Comments Add Comment

भुटानले पायो सबै नागरिकलाई पुग्ने कोरोना खोप

२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो ।

भुटानमा खोपका लागि योग्य करिब पाँच लाख ५० हजार मानिसहरु छन् । यसअघि भारतले अनुदानमा दिएको खोप लगाएका भुटानका मानिसहरुले युरोपेली संघ (ईयू)बाट पाएको एस्ट्राजेनेकाको खोपको दोस्रो डोज लगाइरहेका छन् । भुटान सरकारले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री शेरिङलाई उद्धृत गर्दै भनिएको छ, ‘यस्तै प्रतिबद्धता अन्य मुलुकबाट पनि आइरहेको छ । भुटानले उनीहरुलाई अब खोप पर्याप्त रहेको सूचित गरेको छ । यद्यपि उनीहरुलाई भविष्यमा आवश्यक पर्न सक्ने बुस्टर डोजको लागि भने उनीहरुलाई आग्रह गरिएको छ ।’

भुटानले आफूहरुलाई कोरोना खोपको लागि सहयोग गर्ने अमेरिका, युरोपेली संघ, भारत र चीनलाई धन्यवाद दिएको छ । भुटानले भारतले कोरोना खोप निर्यातमा रोक लगाएसँगै आफ्ना नागरिकहरुलाई समयमा नै दोस्रो डोज दिलाउन विभिन्न १७ मुलुकसँग आग्रह गरेको थियो ।

भुटानलाई अमेरिकाले मोडेर्नाको पाँच लाख डोज खोप दिएको थियो भने डेनमार्क, क्रोएसिया र बुल्गेरियाले एस्ट्राजेनेकाको तीन लाख ५० हजार डोज र चीनले सिनोफार्मको ५० हजार डोज कोरोना खोप अनुदानमा दिएका थिए । भुटानले आफैंले खरिद गरेको २ लाख डोज फाइजरको खोप भने अबको केही महिनामा आइपुग्ने अनुमान छ ।

यसअघि भारतले भुटानलाई पाँच लाख ५० हजार डोज कोरोना खोप अनुदानमा दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment