Comments Add Comment

२० वर्षपछि फेरि जन्मियो यश कुमारको ‘तिम्रो मन बदलिएछ…’

२ दशक अगाडि । गायक यश कुमारका गीतले बजार तताइरहेको बेला थियो । क्यासेटमा गीत सुन्ने प्रचलन । सोही समयमा यश कुमारको स्वरमा सार्वजनिक भयो, ‘तिम्रो मन बदलिएछ’ । अहिले जस्तो डिजिटल प्रविधीको यूग थिएन । तर, यो गीतले हरेक श्रोताको मन जित्यो ।

२ दशकपछिको समयमा गीतलाई भन्नै शैली बदलियो । प्रविधीले नयाँ मोड लिएको छ । तर, ‘तिम्रो मन बदलिएछ’को लोकप्रियता बदलिएको छैन । यश कुमारको जीवनमा नयाँ मोड आइसकेको छ । तर, यो गीतले बोकेको मिठासमा कुनै मोड आएको छैन । श्रोता बदलिए, प्रविधी बदलियो तर गीत उस्तै कर्णप्रिय छ ।

यश कुमारले २० बर्ष अगाडि यो गीतमा सपना श्रीसँग जोडी बाँधेर दर्शकको मुटु हल्लाइदिएका थिए । २ दशकपछि फेरि उनै यश कुमारले यो गीतलाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याएका छन् । गीतमा यश कुमारकै शब्द तथा संगीत छ । यसपटक मिलन नेवारले उनलाई साथ दिएकी छिन् ।

निकेश खड्काको निर्देशनमा तयार गीतको भिडियोमा सागर लम्साल ‘बले’, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । गीतको भाव अनुसार त्रिकोणात्मक प्रेम कथामा भिडियो निर्माण भएको छ ।

कलाकार सागरको चाहना अनुसार यो गीतलाई नयाँ स्वरुपमा प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गायक यशले भने,–‘सागर भाईलाई म्युजिक भिडियोको अफर धेरै छन् । तर, मानसिक रुपमा पनि, सिर्जनात्मक रुपमा पनि खुसी हुन सक्ने गीतको आवश्यक छ भनेपछि भाईले सूची बनाएका गीतबाट यस गीत छनोट गरिएको हो ।’

गायक यशले यस गीत अहिलेपनि धेरैको यथार्थतासँग जोडिएको हुनाले रिमेकका लागि आफूहरुले यसलाई छनोट गरेको जनाए । उनले अगाडि भने, ‘मेरो मात्र होइन, जसले यो गीत सुन्नुभएको, मन पराउनुभएको छ । सोही कारण २० वर्षअघि जति लोकप्रिय थियो । अहिले पनि उत्तिकै लोकप्रिय छ ।’ उनी आफ्नो गीतलाई नयाँ रुपमा, नयाँ प्रविधीमा सार्वजनिक गर्न पाउँदा खुसी छन् ।

‘आफू नरहे पनि आफ्नो सिर्जना बाँचिराखोस् भन्ने हरेक सर्जकले चाहन्छ । यो मलाई बचाईराख्ने सिर्जना हो’ उनले भने । कलाकार सागरले आफूले सानैदेखि गुनगुनाउँदै आएको गीतको भिडियोमा काम गर्न पाउँदा एकदमै खुसी लागेको बताए । ‘यस गीतको म बच्चैदेखि फ्यान थिएँ । सो समयदेखि नै कलाकार भएँ भने यो गीतमा काम गर्छु भन्ने सोच थियो’ सागरले भने । प्रिज्मा–प्रिन्सीले यश कुमारको गीतमा अभिनय गर्न पाउने कुरा आफूहरुले नसोचेको बताउँदै काम गर्न पाउँदा एकदमै खुशी लागेको बताए । बुद्द थापाले छायाँकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । २० बर्षपछि रिमेक गरिएको एउटा उत्कृष्ट गीतको भिडियोमा निकेशले उत्कृष्ट कथा बुनेका छन् । यस अर्थमा यो भिडियोको नायक निकेश हुन् । निकेशले फिल्मी शैलीमा भिडियोलाई बुनेका छन् । प्रेममा हुने विश्वासघातको कथामा उनले गज्जबले दृश्य अगाडि बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment