गरेको थियो ।

रमादेवीको समूहले प्रदेश सरकारले छुट्याएको वजेट हिनामिना हुने बताइरहेका बेला मिठ्ठुको समूहले भने वादी समुदायको नाममा मनोमानी गरेको भन्दै विरोध जनाएका छन् ।

‘रमादेवी वादीले हाम्रा दिदीबहिनीलाई कमाइखाने भाँडो बनाएकी रहेछिन्,’ मिठ्ठुदेवीले भनिन्, ‘हाम्रा लागि छुट्याएको बजेट हिनामिना गर्ने काम गरियो । सरकारले दिएको बजेट आफैं खाने । अहिले पनि सरकारले दिएको बजेटमा फेरि पोल्टो थाप्न आउने ।’

उनले आफू वादी अधिकार संघर्ष समिति सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्ष भएको दाबी गरेकी छन् ।

रमादेवीको समूहले भने मिठ्ठुदेवीको समूहले प्रदेश सरकारबाट चालु वर्षमा १० लाख रुपैयाँ बुझेर आफूखुसी वितरण गरेको आरोप लगाएको छ ।

‘वादी समूहका नाममा राजनीति गर्ने काम भइरहेको छ,’ रमादेवीले अनलाइनखबरसँग भनिन्, ‘१० लाख रुपैयाँमा मनपरी गरेकाले अहिले छुट्याएको तीन करोड पनि कब्जा गर्ने मनसाय सक्रियता बढाएका छन् तर हामी दुरुपयोग हुन दिन्नौँ ।’

उनले उक्त समूहले आफूहरु देहव्यापार गरेर सरकारलाई पाल्न तयार भएको लाजमर्दो कुरा गरेर वादी समूदायकै अपमान गरेको तर प्रदेश आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले भेगीय आधारमा उनीहरुलाई बजेट निकासा दिँदै गलत काम गरेको आरोप समेत लगाइन् ।

अहिलेको बजेट समिति मार्फत नभएर सम्बन्धित पालिका वा वडाबाट कार्यान्वयन गर्नुपर्ने माग उनको छ । तर सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायको उत्थानका लागि विनियोजन गरेको बजेट कानून बमोजिम कार्यान्वयन हुने जनाएको छ ।

प्रहरीको रोहवरमा दुवै समूहबीच मिलापत्र

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि हात हालाहालको अवस्थामा पुगेका उमादेवी र मिठ्ठु वादीको समूहबीच प्रहरीको रहोबरमा मिलापत्र भएको छ । विवादपछि वडा प्रहरी कार्यालय धनगढीमा दुवै पक्षबीच आगामी दिनमा बजेटको विषयलाई लिएर विवाद नगर्ने सहमती भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनीहरुलाई सहमति गराएर पठाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment