Comments Add Comment

कोरोनाको उत्पत्तिबारे अध्ययनमा सहकार्य गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो ।

उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट आएको हुन सक्ने सम्भावना न्यून छ भन्ने थियो । यो भाइरस सबैभन्दा पहिला चमेरामा देखिएको हुन सक्ने सो अध्ययनले देखाएको थियो ।

बिहीबार जेनेभामा बोल्दै डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले महामारी सुरु हुनुभन्दा अगाडि र पछाडि बिरामी भएका मानिसको सम्पादन नगरिएको तथ्यांक चीनले दिनुपर्ने बताएका हुन् ।

पहिलो चरणको अध्ययनमा चीनले उक्त तथ्यांक उपलब्ध नगराएको गेब्रेयेससले बताए । चीनको प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको हुन सक्ने आशंका चलिरहेको छ । केही विशेषज्ञहरुले भने यस्तो सम्भावना कम रहेको बताउँछन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस चिनियाँ प्रयोगशालाबाट आएको बताएसँगै भाइरस प्रयोगशालाबाट बाहिरिएको आशंका झनै बढेको हो ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले अब छिटै नै कोरोना महामारी अन्त्य हुने सम्भावना निकै कम रहेको चेतावनी पनि दिएका छन् । डब्ल्यूएचओको इमर्जेन्सी कमिटिले विश्वभर कोरोनाको अझै खतरानक भेरियन्ट आउन सक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment