Comments Add Comment

फैसलाको विरोध र ओलीको समर्थनमा तातेको सडक

२८ असार, काठमाडौं । भारतीय युवा गजलकार शकील आज्मीको एउटा चर्चित शेरले भन्छ– ‘तमाशा गर्दागर्दा म आफैं तमाशा बन्न पुगेँ ।’

केपी ओलीको समर्थनमा पाँच वर्षदेखि सडक तताउने युवाहरू सोमबार आफैं तमाशा बन्न पुगेको देखिन्थ्यो । सर्वोच्च अदालतको फैसलालाई मात्र होइन न्यायाधीशहरूलाई ‘विदेशी दलाल’ करार गर्दै उनीहरूले प्रधानन्यायाधीशको पुत्ला जलाए ।

आइतबार साँझ नै शान्तिनगरमा केपी ओलीको पक्षमा शक्ति–प्रदर्शन गरेका युवा संघ नेपालका नेता–कार्यकर्ता सोमबारको फैसलापछि सडक तताउन तम्तयार थिए । बिहानैदेखि राजधानीका मुख्य चोकमा जम्मा भएर फैसला कुरिरहेका उनीहरू एक बजेदेखि साँझसम्म सडकमै थिए ।

युवा संघका एक नेताले अनलाइनखबरलाई बताएअनुसार आइतबारदेखि नै सडक तताउने योजना बनिसकेको थियो । विशेष गरेर युवा संघ र अनेरास्ववियुका युवालाई उपत्यकामा तयारी अवस्था राख्ने पूर्वयोजना बनाई सोमबारको प्रदर्शन गरिएको हो । कतिसम्म भने मोटरसाइकल र्‍यालीका लागि नाम टिप्न फोनसमेत अघिल्लो दिन नै आइसकेको थियो ।

सोमबार दिउँसो १ बजेपछि सर्वोच्च अदालतले परमादेश जारी गरेको आधा घण्टामै माइतीघर मण्डलामा युवा संघको स्टेज फिट गरिएको मिनीट्रक आइसकेको थियो । दुई बज्दा नबज्दै युवा संघका नेता कार्यकर्ता भेला भएर फैसालविरुद्ध नाराबाजी सुरु गरे ।

नाराबाजी चलेको आधा घण्टापछि युवा संघका कमाण्डर मानिने महेश बस्नेत आइपुगे । अन्यबेला निकै खरो देखिने बस्नेतले सोमबार माइतीघरमा भने बोली तौलेर विपक्षीमाथि प्रहार गरे ।

ट्रकमाथि चढेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खुल्ला चुनौती दिँदै बस्नेतले भने, ‘चोलेन्द्रशमशेरज्यू नेता बन्नु छ भने एमालेमा आउनू, एमालेलाई हराउनु छ भने कांग्रेस प्रवेश गर्नुस् । नयाँ दल गठन गरेर आउने कुरा तपाईंका बाउबाजेले नसकेको हुँदा तपाईंले सक्नुहुन्न ।’

उनले देउवालाई प्रधानमन्त्री बनाउने र ६ महीनापछि आफैं दोस्रो खिलराज रेग्मी बन्ने दाउमा चोलेन्द्रशमशेर रहेको आरोप लगाउँदै मुलुक द्वन्द्वमा प्रवेश गरेको बताए ।

बस्नेत सम्बोधन गरेर बाहिरिएसँगै त्रिपुरेश्वरतर्फबाट दुई दर्जन मोटरसाइकलमा युवाहरू माइतीघर आइपुगे । माइतीघरमा रहेको टोली भने अदालत अगाडि नै विरोध गर्ने भनेर काठमाडौं जिल्ला अदालत बबरमहल पुग्यो । त्यहाँ प्रहरीले अघि बढ्न नदिएपछि टोली माइतीघर नै फर्किएर अदालतविरुद्ध नाराबाजी गरिरह्यो ।

‘आईएम विथ केपी ओली’, ‘विदेशी दलाल होशियार’ भन्ने नारा लगाएका उनीहरूले ‘केपी ओली जिन्दावाद’ लेखेको कपडा निधारमा बाँधेका थिए । माइतीघरमा राखिएको मिनी ट्रकमा ठूलो आकारको केपी ओलीको स्टिकर उभ्याइएको थियो । भाषण गर्नेहरू ओलीकै स्टिकरअगाडि उभिएर बोलेका थिए ।

ओली समर्थित युवाहरूको प्रदर्शन हेर्दा सबैकुरा पूर्वतयारीमा गरेको भान हुन्थ्यो । यसरी आइतबार र सोमबार करिब एक सय युवा आफ्नो सम्पूर्ण उर्जा सरकारको बचाउमा तमाशा बन्न तयार भए ।

माइतीघरमा रहेका युवाहरूको भीडलाई आफू तमाशा बनेको थाहा नभएको पनि होइन । उनीहरूलाई यसरी कराएर केही नहुने कुरा राम्रैसँग ज्ञान थियो । यद्यपि संगठनमा राजनीति गर्ने बाटो खुल्ने मौका ठानेर केपी ओलीको समर्थनमा आफ्नो कार्यालय छुट्टि लिएरै ती युवाहरू सडकमा आएका थिए ।

दिउँसो चार बजे आसपास काठमाडौंमा आधा घण्टाजति ठूलो पानी पर्‍यो । त्यसबेला ओली समर्थित युवा थप प्रदर्शनको तयारी जुटे । पानी रोकिएसँगै साँढे पाँच बजे नयाँ बानेश्वरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला जलाए । यता काभ्रेको बनेपा तथा देशका अन्य सहरमा पनि युवाहरूले पुत्ला जलाए ।

यतिमामात्र उनीहरू रोकिएनन्, साँझ अनेरास्ववियुको मुख्यालय रहेको बागबजार र आरआर, नेपाल ल, त्रिवि केन्द्रीय क्याम्पसजस्ता मुख्य सरकारी क्याम्पस रहेका स्थानमा थप प्रदर्शनको योजनाका लागि भेला भए ।

यता कांग्रेस समर्थित नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले माइतीघरलगायत देशका मुख्य सहरमा सर्वोच्चको फैसलाको स्वागतमा दीप प्रज्जवलन गर्‍यो । राजधानीका सडकमा तैनाथ प्रहरी बलको सर्तकताले दुई समूहको मुठभेट भने हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

ट्रेन्डिङ

Advertisment