Comments Add Comment

फिल्म समीक्षा : प्रेम–घृणा र खेलको कथा ‘तूफान’

फरहान अख्तर र राकेश ओमप्रकाश मेहराले ‘भाख मिल्खा भाग’ जस्ता उत्कृष्ट स्पोर्टस् फिल्म बनाइसकेका छन् । यो जोडीकै गठबन्धनमा अहिले अर्को फिल्म आएको छ, तूफान । पहिलो फिल्म महान धावक मिल्खा सिंहको जीवनमा आधारित थियो । जबकि तूफानको कथा पूर्णत काल्पनिक हुन् ।

त्यसो त पछिल्लो केही समययता बलिउडमा स्पोर्टस् जनराको फिल्म अविछिन्न निर्माण भइरहेका छन् । साथसाथै त्यसले सफलता पनि पाइरहेका छन् । तूफानले पनि त्यस्तै मूलकथाको फेरो समातेर दर्शकमा हलचल पैदा गरिरहन्छ ।

यस्तो छ कथा

अजीज अली उर्फ उज्जू भाई (फरहान अख्तर) डोंगरीका एक ग्याङस्टरका लागि पैसा असुल्ने काम गर्छन् । झैझगडामा उनी घाइते हुन्छन् । उपचारका लागि अस्पताल भर्ना हुन्छन् । अस्पतालमा अनन्या (मृणाल ठाकुर)सँग उपचार गराउँछन् । जब अनन्याले अजिजको कामधन्दाबारे थाहा पाउँछिन्, उनलाई घृणाको दृष्टिले हेर्न थाल्छिन् । स्वभाविक हो, अजिजलाई पनि यो कुराले दुःखी बनाउँछ ।

खासमा अजिज बक्सिङ खेलमा लगाव राख्छन् । उनी यही खेलबाट आफ्नो नाम कमाउन चाहन्छन् । अजिजको घर नजिक एक पारसी जिम मालिक छन् । उनी अजीजलाई बक्सर मुहम्मद अलीको भिडियो देखाउँछन् । भन्छन्, ‘बक्सिङ र दादागिरीमा फरक छ । बक्सिङ एक खेल हो, जसका लागि टेक्निकको जरुरत हुन्छ, अनुशासन चाहिन्छ, धैर्य चाहिन्छ, केवल बलले मात्र पुग्दैन ।’

अजिजको क्षमता र लगाव देखेर उनले बक्सिङ कोच नाना प्रभु (परेश रावल) कहाँ पठाउँछन् ।

तर, यि कोच मुस्लिमलाई मन पराउँदैनन् । आखिरमा अजिजको लगाव देखेपछि उनी अजिजलाई बक्सिङ सिकाउन राजी हुन्छन् । उनले नै अजिजलाई ‘तुफान’ नाम दिन्छन् ।

यो विन्दुमा आइपुगेपछि अनन्याको मन पग्लिन्छ । उनी अजीजलाई मन पराउन थाल्छिन् । दुबैले विवाहको निर्णय गर्छन् । तर, बाधक बन्छ उनीहरुको धर्म । के उनीहरुको विवाह हुन्छ ? अजिजले बक्सिङबाट आफ्नो लक्ष्य हासिल गर्छन् ? यसैको सेरोफेरोमा घुमेको छ फिल्म ।

निर्देशक राकेश ओमप्रकाश मेहेरासँग भन्नका लागि धेरै कुरा छन् । एक प्रेम कथा, कट्रता, साम्प्रादायिक सद्भाव, एक बक्सर बन्ने जिद्दी, एथलिटको बदनामीबाट छुटकारा पाउने कथा । तूफान एकसाथ केही घटना र प्रसंगहरुलाई लिएर अगाडि बढ्छ । यो काल्पनिक कथासँगै तपाईं अगाडि बढ्नुहुन्छ र तपाईंलाई लाग्छ यी सबै पहिले नै देखिसकेको छु । जस्तो कि, गुलाम, सुल्तान, मुक्काबाज ।

तूफान एक सामान्य कथा हो । तर, प्रसंग उनले चाखलाग्दो ढंगले सुरु गरेका छन् । प्रेम र घृणाको खेलबाट सुरु गरेर फेरी बक्सिङमा प्रवेश गरेका छन् । यसरी एउटा कथाबाट अर्कोमा फड्को मार्दा त्यसको सिलसिला टुटेको छ ।

अजीजलाई बक्सिङको दुनियामा पु¥याउनु र नाम कमाउने लहड राख्नु फिल्मको कमजोर कडी हो । किनभने जुन खेलबाट तपाईं पाँच बर्षसम्म टाढा रहनुभयो, फर्किएर सोही खोलमा नाम कमाउनु एकदमै कठिन हो । तर, फिल्ममा यी सबैकुरा यति सजिलै हुन्छ कि, विश्वास गर्न कठिन हुन्छ । यसमा स्पोर्टस् ड्रामाको रोमान्च पनि गायब छ ।

तूफानको अर्को समस्या यसको लम्बाई हो । १६३ मिनेट यस कथाको लागि बढी नै समय हो । शुरुवाती क्षण त गतिशिल नै लाग्छ । त्यसमा धेरै घटना देखाइन्छ । त्यसपछि ? त्यसपछि लेखक–निर्देशकसँग देखाउन बाँकी कुरा पनि रहँदैन । फिल्मलाई चुस्त सम्पादनको जरुरी थियो ।

त्यसो त निर्देशक राकेश ओमप्रकाश मेहेरासँग कथा भन्ने आफ्नो खास शैली छ । यस फिल्ममा पनि उनले केही इमोशनल दृश्य गजबले पेश गरेका छन् । अन्जू र अनन्याको प्रेम कथा, अनन्याको आफ्ना पितासँग देखिने दृश्य, बक्सिङ सिक्ने दृश्य ।

फरहान अख्तरले बक्सरको रुपमा ज्यान दिएर अभिनय पस्किएका छन् । उनी वास्तविक बक्सर नै लाग्छ । तर, असुली गर्ने गुण्डाको रुपमा उनको भूमिका कमजोर छ । मृणाल ठाकुर क्यामेरामा सहज देखिएकी छिन् । फिल्ममा हल्काफुल्का राहत प्रदान गर्छिन् । नाना प्रभुको रुपमा परेश रावलले चित्तबुझ्दो काम गरेका छन् ।

फिल्मको संवाद चोटिलो छ । सिनेम्याटोग्राफी गजब छ । बक्सिङको दृश्य वास्तविक लाग्छ ।

निर्माता : रितेश सिधवानी, फरहान अख्तर, राकेश ओमप्रकाश मेहरा

निर्देशक : राकेश ओमप्रकाश मेहरा

संगीत : शंकर अहसान लाय

कलाकार : फरहान अख्तर, मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक, हुसैन दलाल, मोहन आगाशे

अवधी : दुई घण्टा ४३ मिनेट

अमेजन प्राइममा उपलब्ध

बेवदुनियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment