Comments Add Comment

एमालेको १०बुँदे सहमति संकटमा

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गम्भीर आरोप लगाएका छन् । सर्वोच्च अदालतको परमादेशसँगै पदच्यूत भएर बालुवाटारबाट बालकोट फर्किएका ओलीले नेता नेपाललाई गद्दार भनेका छन् ।

‘पछाडि (माधव नेपाल निकटहरु) लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमीकमजोरी महसूस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन’, ओलीको भनाइ थियो ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दा पनि अध्यक्ष ओलीले नेता नेपालविरुद्ध अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर पार्टीभित्र अपराध गरिएको उनको निष्कर्ष थियो ।

अदालतको फैसलापछि मंगलबार सिंहदरबारबाट र बुधबार बालकोट पुगेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको असर भने एमालेको एकता प्रक्रियामा देखिएको छ । विशेषगरी अध्यक्ष ओलीको अभिव्यक्तिले माधव नेपाल समूह सशंकित छन् ।

‘दशबुँदे सहमति भएको छ । माधव कमरेडले विपक्षी गठबन्धन छोडेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । तर केपी ओली गालीमा उत्रिनुलाई समीक्षा गर्नुपर्ने देखियो’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । माधव नेपाल निकट ज्ञवाली, दशबुँदे सहमतिप्रति इमान्दार प्रयत्न कायम राख्नुपर्ने बताउँछन् ।

अध्यक्ष ओलीको अभिव्यक्ति र उनी समर्थकहरुको गतिविधिका कारण एकता प्रक्रिया अलमलमा परेको उनको बुझाइ छ । ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गरेका कार्यकर्ताहरुले नेता नेपाल विरुद्ध चर्को नारा लगाएका थिए । उनीहरुको आक्रोश छ- माधव नेपाल सहितको एकता हुँदैन ।

ओली निकट नेता एवम् केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ पनि माधव नेपाल सहितको एकता संभव नरहेको बताउँछन् । ‘केपी ओली तयार भए पनि हामी तयार हुन्नौं’ उनले भने, ‘माधव नेपाल बाहेकको एकता हुन्छ ।’

स्रोतका अनुसार, अध्यक्ष ओलीको अभिव्यक्तिले दशबुँदे सहमति कार्यान्वयन प्रक्रिया प्रभावित बनेको छ । आइतबार राति सहमति गरेका कार्यदलका सदस्यहरुको योजना ओली र नेपालबीच भेटवार्ता गराउनेछ । अध्यक्ष ओली र नेता नेपाललाई दशबुँदे बुझाएका कार्यदलका सदस्यहरुले मंगलबार नै दुई नेतालाई भेट गराउने तयारी गरेका थिए ।

तर देशवासीको नाममा सम्बोधन गर्दै नेता नेपालविरुद्ध अभिव्यक्ति दिएपछि भेट गराउने योजना पूरा हुन सकेन । ‘एकअर्का विरुद्धको रिस तातेको बेला भेट गराउने कुरा भएन । केही दिन कुरौं’, ओली निकट एक नेता भन्छन् ।

यद्यपि  एमाले एकताको सहमति नभाँडिनेमा समेत उनी विश्वस्त छन् । ‘ओली र नेपाल बीच भेट गराएपछि सहमतिमा स्थायी कमिटी बैठक बोलाइन्छ र थप निर्णयका साथ अगाडि बढ्छौ’, ती नेता भन्छन् । अध्यक्ष ओलीले मंगलबार बोलाएको एमाले स्थायी कमिटी बैठक अनिश्चित हुनुमा पनि दुई नेता भेट गराउने प्रयत्न रहेको देखिन्छ ।

तर ओलीको अभिव्यक्ति र उनी समर्थकको गतिविधिसँगै माधव समूहभित्र देखिएको अलमलले दशबुँदे संकटमा परेको छ । माधव नेपालले विपक्षी गठबन्धनमा नरहेको सन्देश दिए पनि उनी निकट कतिपय नेताहरु देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । संसद् जोगाउन पनि देउवालाई विश्वासको मत दिनुपर्ने उनीहरुको तर्क छ । यदि विश्वासको मत नदिए फेरि पनि संसद् विघटन हुनेछ ।

प्रधानमन्त्री देउवाले आफ्नो राजनीतिक भेटका रुपमा बुधबार कोटेश्वर पुगेरै नेता नेपालसँग कुराकानी गरेका छन् । तर माधव समूह विश्वासको मत दिने विकल्पमा गए भने एमालेमा जुटेको दशबुँदे जोगिने देखिन्न । किनकि देउवा प्रधानमन्त्री बन्नुको आधार (२३ सांसदको हस्ताक्षर) लाई लिएर मात्रै नेता नेपालविरुद्ध चर्को आरोप लगाएका ओलीले यस्तो छुट दिने संभावना छैन । ‘एउटै पार्टी दुईतिर (सत्तारुढ र प्रतिपक्षी) फर्किने अवस्था त हुनै सक्दैन । पार्टी नेतृत्वले यस्तो छुट दिन सक्दैन’, नेता तामाङ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment