Comments Add Comment

‘बिग्रिएकी केटी’सँग बिहे गर्न मन छ !

‘बिग्रिएकी केटी’ कस्ती हुन्छे हँ ? मलाई पनि खासै थाहा छैन । तर घरका बैठक कोठादेखि गाउँशहरका चोक चौतारीसम्म सुनिन्छ, बिग्रिएकी केटी असाध्यै बिग्रिएकी हुन्छे रे !

सुन्नमा आउँछ !धनाढ्य परिवारमा जन्मिएर पनि बिहानै उठेर किचन धाउने बिग्रिएकी केटी, आफ्ना लागि आफैं चिया बनाएर पत्रिका पढेर बस्छे रे ! खाना खाएर आफ्नो थाल आफैं माझ्छे रे ! खाना पकाउन खासै आउँदैन तर घरमा सबैसँग ठूला ठूला कुरा गर्छे रे ! त्यही भएर त भन्छन् बाउआमा, ‘छोरी बिग्रिएकी छे ।’

बिहान कलेज अनि दिउँसो आन्दोलनमा जान्छे रे ! माइतीघरमा प्लेकार्ड बोकेर बस्छे रे ! पानीका फोहोरा खान्छे रे, लठ्ठीको प्रहार खान्छे रे, अनि पक्राउ पर्छे रे ! पुलिसको भ्यानमा कोच्चिएर थाना पुग्छे रे अनि बेलुकातिर छुट्छे रे ! धुजाधुजा शरीर र थकित अनुहार लिएर घर पुग्छे रे ! समाचारमा सधैं आउँछे रे ! कहिलेकाहीं दिउँसो क्याफे छिर्छे रे ! नौलो रुपविन्यासमा प्रेमी जस्ता देखिने केटाहरुसँग प्रगतिशील कुरा गर्छे रे ! त्यसैले त छरछिमेकले नि कुरा काट्छ्न्- ‘फलानोको छोरी त कस्तो बिग्रिएकी रैछे !’

मूड अफ हुँदा, फाटेको जिन्स र नाइटो छर्लंग देखिने टिसर्ट लाएर बिग्रिएकी केटी त बटालियन नै लिएर नाइट पार्टीमा जान्छे रे ! ब्राको फित्ता देखाएर स्तन हल्लाउँदै हिंड्छे रे ! घर फर्किंदा खै ! चिन्नु न जान्नु केटाको बाइकमा च्याप्प टाँसिएर आउँछे रे ! होश गुमाएर लडीबुडी हुँदै रिंग बेल बजाउँछे रे !अनि बरन्डाबाट टर्च बालेर हेर्दै हजुरबुवा हजुरआमा कुरा काट्छन् रे- ‘नातिनी त साह्रै बिग्रिछे !’

एकादशीको दिनमा चिकेन चिल्ली खाने मूड बनाउँछे रे ! ह्याप्पी बर्थ डे टु यु भन्दै भाइको जन्मदिनमा बियर खोल्छे रे ! रहस्यमय फोन कलहरु रिसिभ गर्छे रे ! कामुकताले रंग्याएको सेक्सिलो कुरा गर्छे रे ! बिहे नगरी ‘लिभ इन रिलेशनसिप’मा बस्न भन्दै साथीहरुलाई सल्लाह दिन्छे रे ! धर्म र पापको ठेगान छैन रे उसलाई । टालो लाउन छोडेर प्याड लाउँछे रे ! महीनावारीमा व्रतबन्ध गरेका बाउ र भाइलाई सजिलै छुन्छे रे ! पूजा कोठा गएर पेट नदुखोस् भनी भगवानसँग प्रार्थना गर्छे रे !

केटी बिग्रिनुमा केही अंग्रेजी चलचित्र र नोबेलको पनि रोल छ रे ! जडीबुटीले जस्तै छु मन्तर लगायो रे ! घर गरेर खाने भएकी केटी त घर बिगार्ने भएकी छे रे ! बिग्रिएकी केटी हरेक कुरामा फरक मत राख्छे रे ! आफ्नै गन्धलाई आफैं सुँघ्न सक्ने भएकी छे रे ! ऐनामा आफूलाई हेर्न सक्ने भएकी छे रे ! समाजसँग टाढा र आफूसँग साह्रै नजिक भएकी छे रे ! जिन्दगीलाई अर्गानिक मानेर साह्रै ठूलो कल्पना गर्छे रे ! पिंजडा त उसलाई मनै पर्दैन रे ! घरमा थुनिएका चराहरु त भकाभक उडाई सकी रे !

ठूला मान्यजनको असजिला कुरालाई ऊ बडो व्यंग्य गर्छे रे ! आफ्ना द्विविधा र अन्धविश्वासलाई कुल्चिएरै हिंड्छे रे ! घरमा गाडीको ताँती हुँदा समेत हिंडेरै गन्तव्य पुग्छे रे ! शयद पाइलामाथि ठूलो विश्वास छ रे उसको ।

हजुरबुवा हजुरआमाका दन्त्यकथा ऊ सुन्न चाहँदिन, जहाँ राजकुमारीको त्याग र समर्पणले राज्य बचेको हुन्छ । त्यस्तो कथा पढेर के काम भन्छे रे ! ‘जहाँ सधैं नारीले होचिनुपर्ने, ढोग बिन्ती बिसाउनुपर्ने अनि अन्त्यमा राज्य बच्ने भएकाले जबरजस्ती अर्कै मन नपर्ने सँग बिहे गर्नुपर्ने । त्यो पनि कहीं जीवन हो त ?

मरिसकेपछि राष्ट्रिय विभूति वा राज्यको महारानी घोषित गरेर नै के भो र ? बाँचुन्जेल आत्म स्वाभिमान र आत्म सन्तुष्टिका साथ बाँच्न पाइएन भने’ भन्छे रे !
बिग्रिएकी केटी बरु महाभियोग सामना गरेकी सुशीला कार्कीको आत्मकथा पढ्छे रे ! त्यो मात्र होइन मार्क्सवाद र ऐतिहासिक भौतिकवाद पनि पढ्छे रे ! क्रान्ति र अन्तरविरोधका नियमहरु पढ्छे रे !

बिग्रिएकी केटी यतिसम्म बिग्रिएकी छे रे कि आफ्नै आइडियामा जिन्दगीलाई विना कुनै रोकावट र अप्सन हुँइक्याउन चाहन्छे रे ! उसले घरका एक कुरा नमाने पछि त उसलाई ‘छेउ न टुप्पोकी’ भनेर सम्बोधन गर्छन् अरे ! उसलाई संघर्ष असाध्यै मन पर्छ रे ! आफ्नो काम आफैं गर्ने र आफ्नो सम्पत्ति आफैं जोड्न तम्तयार छे रे ! त्यसैले त सफलताको अनुभव बोकेको र पुस्तौं पुस्तालाई सम्पत्ति थुपारेको परिवार उसलाई ‘स्वाँठ’ भन्छ अरे !

बिग्रिएकी केटी यतिसम्म बिग्रिएकी छे रे कि बाहिरी संसार आफ्नै इन्द्रियद्वारा देख्न, हेर्न, चाख्न, छुन र सुँघ्न चाहन्छे रे ! तर समाज जबरजस्ती उसलाई अरुका इन्द्रियद्वारा हेरोस् भन्ने चाहन्छ रे !

लोग्ने मानिसहरुले नारीको स्वतन्त्रतालाई चुस्ने भएकाले लोग्ने मानिस र लामखुट्टे बीच फरक नरहेको औंल्याउँछे रे ऊ । कतै ‘स्वास्नीमान्छे’ भएर बस्न पो पर्ने हो कि भन्दै ऊ सशंकित हुन्छे रे ! बिहेपछि बुढाको खुट्टा नढोग्ने र बुढाले भन्दा अघि खाना पनि खाइ सक्ने बाचा गर्छे रे ! आफूलाई ‘इन्ट्रेस्ट’ जागे हो नत्र बुढाले चाहँदैमा सँगै नसुत्ने पनि ठोकुवा गर्छे रे ! आफ्ना प्यान्टी र ब्रा श्रीमानले धुन्छ्न् भने मात्र श्रीमानका मोजा पनि धुने प्रतिबद्धता जायर गर्छे रे !

जुठा भाँडा, बालबच्चाको कन्कन र सासु ससुराको किचकिचमा थिचिएर, च्यापिएर अनि बेरिएर त पटक्कै बस्दिनँ भन्छे रे ऊ । रीतिथितिको त कुरै छोडौं, श्रीमानले झुक्किएर सम्बोधनमा ‘तँ’ मात्र भनेको दिन डिभोर्स फाइल गर्ने जिकिर गर्छे रे ! ‘किन एक बारको जुनीमा, चिन्नु न जान्नु लोग्नेको जबरजस्ती ‘स्वास्नी’ बनेर बस्नु छ र ? सामाजिक नियम मान्नलाई समाजले मेरो पेट भर्छ र ? स्वाभिमानमा टेको लाउँछ र ?’ भन्छे रे ऊ ।

वैज्ञानिक ज्ञान सिद्धान्तको खोजमा लम्किने आँट राख्छे रे बिग्रिएकी केटी । त्यसको प्राक्टिकल इम्प्लिकेसन चाहिं कत्तिको गाह्रो हुन्छ उसलाई थाहा छैन रे ! उसलाई उपन्यासको रुन्चे पात्र भएर होइन, केटाहरुको ननभेज किस्साको सन्तान उब्जाउने र कामुकता शान्त पार्ने फ्याक्ट्री भएर पनि होइन जबर्जस्त कसैको ‘फ्यान’ भएर बाँच्न मन छ रे ! बिग्रिएकी केटीलाई लाचार र क्षणिक आकर्षणयुक्त पिंक कलर होइन क्रान्तिको प्रतीक ‘लाल’ मन पर्छ रे !

बिग्रिएकी केटीलाई बदनाम भएरै पनि छिपछिपेबाट गहिराइमा जान मन छ रे ! वस्तुगत सत्यसँग आफ्ना इच्छाहरुलाई मेल गराएर सफलताको उँचाइ उक्लिन मन छ रे ! बिग्रिएकी केटी उसको सौन्दर्यताको मीठो अनुभव गरेर रातभर हस्तमैथुन गर्ने अपरिपक्व केटाहरुलाई छिः नामर्द भन्छे रे ! कस्मेटिक र देखावटी दुनियाँको हत्या गरी ऊ इन्द्रियको भ्रमलाई चिर्न चाहन्छे रे ! बिग्रिएकी केटी न कसैको काखमा लडीबुडी गर्ने गरी बाँच्न चाहन्छे रे न त पीपलका बोटमा सलले घाँटीमा पासो लाएर झुण्डिएर मर्ने जस्ता लाचार नै हुन चाहन्छे रे ! बिग्रिएकी केटी त अझै बिग्रिन चाहन्छे रे ! अबिट मोर । जबसम्म यो समाज सुध्रिंदैन ।

बिग्रिएकी केटी त बरु आफू जस्तै बिग्रिएका तमाम केटीहरुका लुगा, खानपान, बनोट, हिंडाइ, डुलाइमा ध्यान नदिएर आफ्नो पर्सनल बिजनेसमा ध्यान दिन चेतावनी दिन्छे रे ! ऊ त आफ्नै सपनामा इन्ट्रेस्टिङ भएर बाँच्न चाहन्छे रे !

बिग्रिएकी केटी कुनै मौलिक पहिचानयुक्त गुण भन्दा आफ्नो ओरिजिनल ओपिनियन राख्छे रे ! जात, लिंग र वर्गका आधारमा हुने विभेदको अस्तित्व माथि प्रश्न गर्छे रे ! सबै मानिस उही छाला, मासु, रगत, हाड र तन्तुहरुले बनेको हुन्छ भन्दै जातका आधारमा हुने हिंसा विरुद्ध ऊ भद्रकालीमा कालो वस्त्र धारण गरेर बस्छे रे ! नवराज विकदेखि रुपा सुनारसम्मको पक्षमा आवाज उठाउँछे रे ! विरासतमा प्राप्त पुरुषहरुको व्यर्थको मानप्रशंसालाई अस्वीकार गर्छे रे ! बिग्रिएकी केटीलाई गोरी हुनुछैन रे, दुब्ली हुनुछैन रे, आकर्षक हुनुछैन रे, कुनै कर्पोरेट दुनियाँको पछि लागेर जिरो फिगरमा बाँधिएर लोभी नजरहरुको र्‍याल काढ्नु पनि छैन रे !

उसलाई न अहिले पाउजु र गाजल लाउनु छ रे न त बिहेपछि नै त्यो असंगत निशानी सिन्दुर र पोते लाउनु छ रे ! उसलाई केही चिजबाट पनि बाँधिनु छैन रे ! उसलाई घुम्टो ओढेर निहुरिएर बस्नु पनि छैन रे ! इनफ्याक्ट ‘रिभोलुसन इज द सोलुसन’ भन्दै विद्रोहको ज्वार निकाल्दै मर्दवादको किल्ला भत्काउने उद्घोष गर्दछे रे !

नारी जातिको जति पनि छन्- असीमित आकांक्षा र उन्नत संसार त्यसको प्राप्तिका लागि स्वतन्त्रताको लडाइँ लड्न चाहन्छे रे ! बिग्रिएकी केटीलाई ‘इच्छुक’को कविता ‘प्रतिबन्ध’ साह्रै मनपर्छ रे ! त्यसैले त ऊ जे बोल्न, गर्न र सोच्न समेत हुँदैन भन्ने बीज समाजमा रोपिन्छ उही त्यही बोली बस्छे रे, उही त्यही गरी बस्छे रे, अनि त्यही सोची बस्छे रे !

बिग्रिएकी केटी आफ्नै जिन्दगीमा जेन्टलम्यानको भूमिकामा अभिनय गर्न चाहन्छे रे र ‘फुर्सत-विदा’लाई पूर्णत: बहिष्कार गर्न चाहन्छे रे ! विधवा महिला रातै सारीमा सजिएको अनि सिउँदोमा सिन्दुर रंगिएको चित्र कोर्छे रे ! महीनावारीको बेला पूर्वको गर्विलो घाम समात्छे रे ! विभेदयुक्त जरा भएको अजंग रुखको हाँगाहरु सुक्दै गएको कल्पना गर्छे रे ! महाभारतकी द्रौपदी, रामायणकी सीता र स्वस्थानीकी सतीदेवी जस्ता पात्रहरु माथि भएको अन्याय सहन नसकी उत्थान गर्न पौराणिक काव्यभित्र नै छिर्न चाहन्छे रे ! समानताको आधारमा नयाँ सिर्जनाहरु होउन् र पुरुषत्वको विरासतको महिमा गाउने ग्रन्थ चाहिं पुनरावृत्ति होस् भन्ने चाहन्छे रे !

बिग्रिएकी केटी आमाको नाममा समेत नागरिकता पाउने र छोरीले पनि अंश पाउने कुरामा अभिव्यक्तियुक्त प्रभाव राख्न चाहन्छे रे ! आर्थिक, सामाजिक, राजनीतिक र विचारधारात्मक रुपले नारीहरु सचेत हुनुपर्छ भन्छे रे ! आफ्नो अस्तित्व रक्षाका निम्ति आफैं संघर्ष गर्नुपर्छ भन्छे रे ! आंशिक सुधारबाट गुणात्मक विद्रोहको फड्को मार्न लालायित छे रे ! समाजको नियम तोड्दै भूमिका बाहिर बनाइएकाहरुको नेतृत्व गर्न चाहन्छे रे !

यौवन उमेरमा नै अष्ट्रेलिया अमेरिका पलायन हुनेहरु उनको क्रियाकलापलाई डिस्गस्टिङ मान्छन् । नमच्चिने पीङको सय झड्का र तात्तो न छारोको उपमा भिराउँछन् । तर बिग्रिएकी केटी आफैंलाई असाध्यै प्रेम गर्छे रे ! नसा नसामा आत्मलीन हुन्छे रे ! घरको ढोका मै अड्को थापिंदा पनि दुर्गमका दैलो दैलो चहार्छे रे !

खबरदारी गर्छे रे ! उनको भाषाप्रति उनको व्यवहारप्रति असन्तुष्ट हुनेहरु घरदेखि नातागोतासम्म छन् रे ! चाँडै नै बिहेको ड्राफ्ट गर्न पाए छोरी सुध्रिन्छे कि भन्ने चिन्तामा घर जलेको छ रे ! शायद ऊ घर बसाउन मात्र बिहे गर्न चाहन्न रे ! सपनाहरुको असामयिक मर्डर गरेर निम्छरो जिन्दगी बिताउन चाहन्न रे !

त्यसैले पनि बिग्रिएकी केटीलाई आफू जस्तै बिग्रिएको केटाको खाँचो छ । जसको ब्युटिफुल माइन्ड होस् र रिभोलुसनरी सोच । त्यो गुण ममा छ भनेर आफैंले भन्दा अलिकति विरोधाभास लाग्छ । तर म पनि त बिग्रिएको केटा हुँ । मिलियन्स अफ मोर बिग्रिएको छु । सप्रिएको भनिएको शहर छाडेर बिग्रिएको भन्ठानिएको दुर्गम वस्तीहरुमा स्वास्थ्य सेवा दिइराखेकै छु । शायद बिग्रिएको मान्छेकै त अभाव छ यो कुनाकन्दरामा । जो अलिकति पागल होस् र ओरियन्टेड होस् ।

त्यसैले त मलाई सामूहिक स्वामित्व ग्रहण गर्न बिग्रिएकी केटीसँग संगत गर्न मन छ । बिहे गर्न मन छ । त्यसपछि त हामी समाज सुधारको बाटोमा हिंड्न अभिशप्त हुँदैनौं बरु स्वतः निष्फिक्री हुन्छौं । त्यसपछि त कसैले इन्टरप्ट गर्दैन मात्र इम्याजिनेसन गर्छ ।

जसरी एक जोडी परेवा खुलमखुल्ला आकाशमा सम्भोग गरेको देखि लिएर शान्तिको प्रतीक बनाएर उडाइएको सम्म हेरिरहन्छ समाज । त्यसरी नै हेरिरहनेछन् हाम्रा गतिविधिहरु । बिग्रिएका मान्छेमा हुनुपर्ने सार्वभौम गुणयुक्त भएर छुट्टै सृष्टिको रचना गर्नेछौं हामी जहाँ मनुष्य कल्याणको कामना मात्र हुनेछ बन्देज हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment