२९ असार, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७, भ्रमरपुराकी सुजिता ठाकुरको हत्यामा उनकै देवरको संलग्नता खुलेको छ ।
हत्यापछि शौचालयको सेफ्टी ट्यांकीमा सुजाताको शव भेटिएको तीन दिनपछि प्रहरीले हत्या देवर रूपेश ठाकुरको संलग्नता पुष्टि भएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डीएसपी प्रकाश विष्टका अनुसार २० जेठमा बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले सुजितादेवी ठाकुरको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘कोठामा झगडा भएको देखिन्छ, त्यहीबीच घाँटी चिथेर हत्या गरेको देखिएको छ’ विष्टले भने, ‘हत्यापछि दिनभर शवलाई उनी सुत्ने पलङमै छोपेर राखिएको थियो ।’
प्रहरीका अनुसार हत्यापछि उनी बाहिरबाट कोठामा ताला लगाएर निस्किएका थिए । साँझ ट्याक्टरमा शव राखेर एक किलोमिटर दक्षिण रहेको खेतमा गाडेको पाइएको विष्टले बताए ।
देख्न सक्ने डरपछि ९ दिनपछि शव उत्खनन्
प्रहरीका अनुसार २० जेठमा खेतमा शव गाडेका उनी त्यसआसपास मानिसहरु हिँडेको देखेपछि झस्किएका थिए । त्यसपछि पोल खुल्नसक्ने डरले उनी ९ दिनपछि पुनः मध्यराति खेतमा गएर शव निकाले । ‘अरुले थाहा नपाउन् भनेर ट्याक्टरले सम्याएर धानको विऊ रोपेको पनि खुलेको छ’ विष्टले भने ।
२९ जेठमा राति फेरि उनी शव लिएर उत्तरतर्फ रहेको निर्माणाधीन सेफ्टी ट्यांकीमा पुगे । ‘त्यहाँ चार फिट गहिरो खाल्डो खनेर शव पुगेको पाइएको छ’ उनले भने, ‘त्यसपछि ६ इञ्च ढलान गरेर माथिल्लो भागमा काठको गोलिया राखेर ट्यांकी छोप्ने प्रयास गरिएको छ ।’
विष्टका अनुसार शव स्थानान्तरण पश्चात शव गाडिएको पहिलो ठाउँको खाल्डो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेका थिए । शव गाडेपछि रुपेशले सुजिता ‘पोइला गएको’ भन्दै गाउँमा हल्ला फैलाएका थिए ।
देवरसहित चार पक्राउ
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा देवर रुपेशसहित चारजनालाई पक्राउ गरेको छ । उनीसहित ३७ वर्षीया बण्ठा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई प्रहरीेले पक्राउ गरेको हो ।
पक्राउ परेका बण्ठा भन्ने किशोरी, मुल्ला भन्ने आदम राईन र नथुनी मण्डलले सुजिताको शव व्यवस्थापनमा रुपेशलाई सघाएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा सुजिताका पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिएपनि उनको संलग्नता पुष्टि नभएपछि थुनामुक्त गरिएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4