Comments Add Comment

चोरिएका तीन मध्यकालीन मूर्ति फर्काइयो

तस्करीमा संलग्न एक पक्राउ

३१ असार, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिकाको न्यूयोर्क पुर्‍याइएका तीन वटा मध्यकालीन मूर्ति काठमाडौं ल्याइएको छ ।

अमेरिकास्थित नेपाली दूतावासबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको अप्सरा, बुद्ध र गणेशको मूर्ति बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो । तीन वटै मूर्ति अब संग्रहालयमा राखिने छन् ।

नेपाल फर्काइएका तीनै मूर्तिहरु अनुमानित १३ औं, १४ औं र १५ वा १६ औं शताब्दीका छन् । यी मूर्तिहरु कहाँबाट हराएका हुन्, यकिन नभएको मन्त्रालयले जनाएको छ । तर यसमध्ये अप्सराको रंगीन मूर्तियुक्त काठको टुँडाल पनौतीको इन्द्रेश्वर मन्दिरमा रहेका मध्यकालीन टुँडालसँग मिल्दाजुल्दा छन् । त्यसैको आधारमा यसलाई १३ औं शताब्दीको मूर्ति मानिएको छ ।

यी मूर्तिहरु न्यूयोर्कको संग्रहालयमा मूल्य नै तोकेर प्रदर्शनीमा राखिएका थिए । जसमा अप्सराको मूर्तिलाई २५०० डलर, भूमिस्पर्श मुद्रामा बसेका बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्तिको मूल्य ५०/५० हजार अमेरिकी डलर तोकिएको थियो ।

अमेरिकाका विभिन्न संग्रहालयमा मूर्ति रहेको सूचनापछि सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’को आधारमा पुरातत्व विभागले मूर्तिमाथि आफ्नो दाबी पेश गरेको थियो । महासन्धिको दफा ७ मा राष्ट्रिय कानुनको अधीनमा रही गैरकानुनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति फिर्ता गर्नुपर्ने उल्लेख छ । १४१ राष्ट्रले हस्ताक्षर गरेको यो महासन्धिका पक्ष राष्ट्रले अर्काे मुलुकबाट चोरी भएर वा खरिद गरेर ल्याएको मूर्ति स्रोत मुलुकले फिर्ता गर्न चाहेमा फिर्ता दिनुपर्ने व्यवस्था छ ।

सोही महासन्धिको आधारमा नेपालले आधिकारिक रुपमा मूर्तिमाथि दाबी गरेपछि २०७७ साल चैत १९ गते अमेरिका स्थित कार्यवाहक महावाणिज्य दूत र डिस्ट्रिक एटोर्नी अफिस न्युयोर्कबीच मूर्ति फिर्ताको सम्बन्धमा सम्झौता भएको थियो ।

पुरातत्व विभागका महानिर्देशक गौतम फिर्ता ल्याइएका मूर्तिहरु अमूल्य भएको बताउँछन् ।

मन्त्रालयका अनुसार यी मूर्ति तथा कलावस्तु तस्करी गर्नै एक व्यक्ति पक्राउ परेका छन् । तस्करीमा संलग्न ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । उनलाई दक्षिण भारतमा कारागारमा राखिएको छ भने उनलाई अमेरिका सुपूर्दगी गर्ने विषयमा प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

मूर्ति फिर्ता गर्न कति लाग्छ खर्च ?

सामान्यतया नेपालबाट चोरी गरेर लगिएका मूर्तिहरु फिर्ता गर्दा सम्बन्धित मुलुक वा संग्रहालयलाई पैसा तिर्नु पर्दैन । तर मूर्ति निकासीमा प्रतिबन्ध लाग्नुपूर्व खरिद गरेर लगेको मूर्ति भेटियो भने बिलको आधारमा निश्चित क्षतिपूर्ति तिर्नुपर्छ ।

महानिर्देशक गौतमका अनुसार हाल राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको मूर्ति फिर्ता कार्गाे लगायतका केही शीर्षकमा गरी ३१०० डलर खर्च भएको छ । यो रकम न्यूयोर्क स्थित महावाणिज्य दूतावासमार्फत युनाइटेड पार्सल सर्भिसलाई उपलब्ध गराएर मूर्ति नेपाल पठाउने जिम्मा दिएको थियो ।

मूर्ति फिर्ता गर्न १० लाखको बजेट

सरकारले मूर्ति फिर्ता गर्न आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेको छ ।

महानिर्देशक गौतमका अनुसार आगामी आर्थिक वर्षको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको हो । यो रकम नेपालबाट चोरिएका सम्पदा फिर्ता गर्न पर्याप्त नभए पनि आगामी आर्थिक वर्षदेखि नियमित बजेट आउँदा हराएका धेरै सम्पदा खोज्न सहयोग गर्ने विश्वास महानिर्देशक गौतमको छ ।

कति फिर्ता आए हराएका मूर्ति ?

पुरातत्व विभागका अनुसार २०५१ सालमा अमेरिकाबाट फिर्ता आएका ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ ।

चोरी गरी जर्मनी पुर्‍याइएका उमामहेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गरेको हो । अहिले सो मूर्तिलाई पाटन संग्रहालयमा सुरक्षित राखिएको विभागले जनाएको छ । उक्त मूर्ति धुलिखेलबाट हराएको १२ औं शताब्दीको मूर्ति हो ।

त्यस्तै, २०५९ सालमा अस्ट्रियाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ ।

२०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको विभागको क्युरियो शाखाले जनाएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्ति पनि फिर्ता भइसकेको छ ।

१२ औं शताब्दीमा बनेको ब्रह्माको मूर्ति मृगस्थलीबाट सन् १९८० को दशकमा हराएको थियो । त्यो मूर्ति पनि फिर्ता भइसकेको छ । फर्पिङबाट चोरी भएको वा हराएको सरस्वती, पनौतीबाट चोरी भएको वा हराएको सूर्य आदिको मूर्ति सम्बन्धित देशबाट फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा राखिएको छ ।

२०५३ साल असार १० गते बेलायतबाट फिर्ता भएका १९ थान मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । डोल्पा जिल्लाको यन्सेर जांचुमलिं गुम्बाबाट चोरी भई ल्हासा तिब्बतबाट बरामद भएका जम्मा २८ थान मूर्तिहरू फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा पठाएको र संग्रहालयबाट पुनः डोल्पामा पठाइएको छ ।

त्यस्तै, २०७४ साल चैत २१ गते अमेरिकाको द मेट्रोपोलिटन म्युजियम अफ आर्ट नेटवर्कमा रहेको कालो प्रस्तरको बुद्धको मूर्ति (स्थानक) एक थान र प्रस्तरको उमामहेश्वरको मूर्ति एक थान पुरातत्व विभागलाई फिर्ता गरी सोही दिन राष्ट्रिय संग्रहालयमा पठाइएको थियो ।

सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै ५०० को हाराहारीमा प्राचीन एवं त्यसपछिका विभिन्न कालखण्डका मूर्तिहरू हराए । २०७४ साल असार २ गते पुरातत्व विभागमा प्राप्त हुन आएको लेरी एलेन इन्नेरिचको व्यक्तिगत संग्रहमा रहेको चार थान मूर्ति उनको मृत्युपछि इच्छापत्र अनुसार अमेरिकाबाट फिर्ता आएको थियो ।

ती चार मूर्तिमा एउटा १५ औं शताब्दीको चरेस (ब्रोन्च) बाट बनेको बुद्धको मूर्ति, १५ औं शताब्दीको अमोघपाणि लोकेश्वरको मूर्ति, १६ औं शताब्दीमा बनेको अमोघपाणि लोकेश्वरको चरेसको मूर्ति र १७ औं शताब्दीको मञ्जुश्रीको मूर्ति अमेरिकाबाट फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपाल ल्याइएका मूर्तिहरु स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायले पुरानै ठाउँमा सुरक्षित राख्न सक्ने प्रत्याभूति दिलाएको खण्डमा पुरानै ठाउँमा प्रतिस्थापन गरिनेछ भने सुरक्षा जोखिममा रहेका मूर्तिहरु राष्ट्रिय संग्रहालयमा राख्ने गरिएको छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन अर्याल

ट्रेन्डिङ

Advertisment