Comments Add Comment

गैंडा मार्ने अभियुक्त छुट्दा चितवन निकुञ्जको असन्तुष्टि

संरक्षणकर्मी भन्छन् : गैंडामाथि चुनौती थपियो

२ साउन, काठमाडौं । गैंडाको ‘जिरो पोचिङ’ मनाइरहँदा गत बर्ष भदौ २१ गते चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले मारेको अवस्थामा गैंडा भेटियो ।

त्यसपछि पनि लगातारजसो थप तीन गैंडा निकुञ्जभित्रै तस्करहरुले मारे । २०७३ चैत २५ गते निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाटमा भाले गैंडा मारेयता गैंडा मार्ने क्रम रोकिएको थियो ।

तर, त्यस घटनाको ४१ महिनापछि चार गैंडा मारिएपछि निकुञ्ज प्रशासनको सुरक्षा फितलो भएको भन्दै आलोचनासमेत भयो । तर, निकुञ्जले तस्करहरुको खोजी गर्न छाडेन । आक्रामक रुपमा तस्करहरूको खोजीलाई तीव्र पारेको निकुञ्जले यो बीचमा पुराना फरार र नयाँ गरेर २७ जना गैंडा मारेको र खाग बेचेको आरोपमा पक्राउ गर्‍यो ।

पक्राउ गरेर अदालतमा पेश गरिएका अभियुक्तहरु धमाधम धरौटीमा छुट्न थालेका छन् । अहिलेसम्म अदालतको आदेशमा ११ जना गैंडा मार्ने र तस्करी गर्ने अभियुक्त छुटेको निकुञ्जले जनाएको छ । निकै दुःख गरेर खोजी गरी प्रमाणसहित पक्राउ परेका तस्करहरु एकपछि अर्को धरौटीमा रिहा भएपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यसले संरक्षणकर्मीहरूको मनोबल गिराउने र तस्करहरूको मनोबल बढाउने काम गरेको टिप्पणी गरे । गैंडाको संरक्षणमा यसले चुनौती थप्दै लैजाने उनको धारणा छ । चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्नू आदेश दिएका तीन अभियुक्तलाई उच्च अदालत हेटौडाले जनही पाँच लाख धरौटीमा छाडेको छ ।

चितवन जिल्ला अदालतले ११ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तीमध्ये ३ जना उच्च अदातलबाट धरौटीमा रिहा भएका छन् । जिल्ला कारागार भरतपुरमा ९ जना पुर्पक्षका लागि थुनामा छन् ।

गैंडा तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका नविन पौडेल भनिने मेखबहादुर नेपाली, कैलाशबाबु आले मगर र सोमबहादुर गुरुङले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

उनीहरूले प्रहरी अनुसन्धानका क्रममा आफूहरू गैंडाको खाग लुटपाट र बिक्रीमा संलग्न भएको वयान दिएका भए पनि अदालतमा त्यसलाई इन्कार गरेको भन्दै न्यायाधीशद्वय राजकुमार वन र हरिप्रताप केसीको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनीहरू गत माघमा समातिएका हुन् । निकुञ्जले गत आर्थिक बर्ष मात्रै गैंडा मारेको, खाग किनबेच गरेको तथा विभिन्न रुपमा सहयोग गरेको आरोपमा २७ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये ३ जना पुराना घटनाका फरार अभियुक्त हुन् । पक्राउ परेका २७ मध्ये चितवनमा १७ जना विरुद्ध मुद्दा चलेको थियो । चितवन जिल्ला अदालतले २०७७ फागुन २५ गते नांगे तामाङ, योन्देन तामाङ र कवि भनिने रामकुमार श्रेष्ठलाई पाँच लाख धरौटीमा छाड्न आदेश दियो । त्यस्तै, २०७८ वैशाख १० गते ज्वाला भनिने ज्ञानबहादुर रुम्बा र सुदीप गिरीलाई साधारण तारेखमा छाड्ने आदेश दियो ।

चितवन जिल्ला अदालतले ११ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तीमध्ये ३ जना उच्च अदातलबाट धरौटीमा रिहा भएका छन् । जिल्ला कारागार भरतपुरमा ९ जना पुर्पक्षका लागि थुनामा छन् ।

यस्तै, नवलपुरमा १० जना पक्राउ परेकामा २ जना अदातलको आदेशमा धरौटीमा छुटेका छन् । ८ जना पुर्पक्षका लागि थुनामा छन् । बाँदरझुला आइल्यान्ड क्षेत्रमा शिकारीले गत १७ भदौमा २५ देखि ३० वर्षको भाले गैंडालाई गोली हानी मारेका थिए । टाउकामा गोली लागेको अवस्थामा २१ भदौमा भेटिएको गैंडाको खाग र खुर सुरक्षित थियो।

निकुञ्जका अनुसार, नारायणी नदीको टापु मर्दी घोलमा १९ कात्तिकमा गैंडाको माउ र बच्चा मृत भेटिएका थिए । २०–२२ वर्षको पोथी गैंडा र तीन वर्षको बच्चा तस्करहरुले गोली हानेर मरेका थिए। शिकारीले खाग पनि लगिसकेका थिए । ती दुई गैंडा करीब दुई महीनाअघि भदौतिर नै मारिएको निकुञ्जले जनाएको छ । त्यसको पाँच सय मिटर पर दुईवटा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली पनि भेटिएको थियो ।

यस्तै, तस्करले मारेको अवस्थामा गत २१ कात्तिकमा गैंडाको खागविहीन कंकाल भेटियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिक भेटिएको गैंडा करीब ६ महिनाअघि मारिएको निकुञ्जको भनाइ छ ।

निकुञ्जले यो सिलसिलेवार घटनाका अभियुक्तहरूलाई पक्राउ गरेर उनीहरुको सञ्जाललाई छिनाउने काम गरेको भए पनि अभियुक्तहरु छुट्दा फेरी संगठित भएर गैंडा मार्न सक्ने भएकोले सर्तक रहेको जनाएको छ ।

फेरि पक्राउ परे मेखबहादुर

गैंडाको खाग तस्करीको मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका लगत्तै मेखबहादुरलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ परेका मेखबहादुर चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा अर्को एक मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

उनी गैंडा मारेको अर्को घटनामा पनि संलग्न भएको आधार देखिएको हुँदा गिरफ्तार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

अनुसन्धान गर्न नवलपुर जिल्ला अदालतले निकुञ्जलाई १० दिनको म्याद दिएको छ । निकुञ्जले अघिल्लो मुद्दामा मेखबहादुरले गैंडा मार्न लगाएको र खाग लगेर बेचेको आरोप लगाएको थियो । गैंडा मार्न लगाउने व्यक्ति नै मेखबहादुर भएको उनले आफूहरुसँगको बयानमा यो कुरा स्वीकार गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

‘संसारका जो सुकै पनि अभियुक्तले अदालतमा बयान दिँदा आफूले अपराध गरेको स्वीकार गर्दैन, हो भन्दैन’, प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘हतियार, बाघको छाला, गाडी, बैंक भौचर, भारतको नक्कली रासन कार्डसहित पक्राउ गरेका छौं, उसले अपराध पनि स्वीकार गरेको थियो ।’

काठमाडौंबाट खाग लिन गाडी लिएर मेखबहादुर नै चितवन आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल बताउँछन् ।
खाग किन्न चितवन आए पनि खाग पाएपछि आफूहरू प्रहरीको व्यक्ति भएको भन्दै पैसा नै नतिरी उनले खाग लगेको अनुसन्धानमा खुलेको थियो ।

गैंडा मारेमा, यसको अंगको कारोबार वा ओसारपसार गरेमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पाँच बर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा धरौटीमा छाड्न नपाइने निकुञ्जको दावी छ ।

नयाँ संविधान जारी हुनुअघिसम्म निकुञ्ज आफैंले यस्ता घटनाका अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धान गरेर प्रारम्भिक फैसला निकुञ्जबाट हुँदै आएको थियो ।

संरक्षणकर्मीहरुको ध्यानाकर्षण

वन्यजन्तुको तस्कारीमा संलग्नलाई एकपछि अर्को गरी धरौटीमा छाडिएकोप्रति संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

चितवनको रत्ननगर नगरपालिका अन्तर्गत मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र रहेका संरक्षणका साझेदार संस्थाहरूले एक संयुक्त वक्तव्य जारी गर्दै तस्करीमा संलग्नहरूलाई धमाधम छुट्दा संरक्षणमा चुनौती थपिएको जनाएका छन् ।

अथक प्रयासबाट पक्राउ गरिएका तस्कारलाई अदालतले धरौटीमा छाड्दा संरक्षणमा चुनौती थपिएको उनीहरूको धारणा छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समतिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितबहादुर तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतोलगायतले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा एक सिंगे गैंडा, पाटेबाघलगायतका वन्यजन्तुको चोरी शिकारी गर्ने तस्करहरू पूरा कारबाहीको भागीदार भई छुट्दासमेत पुनः सोही कार्यमा संलग्न रहेको तथ्य सार्वजनिक भइरहँदा प्रमाणसहित पक्राउ परेका पनि धरौटीमा छाडिँदा खतरा बढेको उल्लेख छ ।

तस्करका घरसम्मै वकिल !

गैंडा तस्करको अभियोगमा कसैलाई पक्राउ गरिएको सूचना आए लगत्तै कतिपय कानुन व्यवसायीहरू उनीहरुको घरसम्म नै पुग्ने गरेका छन् । गैंडा तस्करको मुद्धा लड्दा ‘राम्रो रकम’ आउने भएकोले वकिलहरू मुद्दा खोज्दै घरसम्म पुग्ने गरेको एक संरक्षणकर्मीले बताए ।

उनीहरूले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमासमेत फोन गरेर विवरणहरू माग्ने गरेका छन् । ‘कतिपय अभियुक्तहरुको ठेगाना र अन्य सम्पर्क नम्बर उनीहरुलाई थाहा हुँदैन, को को पक्राउ परेका छन् भन्ने पनि जानकारी नहुन सक्छ, त्यसैले उनीहरुले निकुञ्ज कार्यालयमासमेत फोन गरेर सोध्छन्’ एक संरक्षणकर्मीले भने, ‘निकुञ्जबाट विवरण प्राप्त भएपछि मुद्धा लडिदिने भन्दै घरघरसम्म पुग्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुवास पण्डित

ट्रेन्डिङ

Advertisment