Comments Add Comment

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ ।

जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी दिए ।

शुरुमा माओवादीले दुई मन्त्रालय र दुई राज्यमन्त्री दिनुपर्ने अडान राखेको थियो । तर अब एउटा मन्त्रालय र एक जना राज्यमन्त्री लिएर माओवादी सरकारमा जाने सचेतक साहले बताए । ‘अब हामी तीन–चार दिनभित्रै सरकारमा जान्छौं,’ साहले भने, ‘एउटा राम्रो मन्त्रालय र एक राज्य मन्त्री दिने कुरामा छलफल भइरहेको छ ।’

कांग्रेस र माओवादीसँग सत्ता सहकार्यका लागि सरकार तर्फबाट गठित वार्ता समितिका सदस्य भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि माओवादी चाँडै सरकारमा आउन लागेको बताए । ‘छलफल सकारात्मक भएको छ । उहाँहरु चाँडै सरकारमा आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको प्रदेशमा जसपाभित्रको पूर्व समाजवादीले पूर्व राजपाका मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई यसअघि नै सरकारमा ल्याइसकेको छ । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा बनेका छन् ।

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउनका लागि ६ मन्त्रालयबाट प्रदेशमा १० मन्त्रालय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment