Comments Add Comment

बीपी उद्यानको जग्गामा कंक्रिट संरचना बनाइएको भन्दै विरोध

वीरगञ्जमा बनाउने भनिएको बीपी पार्कको स्केच

२८ असार, वीरगञ्ज । वीरगञ्जको घण्टाघर चोक नजिकै बीपी उद्यानको नाममा १० बिघा जग्गा छ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा पार्क, खुल्ला मञ्च, पार्किङ स्थल बनाउने लगायतको योजनासहित डिपिआर तयार गरिएको छ ।

शहरी विकास मन्त्रालयसँगको सहकार्यमा तयार पारिएको डिपिआर अनुसार नै शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाइरहेको छ । असार मसान्तमा हतार हतार ढलान गराउँदा काम गुणस्तरीय नहुने एकातिर चिन्ता छ भने अर्कोतिर वीपी उद्यानको जग्गामा कंक्रिट संरचना बनाउनै नहुने भन्दै विरोध भइरहेको छ ।

३ करोड २० लाखको ठेक्कामा काम भइरहेको छ । तर कार्यस्थलमा निर्माण कम्पनीले कामको बारेमा जानकारी दिने एउटा बोर्ड समेत लगएको छैन । वर्षायाममा काम गर्नुपर्दा कठिनाइसँगै काममा ढिलाइसमेत भइरहेको निर्माणमा खटिएका मजदुरको भनाइ छ ।

पार्क (उद्यान) बनाउने शर्तमा तत्कालीन नेपाल यातायात संस्थानसँग वि.स. २०६० सालमा तत्कालीन वीरगञ्ज नगरपालिकाले १० करोड रुपैयाँमा १० बिघा जग्गा खरिद गरेको थियो । यातायात संस्थानको नाममा रहेको कित्ता नं. ११४, १४५, १४६, १, ३५, २२ र २९ नम्बरको जग्गा खरिद गरेको हो । नेपाल सरकार मन्त्रिपरिषदको बैठकको ०६० कात्तिक २७ गतेको बैठकले उक्त जग्गा बेचबिखन हक हस्तान्तरण गर्न नपाउने बीपी उद्यान बाहेक अन्य कुनैपनि प्रायोजनमा प्रयोग गर्न नपाइने निर्णय गरेको छ । जग्गाको लालपूर्जामा मन्त्रिपरिषदको निर्णयको बारेमा उल्लेख छ ।

बीपी उद्यानको जग्गामा बगैचा बनाउनुको साटो पार्किङका लागि पक्की ढलान गर्नु गलत भएको भन्दै नागरिकस्तरबाट चर्को विरोध भइरहेको छ । वीरगञ्जका पूर्वनगरप्रमुख स्व. गोपाल गिरीका छोरा गिरिश गिरी पार्कमा छड सहितको पक्की ढलान बनाउनुको औचित्य नभएको बताउँछन् ।

‘लालपूर्जामा बीपी उद्यान बाहेक अन्य प्रायोजनमा उपयोग गर्न नपाइने’ भनेर उल्लेख छ, त त्यहाँ कंक्रिट संरचना बनिरहेको छ,’ उनले भने, ‘पार्क भनेको हराभरा हुनुपर्छ, जमिनले पानी सोस्न पाउनुपर्छ, बरु घाँस उम्रन दिएको भए हुन्थ्यो ।’

पूर्व नगरप्रमुख बुवा गोपाल गिरी र वीरगञ्जबासीको सपनालाई ध्वस्त पार्ने काम भइरहेको उनको भनाइ छ । ‘बीपी उद्यानको जग्गामा बगैंचा नै बन्नुपर्छ, अरु संरचना बनाइन्छ भने पार्कको अर्थ हुँदैन,’ उनले भने, ‘व्यक्तिगत जमिनमा समेत कंक्रिटको संरचना कम बनाउन अवाज उठिरहेको छ, सार्वजनिक सम्पत्तिमा कंक्रिट ढलान गरेर माटोले पानी सोस्न समेत नमिल्ने अवस्था बनाउनु ठीक होइन ।’

वीरगञ्जस्थित शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख प्रदीप सिंह गुरुयोजना अनुसार नै काम अघि बढाइएको बताउँछन् । ‘बहुवषिर्य योजना हो, महानगरपालिकासँगको सहकार्यमा गुरुयोजना अनुसार नै काम अघि बढाएका छौं,’ उनले भने, ‘बजेट कम आएकाले पार्किङ क्षेत्रको काम पहिला गरेका हौं ।’

गुरुयोजना अनुसार तयार पारिएको नक्सामा चार खण्ड छुट्याइएको छ । घण्टाघर छेउतर्फ सःशुल्क पार्किङ क्षेत्र छुट्याइएको छ । जहाँ बस, साना गाडी, मोटरसाइकल र इरिक्सा पार्किङ गर्न ठाउँ निर्माण हुन्छ । अहिले विरोध भइरहेको कंक्रिट ढलानको संरचना त्यही हो ।

दोस्रो खण्डमा ‘खुल्ला बहुउद्देश्यीय क्षेत्र’ हुने गरी नक्सा बनाइएको छ । जहाँ स्टेजसहितको खुल्ला मञ्च बनाउने गरी नक्सा कोरिएको छ ।

तेस्रो खण्डमा शहीद स्मृति पार्क छ । जहाँ फाउन्टेन, शहीद पार्क, पोखरी, चिल्ड्रेन पार्क मात्रै नभएर एक्सरसाइज गर्ने खुल्ला चौर छोड्ने गरी ठाउँ राखिएको छ ।

चौथो खण्डमा २ हजार जना मानिस अट्ने सिटी हलको परिकल्पना गरिएको छ ।

पार्कको नाममा राजनीति

नगर प्रमुख माधवलाल श्रेष्ठको पालामा जग्गा खरिद गर्ने निर्णय भएको थियो । त्यसका लागि उनको कार्यकालमा ५ करोड र बिमल श्रीवास्तव नगर प्रमुख हुँदा ५ करोड भुक्तानी गरिएको थियो । स्व. गिरी नगर प्रमुख हुँदा लालपूर्जा मिलेको थियो ।

२०६० सालमै तत्कालीन नगर प्रमुख गिरीले उक्त जग्गामा बीपी उद्यानको बोर्ड लगाएका थिए । तर काम अघि बढ्न सकेको थिएन । बरु उक्त जग्गामा मिना बजार तरकारी व्यापारीलाई ल्याएर अस्थायी रुपमा राखिएको थियो । खुद्रा जुत्ता, कपडा, ब्याग, घडीको टोपीहरु बेच्ने ‘हङकङ’ बजार लगाइएको थियो । यी दुवै बजारसँगै खाजा नास्ताका स-साना पसलहरु समेत महानगरले पटक पटकको प्रयासमा हटाइसकेको छ । तरकारीको थोक कारोबार भने अझै पनि बीपी उद्यानको जमिनमा हुँदै आएको छ ।

२०७५ माघ १७ गते मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पार्कको शिलान्याश गरेका थिए । त्यसका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

तर शिलान्याश गरेको साढे दुई वर्ष बित्न लाग्दा शहीद पार्कको न त अहिले कुनै चर्चा छ, न कुनै नामो निशाना नै । प्रदेश सरकारले समन्वय नै नगरी महानगरको जग्गामा शहीद पार्क बनाउन खोजेको भन्दै नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिएनन् ।

यो पनि पढ्नुहोस वीरगञ्जमा प्रदेश सरकारद्वारा शहीद पार्कको शिलान्यास

वीरगञ्ज महानगरले घण्टाघरको छेउमा मधेश आन्दोलनका शहीदको प्रतिमा सहितको पार्क बनाइसकेको छ । मधेश आन्दोलनपछि बीपी उद्यानको नाम नै ‘मधेशी शहीद पार्क’ राख्नुपर्ने माग कतिपयले राख्दै आएका छन् । नेपाली कांग्रेसले पनि बीपी उद्यानको जग्गामा ‘मधेशी शहीद पार्क’ शिलान्यास गर्नु गलत भएको भन्दै विरोध जनाएको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्जमा शहीद पार्क बनाउन लागेकामा कांग्रेसको विरोध

नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले वीरगञ्ज महानगरपालिकाको कमजोरीका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको बताए । महानगरपालिकाले बीपी उद्यानको जग्गामा हुने कामहरुको बारेमा नगरबासीलाई बुझाउन नसकेको उनको भनाइ छ ।

‘नेपालको पहिलो रेल्वेको जमिन हो, मौलिक विशेषता झल्कने गरी पार्क बनाउँदा राम्रो हुन्थ्यो, गुरुयोजना तयार गर्दा महानगरले सरोकारवालासँग सल्लाह गर्नु उचित नै ठानेन ।’ उनले भने, ‘नक्सा तयार भएपछि पनि डिजाइनमा के-के छ भन्ने जानकारी गराइएन, पार्कको काम पहिला शुरु गर्नुपर्नेमा पार्किङको काम शुरु गरिएको छ । त्यसैले विरोध भएको हो ।’ पूरै बीपी उद्यानको जमिनमा कंक्रिटको संरचना नबन्ने भएकाले विरोधका लागि विरोध गर्नुको औचित्य नभएको उनको तर्क छ ।

भ्रममा नपर्न नगर प्रमुखको आग्रह

वीरगञ्ज महानगरपालिका प्रमुख सरावगीले भने वास्तविकता नबुझी विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । १० बिघा जमिनमा पार्कसहित विभिन्न संरचना बन्ने बताउँदै उनले कंक्रिटको संरचना मात्रै बन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

आफ्नै कार्यकक्षमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गुरुयोजना अनुसार नै काम भइरहेको बताए । ‘पार्क मात्रै बनाएर सञ्चालन गरेर हुँदैन, पार्कमा आउने मानिसहरुका लागि शौचालय बनाउनुपर्छ, सवारी साधन पार्किङको व्यवस्था गर्नुपर्छ । पार्कमा पोखरी, खुलामञ्च बनाउन पाइँदैन भन्नु गलत हो’ उनले भने, ‘मन्त्रालयले एकैपटक बजेटको सुनिश्चितता गर्न सकेको छैन, ४ करोड बजेट आएकाले पहिला पर्खाल लगाउने र पार्किङको काम गरिएको छ । त्यो पनि महानगरले होइन, शहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत हो ।’

माइधिया पोखरीमा आकाशे पुल सहित सौन्दर्यीकरण गर्न २५ करोड र बीपी उद्यान पार्कमा ३५ करोड लागत लाग्ने गुरुयोजना तयार गरिएको थियो । चार करोड बजेट आएकोमा तीन करोड २० लाखमा बीपी उद्यानमा पर्खाल लगाउने र पार्किङ स्थल बनाउने काम भइरहेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि शहरी विकास मन्त्रालयले दुवै योजनाका लागि दुई करोड मात्रै बजेट छुट्याएको नगर प्रमुख सरावगीले जानकारी दिए ।

हाल लालबंगला भएको जग्गामा शहरी विकास मन्त्रालयले ६५ करोड रुपैयाँको लागतमा दुई हजार मानिस अट्न सक्ने सभागृह बन्ने उनको भनाइ छ । त्यो जमिन दुई बिघा जति छ । त्यसबाहेकको जमिनमा पार्क सहितका संरचना बन्ने नगर प्रमुख सरावगीको भनाइ छ । डेढ बिघामा जमिनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ ।

‘पार्किङस्थल तीन कठ्ठामा मात्रै हुने हो, बाँकी ठाउँमा खुल्ला मञ्च र पार्क नै बन्छ । कम संरचना बनाएर बढी खुल्ला ठाउँ छोड्ने गरी नक्सा तयार गरिएको छ । पार्कको डिजाइन सहितको होर्डिङ बोर्ड तीन वर्ष पहिले नै निर्माणस्थलमा राखिएको थियो, के-के बन्छ त्यो सबैको पूर्ण विवरण त्यसैमा थियो,’ उनले भने, ‘तर अहिले आएर नगरबासीलाई भ्रमित पार्न विरोध हुनु षडयन्त्र र नियोजित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment