Comments Add Comment

‘विज्ञ, समाज, मिडियाको ध्यान कोभिडमा मात्रै गयो’

महामारीको समयमा स्वास्थ्य प्रणालीमा धेरैभन्दा धेरै स्वास्थ्यकर्मी तथा स्रोतसाधन कोभिड–१९ को रोकथाम र व्यवस्थापनमा लाग्नुपर्‍यो । सरकार तथा विभिन्न संस्थाले समेत कोभिड बाहेकका रोगका विषयमा सोच्न तथा योजना बनाएर काम गर्न भ्याएनन् । अन्य रोगहरू प्राथमिकतामा नै परेनन् ।

बन्दाबन्दीको समयमा यातायात, स्वास्थ्य संस्थामा सेवाको उपलब्धता र कतिपय मानिसले जागीर गुमाएका कारण उपचार खर्च धान्न नसकेर नसर्ने रोगका बिरामीहरूमा असर पर्‍यो । अत्यावश्यक भए पनि यस्ता बिरामीहरूलाई स्वास्थ्य सेवा लिन अवरोध भयो ।

नेपालको स्वास्थ्य प्रणालीले विभिन्न राष्ट्रिय कार्यक्रम र नियमित स्वास्थ्य कार्यक्रम चलाउँदै आएको थियो । देशभर विभिन्न रोगका खोपहरू दिइरहेका थिए । गर्भवती आमा तथा सुत्केरीका कार्यक्रम चलिरहेका थिए । क्षयरोग तथा एचआईभीको औषधिका काममा निरन्तरता भएन । टिबी र एचआईभीको औषधि नियमित नहुँदा धेरै बिरामीलाई असर पर्‍यो ।

नसर्ने रोगलाई दुई समूहमा बाँड्नुपर्छ । एउटा समूह नियमित औषधि खाने र अर्को नयाँ बिरामी । किनकि महामारीको डेढ वर्षमा नयाँ बिरामी थपिएका छन्, तर महामारीले गर्दा पहिचानमा समस्या परेको छ ।

ब्लड प्रेसर र सुगरका बिरामीले नियमित औषधि खानुपर्छ । तर, यो डेढ वर्षमा अस्पताल जाने वातावरण नै बनेनन् । किनकि कोभिडको कारण सबैलाई त्रसित बनायो । त्यो त्रास अहिले घट्दै गए पनि शून्यमा झरेको छैन ।

राज्यले महामारीसँगै नसर्ने रोगका विरुद्ध लड्न प्रयत्न नगरेको भने होइन, तर अपुग भयो । तयारी र योजना नहुँदा अन्य रोगका बिरामीले धेरै समस्या भोगे । हरेक स्वास्थ्य संस्थाले विपत्को लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । महामारीको पाठ नै यही हो

यो त्रासका कारणले मानसिक रोगका बिरामी बढेका छन् । पुराना मानसिक रोगका बिरामीको पनि औषधि खाने नियम भत्किएको छ । नयाँ मानसिक रोगीहरू बढे पनि उनीहरू स्वास्थ्य संस्थामा नपुगेकाले रोग सहेरै बाँचिरहेका छन् । अथवा धेरैजसोलाई आफ्नो शरीरमा के रोग हुर्किरहेको छ भन्ने विषयको जानकारी नै छैन ।

भाइरसको डर–त्रासका कारण मानिसलाई निद्रा नलाग्ने, मनमा कुरा खेल्ने, रोजगार र व्यवसाय गुमाएर चिन्तित भएकाले पनि मानसिक रोग बढेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्दा महामारी कालभरि आत्महत्या बढेको छ । महामारी नहुँदो हो त मानिस अस्पताल जान्थे, औषधि खाने या काउन्सिलिङ गराउँथे तर महामारीमा यो सबै सम्भव नभएर यस्ता दुर्घटना धेरै भए ।

यो अवधिमा दर्जनौं रोगका बिरामी थपिए तर पहिचान छैन । पहिचान नै नभएकाले उपचार स्वतः ढिलो हुनेभयो । महामारी कम भएपछि यो अवधिमा कोभिड बाहेक अन्य नसर्ने रोगका बिरामीको मृत्युदर थाहा हुन्छ । अहिले दादुरा लगायत अन्य धेरै खोप कार्यक्रम नियमित चलिरहेको छैन । दादुराकै कारण भोलि अर्को क्षति हुन सक्छ । महामारीले अन्य रोगलाई के कति क्षति गर्‍यो भनेर हामी अहिले नै भन्न सक्दैनौं, किनकि यसको क्षति तत्कालीन भन्दा दीर्घकालीन हुन्छ ।

हिजो नियमित उपचार र औषधि खाइरहेकाहरूले एकाएक उपचार र औषधि नपाउँदा मृत्यु बढ्नु स्वाभाविक हो । समयमै रोग पहिचान नहुँदा भोलिका दिनमा रोग जटिल भएर मृत्युदर बढ्नु पनि स्वाभाविक हो । अहिले रोगले शिथिल बनेर घरमै बसेका तथा स्वास्थ्य संस्थामा पुग्न नसकेका कति धेरै बिरामी होलान्, त्यसको तथ्यांक हाम्रो अनुमान बाहिर छ । अहिले यति भन्न सकिन्छ हाम्रो देशको स्वास्थ्य सूचकाङ्क अबको केही वर्ष गडबड हुन्छ । स्वास्थ्य प्रणालीमा क्षति पुग्न सक्छ ।

महामारीको बेला विज्ञ, समाज, मिडियाको आवाज कोभिडमा मात्रै गयो, अरू रोगीहरू पनि छन्, उनीहरूलाई पनि उपचार चाहिन्छ भन्ने कुरा कसैले उठाएन । राज्यले पनि नसर्ने रोगका बिरामीलाई खासै ध्यान दिएन । शुरुआतदेखि अहिलेसम्म सबैले कोभिड कोभिड भनिरहेका छन्, जसको कारण नसर्ने रोगका बिरामीहरू अझै चपेटामा छन् ।

सामान्यतया नसर्ने रोगका बिरामी सँगसँगै नियमित सेवा, खोप, मानसिक रोग सम्बन्धी कार्यक्रम, एचआईभी, टिबी लगायत राष्ट्रियस्तरका ४० वटा कार्यक्रमको कारण नेपालको मृत्युदर घट्दै गएको थियो । महामारीको बेला यस्ता कार्यक्रम राज्यको प्राथमिकतामा नपरेकाले मृत्युदर स्वतः बढ्छ ।

यस्तो बेलामा राज्यले नसर्ने रोगलाई पनि महत्वपूर्ण मुद्दा हो भनेर सबै निकायमा छलफल गर्नुपर्थ्यो तर गरेन । नसर्ने रोग पनि समस्या हो भनेर हामी सतर्क नै भएनौं । त्यसका साथसाथै स्वास्थ्य संस्थाले यस्ता नियमित उपचारमा आउने बिरामीका लागि जस्तोसुकै प्रतिकूल अवस्था आए तापनि सेवा दिने व्यवस्था गर्नुपर्थ्यो, त्यो भएन ।

बन्दाबन्दीकै बेला यस्ता बिरामीले सेवा कसरी पाउँछन् ? यातायातको समस्या कसरी हल गर्ने ? उपचार खर्च छैन भने कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा राज्यले स्थानीय निकायबाट नै पहल गर्नुपर्थ्यो । किनकि समयमै उपचार तथा औषधि नपाउँदा एउटा सामान्य मानिसको मृत्यु तथा अंगभंग हुनसक्ने जोखिम धेरै हुन्छ । सोही कारण राज्यले स्थानीय निकाय मार्फत यस्ता रोगीहरूको समस्या समाधानको लागि काम गर्नुपर्थ्यो ।

स्वास्थ्य संस्थाले चाहेमा आफ्नोमा नियमित उपचार गराउन आएका बिरामीलाई विभिन्न माध्यम प्रयोग गरेर सेवा दिन सक्छ । किनकि अस्पतालसँग बिरामीको सम्पूर्ण विवरण हुन्छ । अस्पतालले नै बिरामीलाई ‘भर्चुअल चेकअप’ गराउन र औषधि पठाउन सक्छ । तर नेपालमा यस्तो अभ्यास नहुँदा धेरै नसर्ने रोगका बिरामी मारमा परे । किनकि उपचारको लागि बिरामी नै अस्पताल पुग्नुपर्ने पुरानो प्रवृत्ति परिवर्तन भएन ।

वैकल्पिक व्यवस्था गर्ने कुरामा हामीले केन्द्रदेखि समुदायसम्म छलफल गर्नुपर्छ । कुनै पनि नियमित औषधि छोड्न मिल्दैन, खोप नियमित लाउनुपर्छ भन्ने कुरा समुदायबाट घरघरमा पुग्नुपर्छ । र, यसको व्यवस्थापन हुनुपर्छ ।

हामीले अहिलेको अवस्थाबाट शिक्षा लिनुपर्छ । अब यस्तो अवस्था आए स्थानीय संस्थाले के गर्न सक्छ ? वडाले के गर्न सक्छ ? टोल तथा समुदायले के गर्न सक्छ भनेर छलफल गर्नुपर्छ । बिरामीलाई यातायातको व्यवस्था गर्नेदेखि औषधि पुर्‍याउने विषयमा टोल–टोलमा बहस भयो भने जस्तोसुकै प्रतिकूल अवस्था आउँदा पनि नसर्ने रोगका बिरामीलाई असर पर्दैन किनकि, हामीसँग धेरै विकल्प तयार हुन्छन् ।

अहिले पनि नसर्ने रोगका बिरामी समस्यामा नै छन्, संक्रमण फेरि बढ्ने र तेस्रो भेरियन्ट आउने देखिन्छ । अब यस्ता गल्ती दोहोरिनुहुन्न । यस्तो बेला हामीले वैकल्पिक व्यवस्था गर्न जरूरी छ । हामीसँग कुन अवस्थामा के गर्ने भन्ने योजना प्रष्ट हुनुपर्छ । नियमित सेवन गरिरहेको औषधि समेत खान नपाउनु भनेको अत्यन्तै दयनीय अवस्था हो ।

राज्यले महामारीसँगै नसर्ने रोगका विरुद्ध लड्न प्रयत्न नगरेको भने होइन, तर अपुग भयो । तयारी र योजना नहुँदा अन्य रोगका बिरामीले धेरै समस्या भोगे । अहिलेका सबै कुरालाई अनुभव मानेर अब त्योभन्दा बढी के सुधार गर्न सकिन्छ भनेर छलफल र बहस गर्नुपर्छ । यसबाट निष्कर्ष निकालेर योजना बनाउनुपर्छ । हरेक स्वास्थ्य संस्थाले विपत्को लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । महामारीको पाठ नै यही हो ।

(प्रा.डा. बरालसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश)

यो पनि पढ्नुहोस लकडाउन र निषेधाज्ञाको ‘साइड इफेक्ट’ : मारमा क्यान्सर, मिर्गौला र मुटु रोगी यो पनि पढ्नुहोस ‘नसर्ने रोगको उपचार नै भएन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment