Comments Add Comment

देउवाको भाग्यमा १९ वर्ष अघिको ज्योतिषीय योग !

फाइल तस्वीर

२९ असार, काठमाडौं । सर्वोच्च अदालतको सोमबार प्रतिनिधिसभा पुनर्स्थापनासँगै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि धेरैले ज्योतिषी एवं वास्तुविद् सुरेशचन्द्र रिजाललाई सम्झिए ।

रिजाल तिनै हुन्, जसले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले ३० कात्तिक २०७४ मा भनेका थिए, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई ।’

२०७४ को चुनावमा वाम गठबन्धनले बहुमत ल्यायो, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो, देउवाको अभिव्यक्ति ठट्टाको विषयमा सीमित भयो ।

तर ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएसँगै फेरि प्रधानमन्त्रीमा देउवाको चर्चा शुरु भयो । दुई खेमामा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल प्रधानमन्त्री अफर गर्दै देउवा निवास बुढानीलकण्ठ पुगे । २३ फागुनमा नेकपाको एकता भंग भयो, माओवादी केन्द्रले फेरि देउवालाई प्रधानमन्त्री अफर गर्‍यो । तर देउवा तयार भएनन् ।

ज्योतिषी रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।

ज्योतिषी सुरेशचन्द्र रिजालले फागुनमा भनेका थिए, चार महिना देउवा प्रधानमन्त्री बन्ने योग छैन । नभन्दै चार महिना कटेपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।

देउवाबारे भविष्यवाणी गर्ने ज्योतिषी प्युठानका हुन् । देउवा जुनसुकै विशेष कार्य गर्दा रिजालसँग मुहूर्त हेराउँछन् । आफूलाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि देउवाले पुर्ख्यौली घर प्युठान गएर बसेका रिजाललाई रातारात काठमाडौं बोलाए । देउवा बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न मंगलबार काठमाडौं आए ।

मंगलबार हुने सपथग्रहणको आधारमा बालुवाटार सर्ने मुहूर्त जुराउने तयारी गरेको रिजाल बताउँछन् । उनी यो पटक देउवाको प्रधानमन्त्री कार्यकाल सुखद रहने दाबी गर्छन् ।

देउवाको सत्तारोहणको तिथि कति शुभ ?

सर्वोच्चले सोमबार देउवालाई २९ गते साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दियो । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समय सकिन एक घण्टा बाँकी रहँदा मात्र देउवालाई प्रधानमन्त्री नियुक्त गरिन् ।

रिजालका अनुसार संयोग मान्नुपर्छ, देउवाको सत्तारोहणका लागि मंगलबार ज्योतिषीय हिसाबले अत्यन्त शुभ दिन हो । मंगलबार असारशुक्ल पक्षको चौथी अर्थात् मंगल चौथी तिथि हो । यस दिन गरिएको सत्तारोहणले देउवालाई एउटा शक्तिशाली प्रधानमन्त्रीको रुपमा स्थापित गर्ने ज्योतिषी रिजालको दाबी छ । मंगल चौथीलाई ज्योतिष भाषामा पवित्र दिनको रुपमा मान्ने गरिन्छ ।

रिजालका अनुसार देउवालाई सपथका लागि अपरान्ह ३ बजेर ३७ मिनेटदेखि ५ बजेर १७ मिनेटसम्मकोे समय उत्तम थियो । तर त्यो समय घर्किसकेपछि मात्र देउवाको सपथ भएको छ । मंगलबार दिनभर अशुभ भने नरहेको रिजाल बताउँछन् ।

रिजालका अनुसार अर्को संयोग छ, देउवाको सपथ ग्रहण छत्रभंग योग हटेको पर्सिपल्ट भएको छ । ज्योतिषीय मान्यता अनुसार असार २६ गतेसम्म कायम रहेको छत्रभंग योगको समयमा गठबन्धन एवं सामूहिक रुपमा हुने कामले सही परिणाम दिन सक्दैन भन्ने मान्यता राखिन्छ । गत कात्तिक १ गतेदेखि शुरु भएको यो योग चैत १ गतेदेखि झनै शक्तिशाली भएर आएको थियो ।

देउवाको भाग्यमा १९ वर्ष अघिको ज्योतिषीय योग

यस वर्ष तीनवटा दशैं परेको छ । २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो साल तीनवटा दशैं पर्छ ।

तीनवटा दशैं एकै साल भएको बेलामा देउवाको भाग्यरेखा राज योगमा पर्ने ज्योतिषी रिजाल बताउँछन् ।

१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनु परे पनि देउवा चर्चा र शक्तिमै रहेको रिजालको दाबी छ । १९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली प्रधानमन्त्री बन्छन् भन्ने उनको तर्क छ ।

अर्कोतर्फ यसपालिको वर्षामासमा हुने नवरात्र यही असार २७ गते आइतबारदेखि शुरु भएको छ । जहिले पनि आइतबार र सोमबारबाट नवरात्र शुरु भयो भने त्यो मुहूर्तमा देवी हात्तीमा सवार हुन्छिन् भन्ने मान्यता राखिन्छ । र, देवी हात्तीमा सवार हुनु अत्यन्त शुभ मानिन्छ भने देवी घोडामा सवार भएर आउने नवरात्रले नकारात्मक भावलाई बढावा दिने छत्रभंग योगको शुरुवात गराउँछ । अहिले राजा पनि मंगल र मन्त्री पनि मंगल अवस्थामा छ ।

देउवाको सत्तारोहण वृश्चिक लग्न, वृश्चिक राशिको बेलामा भएको रिजाल बताउँछन् । आज चन्द्रमा सिंह राशिमा भएको बेलामा देउवाले सपथ लिएका छन् । देउवाको शिरमा चन्द्रमा परेकाले पनि उनी शक्तिशाली हुन्छन् भन्ने रिजालको तर्क छ ।

यसले देउवाको सरकार कामचलाउ नभएर शक्तिशाली गठबन्धन सरकार बन्ने रिजालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment