Comments Add Comment

मन्त्री चयनका लागि देउवा परामर्शमा

देउवा निकट स्रोत भन्छ– सकेसम्म आजै अर्थ र स्वास्थ्यमन्त्री नियुक्तिको तयारी छ

२९ असार, काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।

मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहानै महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवासमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।

कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भए पनि नामको टुंगो लागिसकेको छैन । ‘कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भइरहेको छ, तर नाममा टुंगो लागिसकेको छैन,’ बुढानीलकण्ठ स्रोतले भन्यो, ‘सकेसम्म आज अर्थ र स्वास्थ्यमन्त्रीको सपथ गराउने तयारी हो ।’

देउवा निवासमा बुढानीलकण्ठमा भेला भएका संस्थापन पक्षका नेताहरुले मन्त्री छनोटमा सतर्कता अपनाउन सुझाव दिएका छन् । स्रोतका अनुसार आज नै संस्थापन पक्षबाट बालकृष्ण खाँणलाई मन्त्री नियुक्त गर्ने सम्भावना छ ।

आगामी १४ औं महाधिवेशनलाई हेरेर देउवाले अन्य नेतालाई पनि मन्त्री बनाउने सम्भावना छ । कांग्रेस नेताहरुले स्वास्थ्य मन्त्रीमा गगन थापालाई दोहोर्याउन सुझाव दिएका छन् ।

कोरोना महामारीको समयमा अघिल्लो सरकारको भन्दा देखिने गरी काम गर्नुपर्ने चुनौती र यसअघि स्वास्थ्य मन्त्री भइसकेकाले बुझाइ पनि स्पष्टता रहेको भन्दै कांग्रेस नेताहरुले थापालाई स्वास्थ्यमन्त्री बनाउँदा उपयुक्त हुने सुझाव दिएका थिए । यद्यपि यो सुझावमा
देउवाले केही प्रतिक्रिया दिएका छैनन् ।

कांग्रेस नेताहरुले आजै माओवादी केन्द्र र जसपालाई पनि समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउन सुुझाव दिएका छन् । सरकारमा पठाउने मन्त्री चयनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ भने जसपाले दिउँसो एक बजे उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरुको बैठक बोलाएको छ । राष्ट्रिय जनमोर्चा भने आजै सरकारमा जाने सम्भावना कम छ ।

सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment